Headline

खुशीको मातले सधै थच्चारिने गरेको बंगलादेशी क्रिकेट

Published

on

एक साताभन्दा कम समय अघि बंगलादेशले आफ्नो टेस्ट इतिहासकै सबैभन्दा ठूलो जित हात पार्यो । अघिल्लो साइकलको वल्र्ड टेस्ट च्याम्पियनसिप बिजेता न्युजिल्याण्डलाई बंगलादेशले उसकै घरमा घुँडा टेकायो ।

बंगलादेशको जित किन पनि उत्कृष्ट रह्यो भने न्युजिल्याण्ड भ्रमणमा बँगाली टिम उसका दुई प्रमुख खेलाडी शकिब अल हसन र तमिम इक्बालको अनुपस्थितिमा खेलिरहेको छ ।

मात्र ११ टेस्ट कान्छा इबादोत हुसैनले दोश्रो इनिङ्गसमा ६ विकेटको सनसनीपूर्ण प्रदर्शन गरेपछि बंगलादेश इतिहासमै पहिलो पटक न्युजिल्याण्डलाई उसकै घरमा क्रिकेटको कुनै पनि संरचनामा हराउन सफल भयो ।

खेलकुदमा कुनै पनि टोलीमा कुनै पनि ऐतिहासिक उपलब्धिले उच्च आत्मबिश्वास भर्ने गर्छ । नयाँ युग प्रवेश गरेको मानिन्छ ।

तर बँगलादेश यसको ठ्याक्कै उल्टो छ ।

न्युजिल्याण्डबिरुद्धको ऐतिहासिक जितको एक साता नबित्दै बंगलादेशले मँगलवार दोश्रो टेस्टमा लज्जास्पद हार व्यहोर्यो । यसको कारक बने न्युजिल्याण्डका कप्तान टम लाथम । केन विलियम्सनको स्थानमा नेतृत्व सम्हालेका लाथमले २ सय ५२ रन जोडेपछि न्युजिल्याण्डले आफ्नो पहिलो इनिङ्गसमा ५ सय २१ रनको बिशाल योगफल खडा गर्यो ।

दोश्रो टेस्टमा कुनै पनि समय न्युजिल्याण्डले बंगलादेशलाई खेलमा फर्कने अवसर नै दिएन

ट्रेन्ट बाउल्टले पाँच विकेट लिएपछि बँगलादेश पहिलो इनिङ्गसमा दोश्रो दिन १ सय २६ रनमै सिमित भयो । फलो अन गराएको न्युजिल्याण्डबिरुद्ध बंगलादेश दोश्रो इनिङ्गसमा २ सय ७८ रनमा रोकियो र तीन दिन भित्रै एक इनिङ्गस र १ सय १७ रनले पराजित भयो ।

माउन्ट माउनगुनाईमा भएको पहिलो टेस्टको पहिलो इनिङ्गसमा न्युजिल्याण्डले बनाएको ३ सय २८ रनको जवाफमा ब्याट्स्म्यानहरुको संयुक्त योगदानमा बंगलादेशले ४ सय २८ रन बनाएको थियो । र इबोदोतको उत्कृष्ट बलिँगमा न्युजिल्याण्ड १ सय ६९ रनमा समेटिए पछि बंगलादेशको जितको आधार खडा भएको थियो ।

क्राइस्टचर्चको ब्याटिँग पिचमै बंगलादेशले पहिलो इनिङ्गसको प्रदर्शनलाई दोहोर्याउन सकेन । एक पटक फेरि ठूलो उपलब्धि लगत्तै बंगलादेश धरातलमा फर्किएको छ ।

धेरैले भन्छन् बंगलादेशले आफ्नो खुशीयालीलाई थाम्नै सक्दैन । उ एउटा फुर्के टिम हो । क्षण भरमै बंगलादेश आफ्नो उत्ताउलोपनले चकनाचुर हुन्छ । र त्यो लगातार हुँदै पनि आएको छ ।

यसको सटिक उदाहरण २०१६ को ट्वान्टी ट्वान्टी बिश्वकपमा भारतबिरुद्धको सुपर १० को खेल हो । १ सय ४७ रनको लक्ष्य पछ्याउन मैदान उत्रेको बंगलादेश जितको संघारमा थियो । सेमिफाइनल हातबाट फुत्सिकेपनि बंगलादेशसँग भारतलाई नकआउट गर्ने अवसर थियो ।

अन्तिम ओभरमा १० रन बचाउन आए हार्दिक पाण्ड्या । बंगलादेशले पहिलो तीन बलमा ९ रन बटुल्यो । मस्फिकुर रहिमले तेश्रो बलमा दोश्रो चौका प्रहार गर्दा खेल जितिसके जसरी खुशीयाली मनाए । त्यसपछि बंगलादेश आफ्नो उत्ताउलोपनको शिकार बन्यो ।

जितका लागि मात्र दुई रन चाहिएको अवस्थामा मुस्फिकुर र टिकेर खेलेका महमदुल्लाहले बाउण्डरीका साथ जित्ने चक्करमा लगातार विकेट फाले । अन्तिम बलमा कप्तान महेन्द्र सिँह धोनीले मुस्तफिजुर रहमानलाई रनआउट गरे । बंगलादेश एक रनले पराजित भयो ।

२०१६ को ट्वान्टी ट्वान्टी बिश्वकपको अन्तिम ओभरमा एक बलमै समर्थकको हाउ–भाउ परिवर्तन भएको थियो

