Headline

सन्यास फिर्ता लिने मनस्थितिमा एबी डि भिलियर्स 

Published

on

दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डि भिलियर्सले फेरी क्रिकेटमा फर्कने इच्छा व्यक्त गरेका छन् । सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट तथा गत सिजनको आईपीएलको समाप्ति पछि सबै क्रिकेटबाट सन्यास घोषणा गरेका डि भिलियर्स सन्यास फिर्ता लिँदै फेरी क्रिकेट खेल्ने मनस्थितिमा पुगेको बताएका छन् ।    

डि भिलियर्सलाई सन्यास फिर्ता लिनका लागि प्रेरित गर्ने व्यक्ति हुन् भारतका पूर्व तथा रोयल च्यालेन्जर्स बेंगलोरका दिनेश कार्तिक । जारी आईपीएलमा ३६ वर्षीय कार्तिक निकै उत्कृष्ट फर्ममा रहेका छन् भने उनको एक पछि अर्को उत्कृष्ट प्रदर्शनमा बेंगलोरलाई लगातार खेलहरु पनि जिताउन सफल भएका छन् ।

३६० डिग्री उपनामले परिचित डि भिलियर्सले कार्तिकलाई ३६० डिग्रीको उपनाम दिँदै जारी सिजनमा उनले गरेको प्रदर्शनबाट आफू निकै प्रभावित भएको पनि धारणा व्यक्त गरेका छन् । बेंगलोरको लागि फिनिसरको काम गर्दै आएका कार्तिकको प्रदर्शन देखेर पूर्व कप्तान विराट कोहलीले पनि कार्तिकको प्रदर्शनले डि भिलियर्स पनि गौरवान्वित भएको हुन पर्ने टिप्पणी गरेका छन् ।

आईपीएलको जारी सिजनमा सात खेल खेल्दै कार्तिकले २१० रन बनाएका छन् । एक खेलमा मात्र आउट भएका उनले बाँकी खेलमा अविजित रहे भने उनले २०० भन्दा माथिको स्ट्राइक रेटमा रन बनाएका छन् ।  

“उनी अहिले यस्तो फर्ममा छन् जुन एकदमै लोभ लाग्दो छ । अहिले नै उनले बेंगलोरलाई ३-४ वटा खेलमा जित दिलाउन सफल भएका छन् । उनी अहिले सायद जीवन कै सबैभन्दा उच्च फर्म रहेका छन् । मलाई सबैभन्दा अचम्म लागेको विषय चै के छ भने उनको यस किसिमको प्रदर्शन कताबाट आइरहेको छ । किन भने उनले धेरै क्रिकेट पनि खेलेका छैनन्,” डि भिलियर्सले कार्तिकको प्रशंसा गर्दै भने । 

“उनको प्रदर्शन देख्दा मलाई फेरी गएर क्रिकेट खेल्ने इच्छा जागेको छ । जब उनले उत्कृष्ट ब्याटिङ गर्दछन् तब मलाई निकै उत्साहित बनाउँछ । दबाब समयमा खेल्दा मध्यक्रममा खेल्न निकै कठिन हुन्छ तर उनले त्यसलाई सहज भएको अनुभूति पनि दिन्छन् । मलाई आफ्नो सन्यास फिर्ता लिँदै गएर फेरी क्रिकेट खेल्दै त्यस्तो अवस्थाको अनुभूति गर्ने मनस्थिति आउँछ।”  

डि भिलियर्सले कार्तिकले जारी सिजन यस्तै प्रदर्शनलाई कायमै राख्ने र बेंगलोरलाई च्याम्पियन बनाउन मद्दत गर्ने पनि आशा व्यक्त गरे ।  

आफ्नो समयको उत्कृष्ट ब्याटर र मिस्टर ३६० डिग्री उपनामले परिचित डि भिलियर्सले सबैलाई अचम्मित पार्दै सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट तथा गत नोभेम्बरमा सबै क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका थिए । उत्कृष्ट फर्ममा रहँदा रहँदै पनि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा हुने निर्णय लिए भने आईपीएलमा पनि आफ्नो टोलीबाट राम्रो प्रदर्शन गरे पछि पनि फ्रेन्चाइज क्रिकेटबाट पनि बिट मार्न पुगे ।   

३७ वर्षीय डि भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाका लागि २० हजार भन्दा बढी रन बनाएका छन् भने आईपीएलमा १८४ खेल खेल्दा पाँच हजार भन्दा बढी रन प्रहार गरेका छन् । उनी एकदिवसीयमा सबैभन्दा छिटो अर्धशतक, शतक र १५० रन बनाउने खेलाडी हुन् ।  

Click to comment

Trending