नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन हाल आफ्नो देश स्विडेनमा रहेका छन् । नेपालमा कोरोनाका कारण पहिलो पटक लकडाउन शुरु भएको केहि समय पछि नै आफ्नो देश फर्किएका कालिनको नेपाल फर्कने सम्भावना निकै न्युन रहेको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा बताउछन् ।
कोरोनाका कारण स्विडेनले नेपालमा यात्रा गर्नका लागि प्रतिबन्ध लगाएको देशहरु मध्येको एक हो । यो कारणले गर्दा पनि कालिन नेपाल लकडाउन समाप्त हुदा पनि आउन नसकेका हुन् ।
नेपाली फुटबल टोलीले बङ्गलादेशमा दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल्दै फुटबल फर्किसक्दा कालिन भने उतै छन् । उनको अनुपस्थितीमा बालगोपाल महर्जनले नेपाली टोलीको प्रशिक्षकको भूमिका निर्बाह गरेका थिए ।
नेपालले विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा तीन खेल खेल्न बाँकी रहेको छ । तीन वटै खेल कोरोनाकै कारण एसियाली फुटबल महासंघ (एएफसी) ले २०२१ मा हुने गरि छनोट चरणका खेलहरु स्थगित गरेको छ । एएफसीले मार्च सम्ममा बाँकी खेल सक्नका लागि फुटबल संघहरुलाई निर्देशन दिइसकेको छ ।
त्यस्तै यस प्रकारको प्रतियोगिताका लागि प्रो–लाइसेन्स भएको प्रशिक्षक आवश्यक पर्दछ । जसका कारण कालिन नेपाल नफर्किएको अवस्थामा नेपाललाई छनोट खेलहरु खेल्नका लागि पनि कठिन हुने देखिन्छ । एन्फा अध्यक्ष शेर्पाले कालिन तत्काल नेपाल आउने सम्भावना नरहेको बताउछन् । “कोरोनाका कारण उनी तत्काल नेपाल आउने सम्भावना छैन । हामी उनी कहिले सम्ममा नेपाल आउन सक्ने छन् भन्ने बारे कुरेर बसिरहेका छौं,” शेर्पाले बताए ।
उनी फेब्रुवरीसम्ममा पनि नेपाल आउन सक्ने सम्भावना नरहेको खण्डमा नयाँ प्रशिक्षक नियुक्त गर्नु हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्ः “हामीले यहि गर्ने भन्ने विषयमा केहि निर्णय लिइसकेका छैनौं । तर यस विषयमा हाम्रो छलफल र कालिनसँग पत्राचार निरन्तर जारी छ ।”
विस्पोर्टजलाई प्राप्त जानकारीअनुसार कालिनले केहि महिना अघि नै एन्फालाई आफु नेपाल आउन सक्ने सम्भावना नरहेको कारण नयाँ प्रशिक्षक नियुक्त गर्न सुझाएका थिए । त्यसका लागि आवश्यक परेको खण्डमा आफु राजीनामा दिन तयार रहेको पनि उनले बताएका थिए ।
विस्पोर्ट्जले सम्पर्क गर्दा कालिनले यो नितान्त आफ्नो र एन्फाको विषय भएको हाल केहि प्रतिक्रिया दिन नमिल्ने जनाएका थिए । एन्फाले कालिनलाई दुई बर्षको लागि भन्दै २०१९ को फेब्रुवरीमा प्रशिक्षक नियुक्त गरेको थियो । उनीसँगको सम्झौता २०२१ को फेब्रुअरीमा सकिन्छ ।
नेपालले कालिन प्रशिक्षक नियुक्त भए पछि ९ खेल खेल्दै एकमा मात्र जित हात पारेको थियो भने दुई खेलमा बराबरी गरेको थियो । नेपालले विश्वकप र एसियाकप छनोट अन्तर्गत चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दा कुवेत र चाइनिज ताइपेईसँगको मैत्रीपूर्ण खेलमा क्रमश ०–० र १–१ को बराबरी गरेको हो । त्यस्तै नेपालले मलेसियाको जोहर बाहरु क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि २(० को जित हात पारेको थियो ।
