Corona Virus

हामीले नदेखेको फुटबल: बुन्डेसलिगा सुचारु हुँदाका रोचक घटना

Published

on

जर्मनीले लामो समयदेखि प्रतिस्पर्धा नभएका कारण बिरक्तिएका फुटबल समर्थकहरुलाई शनिबार राहत दियो । ठूलो कसरत र सावधानीकाबीच जर्मन फुटबल लिगले दुई महिनाभन्दा बढी समय देखि रोकिएको बुन्डेसलिगा सुचारु गर्यो ।

दिनको पहिलो खेलमा बोरुसिया डर्टमन्डले साल्केलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । जितपछि डर्टमन्ड शिर्ष स्थानमा रहेको बायर्न म्युनिखसँगको दुरी १ अंकमा छोट्यायो । तर फुटबल त्यही थिएन । कोरोना भाइरसपछि शुरु भएको लिग फुटबल बदलिएको छ, र खेल चल्ने तरिका पनि । शनिबार यस्ता रोचक क्षणहरु थिए जुन कोरोना महामारीका अघि फुटबलमा देखिएको थिएन ।

पाँच सब्स्टिच्युट

फिफाले कोरोना भाइरसलाई मध्येनजर गर्दै केही दिन अघि फुटबलमा तीन नभएर पाँच खेलाडीसम्म सब्स्टिच्युट गर्न पाउने नियम ल्याएको थियो । र साल्के त्यो नियमको उपयोग गर्ने पहिलो टोली बन्यो । साल्केका प्रशिक्षक डेभिड वेग्नरले पाँच खेलाडीलाई स्थानान्तरण गरेका थिए ।

टिमो बेकर खेल सकिन तीन मिनेट अघि मैदान उत्रने साल्केका पाचौं सब्स्टिच्युट खेलाडी थिए । उनले एभर्टनबाट लोनमा आएका जोन्जो केनीको स्थान लिएका थिए । डर्टमन्डका प्रशिक्षक लुसियन फाभ्रेले भने चार सब्स्टिच्युट प्रयोग गरेका थिए । खेलको अन्त्यतिर म्यान अफ द म्याच राफेल गरेरोको स्थानमा फाभ्रेले मार्सेल स्मेल्जरलाई चौथौ स्थानान्तरण खेलाडीको रुपमा प्रयोग गरेका थिए ।

दुई महिनाको लामो अन्तरालपछि प्रतिस्पर्धामा फर्किएका खेलाडी घाइते हुने खतरा रहेकाले जर्मन फुटबल लिगले नयाँ नियम अपनाएको हो ।

हालान्डले कायम गरेको सामाजिक दुरी

नर्वेका टिन स्ट्राइकर एर्लिङ्ग हालान्डले लिग रोकिुनअघिको आफ्नो उत्कृष्ट लयलाई दुई महिनापछि पनि दुरुस्त नै राख्दै डर्टमन्डलाई शनिबार पहिलो अग्रता दिलाएका थिए । थोर्गन हजार्डको लो क्रसमा गोल गर्दै १९ बर्षिय हालान्डले ९ बुन्डेसलिगा खेलमा आफ्नो १० औं गोल गर्न सफल भए ।

तर गोल गरिसकेपछि उनी डर्टमन्डका खेलाडी साथीहरुको भिडमा भने थिएनन् । गोलको खुशीयाली मनाउने क्रममा अन्य खेलाडीहरुबाट अलि टाढै बस्दै केही क्षण उनले खुशीयाली मनाए । हालान्डसँगै दुरी कायम गरेका खेलाडीहरु त्यसपछि पुन खेलमा फर्किए । बुन्डेसलिगा शुरु गर्ने शर्त मध्येको एक खेलाडीहरुलाई गोलको खुशीयाली मनाउनका लागि अंकमाल गर्नबाट लगाइएको बन्देज पनि थियो ।

फुटबल गिभ्स लाइफ, योर बिजनेस इज सिक

दुई महिनापछि उच्च प्रतिस्पर्धात्मक फुटबलको आनन्द उठाउन पाउदा संसार भर रहेका फुटबल समर्थकहरु खुशी भएपनि अस्बर्गका समर्थकहरुले भने लिग सुचारु गर्नुको औचित्यमा प्रश्न गरेका छन् । उल्फ्सबर्गबिरुद्धको खेलमा खाली रँगशालाको एक ठाँउमा अस्बर्गका समर्थकहरुले एउटा ब्यानर राखेर छोडिदिएका थिए जसमा लेखेको थियोः फुटबल गिभ्स लाइभ्स, योर बिजेनस इज सिक (फुटबलले जिन्दगी दिन्छ, तिमीहरुको व्यापार बिरामी छ) ।

