Headline

क्रिकेटका पाँच विश्व किर्तिमान जुन सायदै तोडिएला

Published

on

क्रिकेट सबैभन्दा पुरानो खेल मध्यको एक हो । विगत देखि वर्तमान सम्ममा क्रिकेटको नियममा धेरै परिवर्तन पनि आएको छ ।

क्रिकेट फुटबल पछि सबैभन्दा धेरै पछ्याइने खेल पनि हो । अझ दक्षिण एसियामा हेर्ने हो भने यो सबैभन्दा बढी लोकप्रिय खेल हो । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान जस्ता टेस्ट राष्ट्र मात्र नभएर नेपालमा पनि यो खेलमा लाखौं समर्थक क्रिकेटका लागि अति नै क्रेजी छन् ।

क्रिकेट यस्तो खेल हो जसमा एक पछि अर्को कीर्तिमानहरू बन्ने गर्दछन् । क्रिकेटमा यती धेरै तथ्यांक जोडिन्छन् जसले गर्दा पनि प्राय खेलहरूमा केहि न केही कीर्तिमानहरू बन्ने अथवा भंग हुने गर्दछन् ।

भनिन्छ कीर्तिमानहरू भंग हुनका लागि नै बन्ने गर्दछ । तर आज हामी यस्ता पाँच किर्तिमानको कुरा गर्दैछौँ जुन तोड्न निकै कठिन छ । अर्को अर्थमा भन्दा सायदै तोडिएला ।

. सुपर ओभरमा मेडन 

मेडन ओभर त्यो पनि ट्वान्टी ट्वान्टीको सुपर ओभरमा ?

ट्वान्टी ट्वान्टीमा कुनै पनि बलरले डट बल गर्दछ भने त्यसलाई हिराको रुपमा लिइन्छ । एउटा डट बलले पनि खेललाई पुरै उल्टाइ दिन सक्दछ । ट्वान्टी ट्वान्टीमा मेडन ओभर गर्न कुनै पनि बलरको लागि फलामको चिउरा चपाए बराबर हो ।

तर वेस्ट इन्डिजका स्पिनर सुनिल नारायण यस्ता बलर हुन् जसले ट्वान्टी ट्वान्टीको सुपर ओभरमा मेडन ओभर राख्न सफल रहे । सन् २०१४ को क्यारेबियन प्रिमियर लिग अन्तर्गत गयाना र ट्रिनिडाड बीचको खेलमा उनले मेडन ओभर गरेका हुन् । सुरुवाती चार बल लगातार डट गरेका नारायणले पाँचौं बलमा विकेट हात पारे भने अन्तिम बलमा फेरी अर्को डट गर्दै नयाँ किर्तिमान आफ्नो नाममा लेखाए ।

ट्वान्टी ट्वान्टीलाई ब्याट्स्म्यानको खेल पनि भनिन्छ । त्यसैले पनि यो किर्तिमान तोडिन सहज छैन ।

४. एउटै टेस्टमा १९ विकेट 

एउटा  टेस्टको दुई पारी गरेर कुनै पनि बलरले अधिकतम २० विकेट हात पार्न सक्दछ । इंग्ल्यान्डका स्पिनर जिम लेकरले एक्लैले १९ विकेट आफ्नो नाममा लेखाएका थिए ।

सन् १९५६ को एसेज अन्तर्गत चौथों टेस्टमा लेकरले दुई पारी गरेर १९ विकेट लिएका हुन् । उनले अष्ट्रेलिया विरुद्ध पहिलो पारीमा १६ दशमलब चार ओभर बलिङ गर्दै ३७ रन खर्चिएर नौ विकेट तथा दोश्रो पारीमा ५१ दशमलब दुई ओभरमा २३ मेडन ओभर सहित ५३ रन दिएर १० विकेट आफ्नो नाममा लेखाए । त्यस्तै उनी यस क्रममा टेस्टको एकै पारीमा १० विकेट लिने पहिलो बलर पनि बने ।

टेस्टमा लेकर पछि सन् १९९९ मा भारतका अनिल कुम्बलेले पाकिस्तान विरुद्द तथा गत डिसेम्बरमा न्युजिल्यान्डका एजाज पटेलले मात्र टेस्टको एकै पारीमा १० विकेट लिन सफल भएका थिए । ४३ वर्ष सम्म लेकर एक्लै टेस्टको एकै पारीमा १० विकेट लिने बलरका रुपमा रहेका थिए ।

लेकरको १९ विकेटको किर्तिमान पनि सायदै तोडिएला । अब कुनै पनि खेलाडीले लेकरको किर्तिमान भंग गर्ने हो भने एकै टेस्टको दुबै पारीमा १०-१० विकेट हात पार्न पर्ने हुन्छ जुन कठिन मात्र हैन असम्भव पनि हो ।