कालिनको प्रशिक्षणमा नेपालले पहिलो खेल कुवेतसँगको अन्तराष्ट्रिय मैत्रीपूर्ण रहेको थियो । उक्त खेलमा गोल रहित बराबरी खेलेको नेपालले दोश्रो खेलमा भने १–० को हार ब्यहोरेको थियो । त्यस्तै म्यानमारसँगको मैत्रीपूर्ण खेलमा नेपालले ३–० को फराकिलो हार भोगेको थियो ।
नेपालले विश्वकप छनोट अन्तर्गत खेलेका पाँच खेल मध्ये चारमा पराजय भोग्दा एक खेलमा भने चाइनिज ताइपेईलाई पराजित गर्न सफल भएको थियो । नेपालले विश्वकप छनोटमा कुवेतको घरेलु मैदानमा ७–० र अष्ट्रेलियाको घरेलु मैदानमा ५–० को लज्जास्पद हार ब्यहोरेको थियो ।
त्यस्तै जोर्डनसँग उसको घरेलु मैदानमा ३–० ले पराजित भएको थियो भने कुवेतसँग भुटानमा भएको घरेलु खेलमा १–० ले पराजित भएको थियो ।
नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले मुलपानी क्रिकेट मैदानमा आफ्नो समुह बी को खेलमा प्रदेश २ लाई चार विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
पहिलो ब्याटिङ्ग गरेको प्रदेश २ ले ४७ ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाई १ सय ६९ रन बनायो । जवाफमा अनिल साहले इनिङ्गस सम्हाल्दै खेलेपछि पुलिसले ३८ ओभरमा ६ विकेट गुमाउदै १ सय ७० रन बनायो । मङ्गलवार जितको आवश्यकता रहेको पुलिस समुह बी उपबिजेता बन्यो । यस समुहबाट बागमती सोमबार नै बिजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
पुलिस पराजित भएको खण्डमा सोमबार बागमतीसँगको रोमाञ्चक खेलमा बराबरी गरेको लुम्बिनी सेमिफाइनलमा प्रवेश गर्ने थियो । समुह चरणमा पुलिससँग मात्र पराजित भएको लुम्बिनीको पाँच अंक रह्यो । पुलिसको ६ र बागमतीले ७ अंक बटुले ।
प्रदेश २ भने प्रतियोगितामा एक खेल पनि नजित्ने एक मात्र टोली बन्यो । यद्दपि उसले पुलिसमाथि भने दवाब राखेकै थियो । निकै सावधानीपुर्वक पहिलो विकेटका लागि ४६ रन जोड्दा सुनिल धमला ४५ बलमा १३ रन बनाई आउट भएका थिए ।
अमित श्रेष्ठले १७ रन बनाए भने अर्का ओपनर कुशल भुर्तेलले ४३ रनको योगदान दिए । उनले ५५ बलमा तीन चौका र एक छक्का प्रहार गरे । पुलिसले आरिफ शेख (शुन्य), दिपेन्द्र सिँह ऐरि (१७) र पवन शर्राफ (तीन) लाई पनि सस्तैमा गुमाएपनि अनिल टिकी रहन सफल भएका थिए ।
अनिलले ६९ बलमा चार चौकाको मद्दतमा ४७ रन बनाए । मञ्जित श्रेष्ठ पनि १२ मा नटआउट रहे । प्रदेश २ का लागि बिबेक यादव र कुमार थापाले ३–३ विकेट लिएका थिए ।
यसअघि प्रदेश २ का लागि हरिशंकर साहले ५३ रन बनाउदा अन्य ब्याट्स्म्यानहरुले २० रन पनि छुन सकेका थिएनन् । हरिले ८४ बलको इनिङ्गसमा पाँच चौका र १ छक्का प्रहार गरेका थिए । पुलिसका लागि बायाँ हाते स्पिनर ललित नारायण राजबंशीले चार विकेट लिएका थिए । सागर ढकालले पनि दुई विकेट लिए ।
नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई २ सय ४१ रनको लक्ष्य दिएको छ । समुह ए बाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् भने जित्ने टोलीले समुह बीको उपबिजेतासँग अन्तिम चारमा भेट पक्का गर्नेछ ।
