Headline

उच्च फर्ममा हुँदा हुँदै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने खेलाडीहरु  

Published

on

सन्यास लिने भन्ने विषय कुनै पनि खेलाडीको लागि सहज हुँदैन । लामो समय सम्म दिनचर्या बनेको खेलकुदबाट सन्यास लिनका लागि धेरै खेलाडीले लामो समय लगाउने गर्दछन् ।

कतिपय खेलाडीहरू राम्रो फर्ममा नहुँदा नहुँदै पनि लामो समय सम्म खेल्ने इच्छा राख्छन् भने कति यस्ता खेलाडीहरू यस्ता पनि छन् जो उच्च फर्ममा हुँदाहुँदै पनि सन्यासको घोषणा गर्दछन् । यसै हप्ता मात्र दुई खेलाडीले सन्यासको घोषणा गरे । न्युजिल्यान्डका मध्यक्रमका ब्याटर तथा पुर्व कप्तान २९ वर्षीय रस टेलरले घरेलु समरको अन्त्यसँगै टेस्ट र एकदिवसीयबाट सन्यास लिने घोषणा गरे ।

त्यस्तै दक्षिण अफ्रिकाका पुर्व कप्तान क्विन्टन डि ककले अचानक टेस्टबाट सन्यासको घोषणा गरे । भारतसँगको पहिलो टेस्ट पछि २९ वर्षीय विकेट किपर ब्याटर डि ककले टेस्टबाट सन्यास  लिए पनि दक्षिण अफ्रिकाको लागि एकदिवसीय र ट्वान्टी ट्वान्टी भने खेल्ने जनाएका छन् । उनले अचानक सन्यासको घोषणा गर्दा धेरैलाई आश्चर्यचकित पार्यो ।

यसै सम्बन्धमा हामी यस्तै खेलाडीहरूको चर्चा गर्दैछौँ जसले उच्च फर्ममा हुँदा हुँदै पनि सन्यासको घोषणा गरे ।

६. ब्रेन्डन म्याककुल्लम 

पूर्व कप्तान तथा विकेट किपर ब्याट्सम्यान न्युजिल्याण्डले पाएका उत्कृष्ट खेलाडी मध्य एक हुन् । म्याककुल्लमकै कप्तानीमा न्युजिल्याण्डले सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना भएको विश्वकपमा फाइनल सम्मको यात्रा तय गर्यो । तर न्युजिल्याण्ड फाइनलमा अस्ट्रेलियासँग सात विकेटले पराजित हुन पुग्यो ।

राम्रो प्रदर्शन गर्दा गर्दै पनि म्याककुल्लमले सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । जब उनले सन्यासको घोषणा गरे प्राय क्रिकेट समर्थकहरू स्तब्ध भए ।

म्याककुल्लमले आफ्नो अन्तिम टेस्टमा विश्व किर्तिमान नै कायम गर्न पुगे । अस्ट्रेलिया विरुद्धको खेलमा उनले मात्र ५४ बलमा शतक पुरा गरे । जुन टेस्ट क्रिकेटमा बनेको सबैभन्दा तीब्र शतक हो । उक्त खेलमा उनले ७९ बलमा एक सय ४५ रनको पारी खेले । त्यस्तै उनले त्यस खेलमा सात छक्का प्रहार गर्दै एक सय छ छक्काको साथमा टेस्टमा सर्वाधिक छक्का प्रहार गर्ने किर्तिमान आफ्नो नाममा लेखाए ।

म्याककुल्लम भन्दा पहिले उक्त किर्तिमान अस्ट्रेलियाका विकेट किपर ब्याट्सम्यान एडम गिलक्रिस्टको नाममा रहेको थियो । गिलक्रिस्टले ९६ खेलमा एक सय छक्का प्रहार गरेका थिए ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि बिभिन्न देशमा आयोजना हुने फ्रेन्चाइज लिग भने खेल्ने गरेका छन् ।

५. ग्लेन मेग्रा 

ग्लेन मेग्रा मात्र यस्ता बलर हुन् जसले आफ्नो उच्च फर्म हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । मेग्रा टेस्टमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीको पाँचौँ स्थानमा तथा एकदिवसीयमा सातौँ स्थानमा रहेका छन् ।

मेग्राले सन् २००७ मा अस्ट्रेलियालाई विश्वकप दिलाउन मुख्य भूमिका खेले र त्यस लगत्तै सन्यासको घोषणा गरे । उनले अस्ट्रेलियालाई विश्वकप दिलाउने क्रममा कुल २७ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी सुचीमा पहिलो नम्बरमा पनि रहेका थिए ।

विश्वकप भन्दा एक महिना अघि मात्र भएको एसेज शृङ्खलामा अस्ट्रेलियाले इङ्ग्ल्यान्डलाई पाँच शून्यले शृङ्खला हवाईटवास गर्दा मेग्राले २१ विकेट हात पारे । उनले आफ्नो अन्तिम टेस्टको अन्तिम बलमा विकेट पनि हात पारेका थिए ।

मेग्राले सन्यास पछि पनि सन् २००८ को इन्डियन प्रिमिएर लिगमा दिल्ली क्यापिटल्सबाट खेलेका थिए ।

४. सौरभ गांगुली 

हालका भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) का अध्यक्ष तथा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान शौरभ गांगुलीले पनि आफू राम्रो फर्ममा हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरे ।

