Headline

दक्षिण अफ्रिका र बेंगलोरमा फर्कने डि भिलियर्सको चाहना 

Published

on

उनलाई भविष्यले के गराउँछ अथवा भविष्यमा के हुन्छ केही पनि थाहा छैन तर दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डि भिलियर्स यो कुरामा विश्वस्त छन् कि भविष्यमा उनले आफ्नो देश र आईपीएल फ्रेन्चाइजमा केही न केही भूमिका निर्वाह गर्नेछन् भनेर ।

आफ्नो समयको उत्कृष्ट ब्याटर र मिस्टर ३६० डिग्री उपनामले परिचित डि भिलियर्सले सबैलाई अचम्मित पार्दै सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट तथा गत नोभेम्बरमा सबै क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका थिए । उत्कृष्ट फर्ममा रहँदा रहँदै पनि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा हुने निर्णय लिए भने आईपीएलमा पनि आफ्नो टोलीबाट राम्रो प्रदर्शन गरे पछि पनि फ्रेन्चाइज क्रिकेटबाट पनि बिट मार्न पुगे ।   

“मलाई लाग्दछ कि मैले अहिले पनि दक्षिण अफ्रिका र बेंगलोरको लागि निभाउन पर्ने भूमिका छन्,” दक्षिण अफ्रिकाको एक अनलाइनलाई दिएको अन्तर्वार्तामा डि भिलियर्सले बताए । “मलाई थाहा छैन भविष्यमा के हुन्छ भनेर । हेर्दै जाउँ के हुन्छ ।”

३७ वर्षीय डि भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाका लागि २० हजार भन्दा बढी रन बनाएका छन् भने बेंगलोरको तर्फबाट १५७ खेलमा ४५ सय भन्दा बढी रन प्रहार गरेका छन् । उनी एकदिवसीयमा सबैभन्दा छिटो अर्धशतक, शतक र १५० रन बनाउने खेलाडी हुन् ।  

“पछिल्ला वर्षहरूमा मैले केही युवा र सम्भाव्यता भएका खेलाडीहरूको मेन्टर गर्दै आएको छु । यसका बारेमा कोही पनि जानकार छैनन् । भविष्यमा पक्कै पनि मैले केही खेलाडीहरूको जीवनमा परिवर्तन गरे भनेर हेर्न पाउने छु । मेरो अहिलेको लक्ष्य भनेको नै यही हो । मलाई अझै थाहा छैन कि यो प्रोफेसनल तरिकाले जानेछ अथवा यसै आफ्नो सोखको रुपमा । हेर्दै जाउँ समयले कता मोड्ने छ ।”

डि भिलियर्सले आफूले केही वर्ष अझै आईपीएल र अन्य फ्रेन्चाइज लिग खेल्ने चाहना राखेको भए पनि विषम परिस्थितिले गर्दा नै सबै खालको क्रिकेटबाट सन्यास लिएको खुलासा गरे । 

“मलाई केही व्यक्तिगत चुनौतीहरू आइलागे । जसले गर्दा मैले मेरो खेल र प्राथमिकतालाई सन्तुलनमा राख्न पर्ने भयो । कोरोनाका कारण आईपीएल पनि दुई पटक सम्म हुन सक्ने सम्भावनालाई नकार्न सकिएन । कोरोनाका कारण एक ठाउँबाट अर्को ठाउँ जानका लागि पनि प्रतिबन्ध, कोरोना परिक्षण, फ्लाइट छुट्ने र रद्द हुने, बच्चाहरुको स्कुल जुन निकै चुनौतिपूर्ण हो ।”

“मैले केही वर्ष देखि आफ्नो परिवार र बाल बच्चा बिना नहिँड्ने निर्णय गरेको थिए । तर कोरोनाका कारण यसमा पनि निकै कठिनाइ भयो । त्यस माथि खेलमा केन्द्रित रहन पर्यो, आफै उत्प्रेरित हुन पर्यो र सबै कठिनाईका बाबजुद पनि सधैं उर्जावान रहन पर्यो ।”

“त्यस बाहेक एक समय मलाई कोरोना संक्रमण पनि भयो । जसका कारण म १०-१२ दिन बिमारी नै भए । म भाग्यमानी रहेछु कि म योबाट मुक्ति पाउन सफल पनि भए ।”

कोरोनाका कारण नै आफूले क्रिकेटबाट आनन्द प्राप्त गर्न नसकेको र यसै कारण पनि सबै छाडेको पनि डि भिलियर्सले खुलाए । अभ्यास होस् या मैदानमा कुनै म्याच खेल्दा त्यस समय कुनै पनि खेलाडीले आनन्द महसुस गर्दै न भने छाड्नु उचित रहेको र आफ्नो जीवनमा पनि त्यस्तै भएकाले गर्दा पनि सन्यास लिने निर्णयमा पुगेको बताए ।

Click to comment

Trending