मध्यक्रमले उल्लेखनीय योगदान दिएपछि एपिएफले पहिलो ब्याटिङ्ग गर्दै ४९ दशमलव ४ ओभरमा सबै विकेट गुमाई २ सय ४० रन बनायो । पहिलो विकेटको रुपमा आसिफ शेख (७) लाई २९ रनमै गुमाएको एपिएफलाई दोश्रो विकेटका लागि सुभाष खकुरेल र कप्तान शरद भेषावकर (२४) ले ४४ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।
एपिएफले दुवै सेट ब्याट्स्म्यानलाई गुमाएपछि सन्दिप जोरा (२८) र सुमित महर्जनले ४५ रनको साझेदारी गरेका थिए । २८ बलको सामना गरेका जोराले चार चौका र एक छक्का प्रहार गरे ।
सुमितले ६८ बलमा ४६ रन जोड्दै पाँच चौका र दुई चौका प्रहार गरेका थिए । अमर सिँह रौटेलाले १४ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २६ रन बनाए भने बसन्त रेग्मीले २० रन बनाएका थिए । सुभाषले ८२ बल खेल्दै ३८ रन बनाउदा ६ चौका हिर्काए ।
आर्मीका लागि हरि चौहानले ९ दशमलव ४ ओभरमा ६० रन खर्चदै पाँच विकेट लिएका थिए । शाहब आलमले कसिलो बलिङ्ग गर्दै १० ओभरमा २३ रन खर्चदै दुई विकेट लिए ।
स्ट्राइकर साबित्रा भण्डारीले चार गोल गर्दा नेपाल एपिएफ क्लबले राष्ट्रि महिला लिग फुटबल प्रतियोगितामा बिराटनगर महानगरपालिकालाई ७–० को बिशाल अन्तरले पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा अनिता केसीले छैटौं मिनेटमै गोल गर्दै एपिएफको खाता खोलेकी थिइन् । साबित्राले २५, ४२, ७४ र ८९ औं मिनेटमा गोल गरेकी थिइन् । सरु लिम्बुले ७२ औं मिनेटमा एपिएफका लागि चौथो गोल गरेकी थिइन् भने अनिताले ८० औं मिनेटमा छैटौं ।
बिराटनगरका प्रशिक्षक पारस चौधरीले आफ्नो टोली रणनीतिक रुपमा असफल भएको बताए । ‘स्टार खेलाडीले भरिएको एफिएफ निकै बलियो टोली हो । हामीले डिफेन्सलाई बलियो बनाउदै सकेसम्म कम गोल खाने रणनीति बनाएका थियौं तर त्यसमा पनि असफल हुन पुग्यौं,’ चौधरीले भने ।
साबित्राले यसअघि चन्द्रपुरबिरुद्धको खेलमा पनि ह्याट्रिक गरेकी थिइन् । उनको अहिलेसम्म प्रतियोगितामा ७ गोल भइसकेको छ । लगातार दुई खेल जितेको एपिएफ शिर्ष स्थानमा रहेको छ ।
सोमबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ्ग नगरपालिकालाई ७–० हराउदै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो । यसअघि आर्मीले नेपाल पुलिस क्लबसँग बराबरी गरेको थियो ।
आर्मीको जितमा बिमला चौधरीले ह्याट्रिक गरेकी थिइन् । उनले १५ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् भने २८ औं मिनेटमा दिपा राइले दोश्रो गोल गरिन् । मध्यान्तर अघि शर्मिला थापाले आर्मीका लागि तेश्रो गोल गरिन् ।
बिमलाले ६६ र ७७ औं मिनेटमा दुई गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् । खेल सकिनु अघि हेमा चौधरी र भुजुँगा राईले बिभागीय टोलीका लागि अन्य दुई गोल गरेकी थिइन् । यो खेलका लागि चार क्यामरुनीयन खेलाडीहरु समावेश गरेपनि वालिङ्गले खासै प्रभाव जमाउन सकेन ।
पहिलो खेलमा बिराटनगरसँग बराबरी गरेको बराबरी गरेको वालिङ्ग जित बिहिन रहेको छ । वालिङ्गका प्रशिक्षक दिलिप थापाले मुख्य बिदेशी खेलाडीको चोटका कारण टिमको सन्तुलन बिग्रिएको बताए ।