ग्रिक फ्रिक नामले चर्चा कमाएका जियानिस एन्टेटोकुम्पोले अमेरिकी बास्केटबल लिग एनबिए इतिहासकै महँगो सम्झौता गरेका छन् । मिलवाउकी बक्समा अर्को पाँच बर्ष बस्ने गरिएको सम्झौता रकम २ सय २८ दशमलव २ मिलियन डलर रहेको छ ।
दुई पटकका एनबिए एमभिपी २६ बर्षिय एन्टेटोकुम्पोले यस क्रममा ह्युस्टन रकेट्सका जेम्स हार्डेनलाई पछि पारेका हुन् । हार्डेन २०१७ मा रकेट्स जादा २ सय २८ मिलियन पाउण्डको सम्झौता गरेका थिए ।
“यो मेरो घर र मेरो शहर हो । अर्को पाँच बर्ष मिलवाउकी बक्सको टिममा रहन पाउदा मलाई निकै खुशी लागेको छ । म यो पाँच बर्षलाई निकै बिशेष बनाउन चाहन्छु,” एन्टेटोकुम्पोले आफ्नो सामाजिक सञ्जाल अकाउन्टहरुमा लेखेका छन् ।
नाइजेरियन आप्रवासी परिवारबाट ग्रिसको एथेन्समा जन्मिएका एन्टेटोकुम्पोको करिअरले उचाइ लिदै गर्दाको यो दोश्रो अध्याय हो । उनी कुनै समय सडकमा घडी, झोला र चस्माहरु बेच्दै सामान्य पैसा कमाउने गर्दथे ।
सन् २०१३ मा बक्सले ड्राफ्टमार्फत खरिद गर्नु अघि आफुसँग लगाउने सुट पनि नभएका एन्टेटोकुम्पो नयाँ सम्झौता नगरेको भए फ्रि एजेन्टको रुपमा २०२०–२१ को सिजनका लागि अन्य क्लब जाने थिए । नयाँ सम्झौता अनुसार उनले अबको चार बर्षमा अर्को क्लब जान पाउने उल्लेख गरिएको छ ।
एनबिएमा सबैभन्दा राम्रो रेकर्डका साथ गत सिजन इस्टन कन्फेरेन्सको शिर्ष स्थानमा रहेको बक्सलाई उपाधिकै दाबेदारको रुपमै हेरिएपनि प्लेअफ सेमिफाइनलमा मायामी हिटसँग अप्रत्याशित रुपमा पराजित हुन पुगेको थियो ।
सेप्टेम्बरमा एनबिए एमभिपि बन्दै डिफेन्सिभ प्लेयर अफ द सिजन पनि घोषित भएका एन्टेटोकुम्पो माइकल जोर्डन र हकिम ओलाजुवोनपछि एकै सिजन दुई पुरस्कार जित्ने तेश्रो खेलाडी पनि भएका थिए । एन्टेटोकुम्पोको बार्षिक ४५ दशमलव ६ मिलियन डलरको तलबले वासिँगटन विजार्ड्सका रसेल वेष्टब्रुकले पाएको तलबलाई पनि पछाडी छोडेको छ ।
यसअघि ओक्लाहोमा सिटी थण्डरका लागि खेल्दा पाँच बर्षको सम्झौता गरेका वेस्टब्रुकले ४१ दशमलव ४ मिलियन डलर बार्षिक तलब लिने गर्दथे ।
कोरोना भाइरसका कारण २०२०–२१ को सिजन डिसेम्बर २२ देखि शुरु हुदा घटाएर ७२ नियमित खेलमा झारिएको छ ।