बंगलादेश क्रिकेटको सबैभन्दा ठूलो ट्रेजडी आफ्नै देशमा भएको २०१२ को एसिया कप हो । भारत र श्रीलंकालाई पराजित गर्दै बंगलादेश पहिलो पटक एसिया कपको फाइनल पुगेको थियो ।

भारतबिरुद्धको जित उसको लागि निकै अविस्मरणीय थियो । सचिन तेन्दुल्करले १ सय १४ रन बनाएपछि भारतले २ सय ८९ रनको बिशाल योगफल खडा गरेको थियो । तर शिर्ष ६ मध्ये पाँच जनाले उत्कृष्ट ब्याटिँग गरेपछि बंगलादेशले उक्त योगफल पछ्याउदै भारतबिरुद्ध सर्वाधिक ठूलो रन पछ्याएको किर्तिमान कायम गरेको थियो ।

फाइनलमा बंगलादेशले पाकिस्तानलाई २ सय ३४ रनमै रोक्यो । सकिबले ६८ रन बनाउदै मिडल अर्डर सम्हालेपछि बंगलादेश जित नजिक पुगिसकेको थियो । उसलाई आइजाज चिमाको अन्तिम ओभरमा मात्र ९ रन चाहिएको थियो ।

तर अन्तिम ओभरमा चिमाले एक विकेट लिदै मात्र ६ रन दिएपछि बंगलादेश मात्र दुई रनले ऐतिहासिक उपाधिबाट चुक्यो ।

अर्को झड्का बंगलादेशलाई २०१८ मा श्रीलंकामा भएको निदाहास ट्रफिमा लाग्यो । श्रीलंकालाई पराजित गर्दा फाइनल पुगेपछि खुशी थाम्न नसकेर बंगलादेशी खेलाडीहरुले निकै आक्रमक तवरले ‘नागिन डान्स’ देखाउदा बिपक्षीको अपमान गरेको भन्दै निकै ओलोचन खेप्यो ।

फाइनलमा अन्तिम दुई ओभर पुग्दासम्म बंगलादेश जित्ने अवस्थामा पुगिसकेको थियो । पहिलो पटक दुई ठूलो टिमको उपस्थितिमा त्रिकोणात्मक श्रृंखला जित्न लागिरहेको भन्दै बंगाली समर्थकहरु खुशीयाली मनाउन शुरु गरिसकेका थिए । बंगलादेशी खेलाडीहरु पनि बिश्वस्त नै थिए । त्यसपछि दिनेश कार्तिक नाम गरेको आधीँ आयो ।

न्युजिल्याण्ड भ्रमणमा सकिब नहुँदा पनि बंगलादेश पछि परेको थियो

३४ रन चाहिएको अवस्थामा मैदान आएका कार्तिकले १९ औं ओभरमा रुबेल हुसैनलाई २२ रन ठोकिदिए । बंगलादेश मनोबैज्ञानिक रुपमै पछि पर्यो । अन्तिम ओभरमा १२ रन कुनै गाह्रो कुरै भएन । कार्तिकले नै बिजयी छक्का प्रहार गरे । बंगलादेश स्तब्ध बन्यो ।

अगष्ट, २०१७ मा बंगलादेशले आफ्नो इतिहासमै पहिलो अष्ट्रेलियालाई टेस्ट श्रृंखलामा पराजित गरेको थियो । त्यस क्रममा ड्रेसिँग रुममा खुशीयाली मनाउने क्रममा बंगलादेशी खेलाडीहरुले संयुक्त रुपमा ब्याट ठोकेको भिडियो भाइरल बन्यो ।

बंगलादेशी खेलाडीहरुले खुशीमा मात्तिएर क्रिकेट सामग्रीको इज्जत नगरेको भन्दै खुबै आलोचना भयो ।

यो घटना अघि इंगल्याण्डमा जुन, २०१७ मा भएको च्याम्पियन्स ट्रफि मै बंगलादेश कसरी आफूलाई सम्हाल्नै नसक्ने टोली हो भनेर साबित भइसकेको थियो ।

इंगल्याण्डसँग लिग चरणको पहिलो खेलमा ३ सय ५ रन बनाउदा बनाउदै ८ विकेटले पराजित भएपछि अष्ट्रेलियाबिरुद्धको खेल बर्षाले रद्द हुँदा बँगलादेश न्युजिल्याण्डलाई स्तब्ध पार्दै पहिलो पटक सेमिफाइनल पुगेको थियो ।

सेमिफाइलमा उसको सामना भारतसँग भयो । न्युजिल्याण्डबिरुद्ध २ सय ६८ रन पछ्याउदा सकिब र महमदुल्लाहले शतक प्रहार गर्दै दोहोरो शतकीय साझेदारी गरेपछि बंगलादेशी खेलाडीहरुको भुइमा खुट्टा थिएन । समर्थकहरु पनि अब भारतलाई हराउने भन्दै आक्रमक हुन थालिसकेका थिए ।

बँगलादेशले सेमिफाइनलमा पहिलो ब्याटिँग गर्दै २ सय ६४ रन बनायो । तर खेल ४० ओभरमै हार्न पुग्यो । रोहित शर्माले १ सय २३ र बिराट कोहलीले ९६ रन बनाएपछि बंगलादेश अवाक रह्यो ।

 

Click to comment

Trending