डिफेन्डिङ्ग च्याम्पियन नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
आरिफ शेख खेल्न नसक्ने परिस्थितीबाट पनि मैदान फर्कदै बहादुरीपुर्वक ब्याटिङ्गमा आएको खेलमा पुलिस सेमिफाइनलमा नेपाल एपिएफ क्लबसँग ३० रनले पराजित भयो । पहिलो ब्याटिङ्ग गरेको एपिएफले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो । जवाफमा पुलिस ४९ दशमलव २ ओभरमा १ सय ७३ रनमै समेटियो ।
एपिएफको इनिङ्गसलाई झड्का दिने क्रममा लगातार १० ओभर बलिङ्ग गर्दै तीन विकेट लिएका आरिफ फिल्डिङ्गका क्रममा गोलीगाँठोको नराम्रो चोट लागेपछि एम्बुलेन्समै स्ट्रेचरमा राखेर हस्पिटल लगिएको थियो । उपचारपछि एम्बुलेन्समै मैदान फर्किएका आरिफ पुलिसले १ सय ५७ रनमा ८ विकेट गुमाउदा खुट्टा खोच्याउदै मैदानमा ब्याटिङ्ग गर्न आएका थिए ।
दुई चौका र एक छक्का प्रहार गर्दै १६ रनमा आउट भएका आरिफको खेललाई दर्शकका साथै एपिएफका खेलाडीले पनि सराहना गरेका थिए । टप अर्डरले खराब शुरुवात गर्दा १५ रनमै तीन विकेट गुमाएको पुलिसलाई दिपेन्द्र सिँह ऐरि र अनिल साह (२१) ले ४६ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।
तर एपिएफले चाहिएको समयमा विकेटहरु लिदै खेललाई आफ्नो नियन्त्रणमा राखेको थियो । पवन शर्राफले पुलिसको लागि ६१ बलमा सर्वाधिक ४० रन बनाएका थिए भने टिमको अन्तिम आशाको रुपमा रहेका रशिद खानले ५१ ब्लमा ३४ रन बनाए । रशिदले तीन चौका र एक चौका हिर्काएका थिए । दिपेन्द्रले ६९ बलमा ३३ रन बनाए ।

एपिएफका लागि बायाँ हाते स्पिनर भुवन कार्कीले ९ दशमलव दुई ओभरमा मात्र २१ रन खर्चदै चार विकेट लिए । यस्तै कप्तान शरद भेषावकर, कमल सिँह ऐरि र अविनाश बोहोराले २–२ विकेट लिएका थिए ।
यसअघि आरिफले तीन विकेट लिएपछि पहिलो चार विकेट ४३ रनमै गुमाएको एपिएफलाई मिडल अर्डर र लोवर मिडल अर्डरले सम्हालेपछि सम्मानजनक योगफलतर्फ पुगेको थियो ।
संकटमा रहेको एपिएफलाई शंकर राना र सन्दिप जोराले ६४ रनको साझेदारी गर्दै सम्हालेका थिए । प्रतियोगितामा एपिएफ संकटमा रहदा टिमको ब्याटिङ्ग सम्हालेका जोराले ४३ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३४ रन बनाए ।
शंकर र अमर सिँह रौटेला (४) आउट भएरपछि १ सय ४४ रनमा ७ विकेट गुमाएको एपिएफलाई भुवनले आठौं विकेटका लागि कमल सिँह ऐरि (१९) सँग ३८ रनको साझेदारी गर्दै २ सय रन नजिक पुर्याए । भुवनले ५६ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ४२ रन बनाए ।
एपिएफका लागि शंकरले ९६ बलमा ४४ रन जोडेका थिए । उनको इनिङ्गसमा चार चौका सामेल थियो । आरिफले १० ओभरमा मात्र ३१ रन खर्चेर तीन विकेट लिएका थिए ।