Headline

सर्वाधिक गोलकर्ताको किर्तिमान बनाउने भरतको लक्ष्य

Published

on

बङ्गलादेशविरुद्ध नोभेम्बर १३ र १७ मा को दुई मैत्रीपुर्ण खेलमा उत्रदा नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास नेपालको तर्फबाट सर्वाधिक गोलकर्ताको किर्तिमान बनाउने लक्ष्यमा हुनेछन् ।

नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा शिर्ष स्थानमा उक्लन भरतलाई तीन गोलको आवश्यकता रहेको छ । भरतले हाल सम्म नेपालको लागि ५६ खेल खेल्दै १० गोल गरेका छन् भने अर्का पुर्व नेपाली फर्वार्ड जुमानु राईसँगै सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा दोश्रो स्थानमा रहेका छन् ।

पहिलो स्थानमा रहेका हरि खड्का र निराजन रायमाझीको नाममा समान १३-१३ गोल रहेको छ ।

भरतले बङ्गलादेश विरुद्धको खेलमा तीन गोल गर्ने हो भने उनी हरि र निराजनको नाममा रहेको १३ गोलको किर्तिमानको बराबरी गर्ने छन् । चार गोल गरेको खण्डमा नयाँ किर्तिमान आफ्नो नाममा लेखाउने छन् ।

नेपाली टोलीसँगै बङ्गलादेशमा रहेका भरतले विस्पोर्टज् सँगको कुराकानीमा बङ्गलादेशविरुद्ध मैदानमा उत्रदा गोल गर्दै नेपाललाई जिताउने र सर्वाधिक गोलकर्ताको किर्तिमान राख्ने चाहना भएको बताए ।

“हामी लामो अन्तराल पछि अन्तराष्ट्रिय फुटबल खेल्दै छौं । कोरोनाका कारण खेलकुद रोकिंदा यसको असर फुटबलमा पनि परेको छ र यस्तो अवस्थामा अन्तराष्ट्रिय खेल खेल्ने मौका पाउँदा नेपालको तर्फबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको किर्तिमान बनाउने लक्ष्य राखेको छु,” भरतले भने ।

         अभ्यासका क्रममा भरत खवास  तस्बिर/एन्फा 

“बङ्गलादेश हामीले पहिले पनि खेलेको टोली हो । उसको बलियो र कमजोर पक्ष सबै राम्रोसँग थाहा छ । त्यसैले पनि दुई खेलमा कम्तिमा तीन गोल गर्दै हरि दाई र निराजन दाईको किर्तिमान बराबरी गर्ने सोच राखेको छु,”

तर भरत शुरुवाती ११ मा अथवा खेल्न नपाउने हो कि भन्ने कुरामा पनि सजग छन् । उनी भन्छन्, “अहिले राष्ट्रिय टोलीमा पर्नका लागि मात्र नभएर खेल्ने अवसर पाउन पनि निकै कठिन छ । टोलीमा निकै प्रतिस्पर्धा छ । अहिलेका युवा भाईहरु पनि निकै राम्रा छन् । सबैभन्दा पहिले खेल्ने अवसर बनाउन सक्नु पर्छ ।”

“कोरोनाका कारण खेल्न नपाए पनि आफुले आफैलाई फिट राखेको र पर्याप्त अभ्यास पनि गरेकोले गर्दा राम्रो फर्ममा नै छु । अब भनेको खेलको पाटो हो । खेलमा पनि आफुले राम्रो गर्न सक्छु भन्नेमा विश्वस्त छु,” भरतले जोशिलो आवाजमा भने ।

उनले आफुले अभ्यासमा देखाएको प्रदर्शनले शुरुवाती ११ मा स्थान बनाउनेमा ढुक्क रहेको नि बताए । “मौका पाएको खण्डमा राम्रो प्रदर्शन गर्न सक्छु । राष्ट्रिय टोलीसँगको अभ्यासका क्रममा पनि राम्रो प्रदर्शन गरेकोले गर्दा सुरुवाती ११ मा नै स्थान बनाउनेमा ढुक्क छु,” भरतले थपे ।

त्यस्तै भरत मैत्रीपूर्ण खेल भएकाले प्रतियोगिताहरुमा भन्दा गोल गर्ने अवसर धेरै र खेलमा दवाब काम हुने भएकाले गोल गर्न गार्हो नभएको बाताए ।

यो पनि पढ्नुहोस्:अन्तर्राष्ट्रिय फुटबलको पुनरागमनमा जितको आशा

“मेरो बिचारमा प्रतियोगितामा भन्दा पनि मैत्रीपूर्ण खेलहरुमा गोलको अवसर बढी हुन्छ । हुन त प्रतियोगिता होस् या मैत्रीपूर्ण खेल दुबैमा पहिलो लक्ष्य भनेको जित नै हुन्छ तर प्रतियोगितामा जित्नै पर्ने दवाब बढी हुन्छ । जसमा गल्ती गर्ने मौका कम नै हुन्छ । त्यसैले कति पय अवस्थामा आफुले नै गोलको लागि जाने भन्दा पनि अरु साथीहरुलाई गोलको अवसर सिर्जना गर्न पर्ने हुन्छ तर मैत्रीपूर्ण खेलमा आफुले नै गोल गर्न जाँदा पनि त्यती फरक पर्दैन,” भरतले थपे ।

सन् २००८ मा पाकिस्तान विरुद्ध पोखरामा भएको पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलबाट रास्ट्रिय टोलीमा डेब्यु गरेका भरतले नेपाली जर्सीमा ५६ खेल खेलेका छन् ।

भरत खवासले  गरेका अन्तराष्ट्रिय  गोलहरु
जोर्डन – १ गोल
बङ्गलादेश – १ गोल
पाकिस्तान – २ गोल
अफगानिस्तान – १ गोल
भुटान – १ गोल
ब्रुनाई – १ गोल
नर्थन मरियाना – ३ गोल (ह्याट्रिक)

नेपालको तर्फबाट धेरै गोल गर्ने खेलाडी
हरि खड्का १३ गोल
निराजन रायमाझी १३ गोल

जुमानु राई १० गोल

भरत खवास १० गोल

गणेश थापा ९ गोल
बसन्त थापा ९ गोल
अनिल गुरुङ ९ गोल

बिमल घर्ती मगर ८ गोल

मणि शाह ६ गोल
नरेश जोशी ६ गोल
नवयुग श्रेष्ठ ६ गोल

Click to comment

Trending