३. १३ सय ४७ अन्तर्राष्ट्रिय विकेट 

विश्व क्रिकेटका उत्कृष्ट स्पिनर हुन् श्रीलंकाका पुर्व अफ स्पिनर मुथैया मुरलिथरन । मुरलीले आफ्नो खेल जीवनमा १३ सय ४७ अन्तर्राष्ट्रिय विकेट आफ्नो नाममा लेखाएका थिए । उनले १३३ टेस्ट, ३५० एकदिवसीय र १२ ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा क्रमश ८००, ५३४ र १३ विकेट हात लिएका थिए । उनी टेस्ट र एकदिवसीयमा सर्वाधिक विकेट लिने बलर पनि हुन् ।

मुरली पछि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलर अष्ट्रेलियाका लेग स्पिनर शेन वार्न हुन् । वार्नले १००१ अन्तर्राष्ट्रिय विकेट आफ्नो नाममा लेखाएका छन् जुन मुरलीको भन्दा २५ प्रतिशत भन्दा कम हो ।

अहिले पनि आफ्नो समयका ब्याटरहरुलाई सबैभन्दा खेल्न कठिन र खतरनाक बलर को हो भने सोद्दा धेरैले मुरलीको नै नाम लिने गर्दछन् । विश्वभर ट्वान्टी ट्वान्टी र फ्रेन्चाइज क्रिकेटमा खेलाडीहरुको लगाव र पहिलेको तुलनामा कम अन्तर्राष्ट्रिय खेल आयोजना हुने कारणले गर्दा पनि मुरलीको यो किर्तिमान तोड्न असम्भव छ ।

२. २०० टेस्ट 

पुर्व कप्तान तथा मास्टर ब्लास्टर सचिन तेन्दुलकरले २४ वर्ष लामो खेल जीवनमा २०० टेस्टमा भारतको लागि खेले । १६ वर्षको उमेरमा डेब्यु गरेका सचिनले टेस्टमा १५ हजार भन्दा बढी रन बनाएका छन् ।

सचिन पछि धेरै टेस्ट खेल्ने हालको खेलाडीमा इंग्ल्यान्डका जेम्स एन्डरसन हुन् । एन्डरसनले आफ्नो १८ वर्षीय खेल जीवनमा १६८ टेस्ट खेलिसकेका छन् । तिब्र गतिका बलर त्यस माथि ३९ वर्षको उमेर । सचिनको किर्तिमान भंग गर्न उनले अझै ३३ टेस्ट खेल्न पर्ने हुन्छ । उमेरको हिसाबले पनि एन्डरसनले सचिनलाई भेट्न नसक्ने निश्चित छ ।

कुनै पनि खेलाडीलाई २४ वर्ष सम्म खेल्न र एकै नास प्रदर्शन गर्न निकै कठिन मात्र हैन असम्भव पनि छ । त्यस माथि अहिले खेलाडीहरु अन्तर्राष्ट्रिय खेलमा भन्दा फ्रेन्चाइज ट्वान्टी ट्वान्टी क्रिकेटमा बढी ध्यान दिने भएका कारण पनि खेलाडीहरुले टेस्ट कम खेल्ने गर्दछन् । यस कारणले गर्दा पनि सचिनको २०० टेस्टको किर्तिमान भंग नहुने निश्चित छ ।

१. टेस्टमा औसत ९९.९४ 

अष्ट्रेलियाका सर डन ब्राडम्यान क्रिकेट खेल्ने सबैभन्दा महान ब्याट्सम्यानमा पर्दछन् । ब्राडम्यानले अष्ट्रेलियाको लागि ५२ टेस्ट खेल्दै २९ शतक र १३ अर्धशतकको मद्दतमा ६ हजार नौ सय ९६ रन प्रहार गरेका थिए त्यो पनि ९९ दशमलब ९४ को औसतमा । त्यस्तै ब्राडम्यानले १२ दोहोरो शतक तथा दुई तेहोरो शतक पनि आफ्नो नाममा लेखाएका थिए ।

९९ दशमलब ९४ को औसत भनेको उनले खेलेका हरेक खेलमा शतक बनाउनु बराबर हो । यो किर्तिमान कुनै पनि ब्याटरले सपनामा पनि तोड्न मुस्किल हुन्छ । अहिले खेलीराख्ने ब्याटर मध्य सबैभन्दा राम्रो औषत भएका ब्याटर हुन् अष्ट्रेलियाका मार्नस लाबुशन जसको औसत ६० भन्दा माथि छ ।

Click to comment

Trending