लेख

महिला विश्वकप : बंगलादेश माथि सहज जित निकाल्दा भारतको सेमिफाइनल सम्भावना जीवितै 

Published

on

बंगलादेश माथि ११० रनको फराकिलो जित हात पार्दा भारतले न्युजिल्यान्डमा जारी महिला विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । 

६ खेल खेलेको भारतको यो तेश्रो जित हो । तीन जित र तीन हारको सामना गरेको भारत ६ अंक सहित अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । ६ खेलमा नै साबिक विजेता वेस्ट इन्डिजको पनि ६ अंक रहे पनि नेट रन रेटका आधारमा भारत भन्दा पछाडि रहेको छ ।

पाँच खेल खेलेको बंगलादेशले आजको खेलमा पराजित हुँदा उसको सेमिफाइनल यात्रा लगभग समाप्त भएको छ । पाँच खेलमा बंगलादेशले एक जित मात्र दर्ता गर्न सफल भएको छ भने बाँकी चार खेलमा हारको सामना गरेको थियो ।

 खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै सात विकेट गुमाएर २२९ रनको मध्यम योगफल बनायो भने जबाफी ब्याटिङ गरेको बंगलादेशले ४० दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर ११९ रन मात्र जोड्न सक्यो ।

भारतको जितमा खेलको प्लेयर अफ द म्याच घोषित यास्तिका भाटियाले ८० बलको सामना गर्दै दुई चौकाको मद्दतमा सर्वाधिक ५० रनको पारी खेलिन् भने बलिङ तर्फ स्नेहा राणाले १० ओभरमा दुई मेडन सहित ३० रन दिएर सर्वाधिक चार विकेट हात पारिन् ।

भारतको लागि ब्याटिङमा भाटिया बाहेक ओपनरद्वय स्मृती मन्धनाशफाली बर्माले क्रमश ५१ बलमा ३० र ४२ बलमा ४२ रन, पुजा वस्त्रकरले अविजित ३०, स्नेहा राणालले २७ तथा विकेट किपर ऋचा घोषले २६ रनको योगदान दिँदा कप्तान मिथाली राज गोल्डेन डकआउट हुन पुगे । 

बंगलादेशकी ऋतू मोनीले तीन विकेट हात पार्दा नहिदा अख्तरले पनि आफ्नो नाममा दुई विकेट दर्ता गरिन् ।

ब्याटिङमा बंगलादेशको तर्फबाट सलमा खातुनले ३२, लता मंडलले २४ तथा मुर्शीदा खातुनले १९ रनको पारी खेले पनि फराकिलो हारबाट जोगाउन सकेनन् ।

भारतको तर्फबाट बलिङमा स्नेहा बाहेक पुजा वस्त्राकर र झुलन गोस्वामीले समान २-२ विकेट हात पार्दा राजेश्वरी गायकवाड र पुनम यादवले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

 

Click to comment

Trending