Headline

चार खेलमा निर्भर नेपालको विश्वकप भविष्य 

Published

on

सन् २०१४ मा बंगलादेशमा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकपमा पहिलो पटक खेलेको नेपालले त्यस पछिका विश्वकपमा भने सहभागिता जनाउन सकेको छैन । 

त्यस पछि दुईवटा ट्वान्टी ट्वान्टी विश्वकप आयोजना भएको भए पनि नेपालको विश्वकप खेल्ने सपना सपनामा नै सीमित रहन पुग्यो ।  सन् २०१६ मा भारतमा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकपका लागि आयरल्याण्ड र स्कटल्याण्डमा संयुक्त रुपमा आयोजित ग्लोबल छनोटमा नेपालले एक खेलमा मात्र जित निकाल्न सक्यो । 

सात टोली सम्मिलित ग्लोबल छनोटमा नेपालले आफ्नो पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा राम्रो सुरुवात गर्यो । नामिबियासँगको दोश्रो खेलमा वर्षा बाधक बन्दा अंक बाढ्न बाध्य भएको नेपालले त्यस पछिका खेलमा जित निकाल्न सकेन र तीन अंक सहित अंक तालिकाको पुछारमा रहन पुग्यो ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने भनिएको विश्वकप छनोटमा नेपालले एसियाको फाइनलमा तेश्रो स्थान हात पार्दा ग्लोबल छनोटका लागि पनि स्थान बनाउन सकेन । कोरोनाका कारण सन् २०२० मा अष्ट्रेलियामा हुने भनिएको प्रतियोगिता सन् २०२२ का लागि सारियो भने भारतले सन् २०२१ मा आयोजना गर्ने भनिएको प्रतियोगिता युएईमा आयोजना गर्यो र यस अघि छनोट भएका टोलीले उक्त विश्वकपमा खेल्ने अवसर पाए ।

यस पटक नेपाललाई फेरी पनि विश्वकप खेल्ने एउटा ठुलो अवसर जुरेको छ । नेपालले सन् २०१३ मा युएईमा भएको ग्लोबल छनोट खेल्दाका मुख्य प्रशिक्षक पुबुदु दासानायेके नौ वर्ष पछि फेरी नेपाली टोली सम्हाल्न आइपुगेका छन् । त्यसैले पनि नेपाली टोलीको मात्र नभएर समग्र क्रिकेट समर्थकहरु यस पटक नेपालले विश्वकप खेल्नेमा आशावादी रहेका छन् ।

तर नेपालको विश्वकप यात्रा सहज भने छैन । यस अघिका छनोटमा आईसीसीले राउण्ड रोबिनका आधारमा प्रतियोगिता आयोजना गर्ने गर्दथ्यो । तर यस पटक १६ राष्ट्रलाई ८-८ टोलीको दुई समुहमा विभाजन गर्यो । एउटा समुहमा रहेका आठ टोलीलाई पनि विभाजन गर्दै ४-४ टोली राखेको छ । ४-४ टोलीले समुह चरणका खेलहरुमा एक आपसमा भिड्ने छन् भने पहिलो र दोश्रो स्थान हात पार्ने टोलीले अर्को समुहको पहिलो र दोश्रो स्थान हात पार्ने टोलीसँग सेमिफाइनलमा भिड्ने छन् । फाइनल पुग्ने टोलीले मात्र यसै वर्ष अक्टोबर – नोभेम्बरमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपका लागि टिकट काट्ने छन् ।

यसको अर्थ नेपालले विश्वकपमा स्थान बनाउने हो भने उसका हातमा चार खेल मात्र छ । यिनै चार खेलले नेपालको आगामी विश्वकपको भविष्य निर्धारण गर्नेछ ।

नेपाली टोलीका प्रशिक्षक पुबुदु पनि थोरै खेल हुँदा विश्वकपमा पुग्ने आशामा कठिनाइ हुने बताउँछन् । “आठ टोलीको राउण्ड रोबिनका आधारमा खेल हुँदा विश्वकपको यात्रा सहज हुन्छ । तर जब हातमा तीन या चार खेल मात्र हुन्छ यसमा निकै कठिन हुन्छ । धेरै टोली हुँदा एउटामा गल्ति भए पनि अर्कोमा सुधार गर्न मिल्ने अवस्था आउँछ । तर अहिलेको अवस्थामा हामीलाई एउटा गल्तीले पनि विश्वकपको सपना सपनामा नै रहन सक्दछ । यो कुरालाई ध्यानमा राख्दै हामीले सबै खेलमा शतप्रतिशत भन्दा बढी दिएर खेल्न पर्दछ,” केही समय अघि पत्रकारहरुसँगको जुम मिटिङमा पुबुदुले भनेका थिए ।

नेपाली टोलीका नवनियुक्त कप्तान सन्दिप लामिछाने थोरै खेल भए पनि सबै खेल जित्दै विश्वकपमा पुग्नेमा आशाबादी रहेका छन् । आगामी पुस्तालाई क्रिकेटमा लाग्न र खेल्नका लागि प्रेरणा दिनका लागि पनि विश्वकपमा स्थान बनाउनै पर्ने हुन्छ भन्दछन् सन्दिप ।

“सन् २०१४ मा नेपालले जब विश्वकप खेल्यो त्यस पछि मलाई पनि म नेपालको जर्सीमा क्रिकेट खेल्छु प्रेरणा उत्पन्न भयो । त्यसैले आगामी पुस्ताका खेलाडीहरुलाई यस खेलमा आकर्षण गर्न पनि हामीले विश्वकप खेल्नै पर्दछ,” विश्वका लगभग सबै फ्रेन्चाइज लिग खेलेका अनुभव बटुलेका सन्दिपले भने ।

नेपालले यस पटक विश्वकप छनोट अघि ओमान क्रिकेट बोर्डले आयोजना गर्न लागेको चार देशीय ट्वान्टी ट्वान्टी प्रतियोगिता खेल्दै छ । जसमा आयोजक ओमान र नेपाल सहित आयरल्याण्ड र युएईको सहभगिता रहने छ ।

विश्वकप छनोटमा नेपाल र ओमान एकै समुहमा रहेका छन् भने त्यस बाहेकको अर्को समुहमा आयरल्याण्ड र युएई रहेका छन् । सम्भवत त्यस समुहबाट नेपालको सेमिफाइनलमा यी दुई टोली मध्य एकसँग नै सामना हुनेछ जुन खेलले नेपाललाई फाइनलको स्थानको साथ साथै विश्वकपको यात्रा पनि तय गराउने छ ।

नेपालको ओमान भ्रमणको खेल तालिका 

चार देशीय प्रतियोगिता –   

माघ २८               नेपाल विरुद्ध ओमान 

माघ २९               नेपाल विरुद्ध युएई  

फागुन २               नेपाल विरुद्ध आयरल्याण्ड  

 

विश्वकप छनोट – 

फागुन ६              नेपाल विरुद्ध ओमान                  

फागुन ७              नेपाल विरुद्ध  फिलिपिन्स                   

फागुन ९              नेपाल विरुद्ध क्यानडा           

     

नेपाली टोली : – सन्दिप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषावाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी,शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव, लोकेश बम  

 

Click to comment

Trending