युरोपका अन्य देशहरुमा हजारौंको संख्यामा महामारीका कारण ज्यान जादै गर्दा फुटबल सुचारु गरेको बिरोधमा त्यो ब्यानर राखिएको थियो । घरेलु मैदानमा खेलिएको खेलमा भने अस्बर्गले २–१ को जित हात पारेको थियो । हारपछि उल्फ्सबर्ग थप रेलिगेसनको खतरामा परेको छ ।

एक कदम अगाडी लाइपजिग

बेञ्चमा खेलाडीहरु १ दशमलव ५ मिटरको दुरीमा बस्नुपर्ने नियम पालना गर्नका लागि आरबि लाइपजिगले अनौठो उपाय निकालेको थियो । बे ञ्चमा १ दशमलव ५ मिटरको दुरीमा खेलाडीहरु राख्नका लागि पर्याप्त स्थान नभएपछि केही खेलाडीहरुलाई लाइपजिगले बेञ्चको सतह देखि तीन मिटर माथि रहेको स्ट्यान्डमा राख्ने बिचार गर्यो । खेलाडीहरुलाई माथि राख्नका लागि लाइपजिगले नजिकैको एयरपोर्टबाट बिमानमा यात्रु चढाउन र ओराल्न प्रयोग हुने भर्याङ्ग नै रँगशालामा लिएर आएको थियो ।

बिशेष स्थितिमा बिशेष उपायको आवश्यक पर्छ । हामी मद्दत गर्न पाउदा निकै खुशी छौं, बिमानस्थलका प्रवक्ता उवे सुवार्टले जर्मन पत्रिका बिल्डलाई भने ।

डगआउटमा मास्कधारी

सामान्यतय ८२ हजार समर्थक आकर्षित गर्ने डर्टमन्डको इडुना पार्क दर्शकको हल्लाको अुनपस्थितिमा शुन्य त थियो नै, टेलिभिनजमा प्रत्यक्ष प्रशारण हेरेका समर्थकहरुले बेञ्चमा मास्क लगाएर बसेका खेलाडीहरु देख्न पाएका थिए । साल्केले सामाजिक दुरी कायम राख्नका लागि खेलाडीहरुलाई कुर्सी छोड्दै डगआउटमा राखेको थियो । तर मैदानमा भने कन्ट्याक्ट खेल जारी रहेको थियो ।

खाली भित्तालाई सलाम

साल्केबिरुद्ध अन्य समयमा बिशाल अन्तरको जित हात पारेको स्थितिमा डर्टमन्ड खेलाडीहरुले इडुना पार्कको गोलपोस्ट पछाडी रहेको ठूलो पहेलो भित्ताको अगाडी खुशीयाली मनाएको देख्न सकिन्थ्यो । त्यो भित्तामाथिको बार्दलीमा २५ हजार समर्थक हुने गर्दछन् । शनिबार डर्टमन्डले बिशाल जित त हात पार्यो तर रँगशालामा खेलाडी र प्रशिक्षकहरुको तालीको आवाज मात्र थियो । तैपनि डर्टमन्डका खेलाडीले आफ्ना समर्थकहरुलाई याद गर्दै त्यही भित्ता अघि गएर सलाम गरेका थिए ।

कृपया बल सफा गरिदिनु होला

जर्मनी फुटबल सुचारु गर्नका लागि बेञ्चका खेलाडीले मास्क लगाउनुपर्ने, खेलपछिको पत्रकार सम्मेलनमा उत्तर दिनका लागि खेलाडी र प्रशिक्षकहरु शिशा पछाडी रहने लगायतका धेरै नै नियमहरु अपनाइएको छ । अर्को एक नियम रहेको छ लगातार बल सफल गर्ने । खेल जारी रहदा बाहिर आउने गरेका बलहरुलाई पञ्जा लगाएर बसेका स्टाफहरुले स्प्रेबाट औषधिको प्रयोग गर्दै बल सफल गर्ने गरेको पनि देखिएको थियो ।

4 Comments

Trending