गांगुलीले सन् २००७ को नोभेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । उनले सन्यास घोषणा गरेको वर्ष एकदिवसीय खेलमा ४४ दशमलब दुई आठको औसतमा एक हजार दुई सय ४० रन बनाउनुको साथसाथै १२ अर्धशतक पनि प्रहार गरे ।

गांगुलीको भरतीय क्रिकेट टोलीका प्रशिक्षक ग्रेग च्यापलसँग राम्रो सम्बन्ध थिएन । दुई बीचको विवादका कारण गांगुलीले कप्तानी मात्र गुमाएनन् टोलीमा पनि स्थान बनाउन असमर्थ रहे । पछि फेरी टोलीमा फर्किएका गांगुलीलाई च्यापेलले सन् २००७ को विश्वकपमा स्थान दिएनन् । त्यस पछि गांगुली निलो जर्सीमा कहिले पनि देखा परेनन् ।

गांगुलीले टेस्ट भने अर्को एक बर्ष खेले । उनले सन् २००७ मा तीन शतक र चार अर्धशतक प्रहार गर्दै ६१ दशमलब चार चारको औषतमा एक हजार एक सय छ रन बनाएका थिए भने २००८ मा १३ टेस्ट खेल्दै एक शतक र पाँच अर्धशतक बनाएका थिए ।

३. माइकल क्लार्क 

अस्ट्रेलिया टोलीका पूर्व कप्तान हुन् माइकल क्लार्क । क्लार्कको कप्तानीमा अस्ट्रेलियाले न्युजिल्याण्डलाई सात विकेटले पराजित गर्दै विश्वकपको उपाधि चुमेको थियो । विश्वकप अघि घाइते भएका क्लार्क अन्तिम समयमा मात्र फिट भएका थिए । अस्ट्रेलियालाई उपाधि दिलाउने क्रममा उनले ७२ बलमा ७४ रनको पारी खेलेका थिए । उनले पहेंलो जर्सी लगाएर त्यस पछि कुनै पनि खेल खेलेनन् ।

क्लार्कले त्यस पछि अस्ट्रेलियाको लागि टेस्ट खेलेका थिए । तर एसेजमा इंग्ल्यान्डसँग नमिठो हारको सामना गरे पछि टेस्टबाट पनि सन्यास लिन पुगे ।

२. कुमार संगाकारा 

विश्व क्रिकेटले पाएको एक उत्कृष्ट ब्याट्सम्यान मध्य एक हुन् श्रीलंकाका पूर्व कप्तान कुमार संगाकारा ।

संगाकाराले सन् २०१४ मा श्रीलंकालाई ट्वान्टी ट्वान्टी विश्वकप दिलाउन प्रमुख भूमिका खेले । तर त्यस लगत्तै उनले ट्वान्टी ट्वान्टीबाट सन्यास लिए ।

त्यस्तै सन् २०१५ मा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटमा एक पछि अर्को किर्तिमान कायम गरेका उनले विश्वकप लगत्तै एकदिवसीय क्रिकेटबाट पनि सन्यास लिए । उनले उक्त विश्वकपमा एक सय आठ दशमलब दुईको औषतमा कुल पाँच सय ४१ रन प्रहार गरे । त्यस्तै उनले लगातार चार खेलमा शतक प्रहार गरे । तर उनको टोली क्वाटर फाइनलमा भारतसँग पराजित हुँदै विश्वकपबाट बाहिरियो भने संगाकाराले पनि अन्तिम खेल खेले ।

उनले त्यस लगत्तै भारत विरुद्धको टेस्ट शृङ्खला पछि टेस्टबाट पनि सन्यासको घोषणा गरे । संगाकाराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पछि इंग्ल्यान्डको काउन्टी क्रिकेट खेले जसमा पनि उनले उत्कृष्ट प्रदर्शन गरे ।

१. एबी डी भिलियर्स

अझै पनि क्रिकेट समर्थकहरू दक्षिण अफ्रिकाका कप्तान एबी डी भिलियर्सले गरेको अन्तर्राष्ट्रिय क्रिकेटको सन्यासबाट घोषणाका बारेमा सोच्दा स्तब्ध हुन्छन् । टेस्ट, एकदिवसीय र ट्वान्टी ट्वान्टी क्रिकेट सबैमा राम्रो प्रदर्शन गर्दागर्दैको अवस्थामा उनले अचानक सन् २०१८ मा सन्यासको घोषणा गरे ।

उनले आफ्नो सन्यासको घोषणा गरेको बर्ष एकदिवसीयमा ५२ दशमलब एक आठको औसतमा, पाँच अर्धशतक र दुई शतक प्रहार गर्दै आठ सय ३५ रन बनाए । त्यस्तै उनले एकदिवसीयमा आफ्नो सर्वाधिक रन, १७६ रन बंगलादेश बिरुद्ध बनाउन सफल भएका थिए । उक्त वर्ष टेस्टमा उनले सात अर्धशतक र एक शतक पनि प्रहार गरेका थिए ।

उनले सन् २०१९ को विश्वकपमा आफ्नो सन्यास फिर्ता लिँदै दक्षिण अफ्रिकी टोलीबाट खेल्ने इच्छा ब्यक्त गरेको हल्ला पनि आएको थियो । त्यस्तै उनले यसै बर्ष युएईमा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकपमा पनि खेल्ने इच्छा जनाएको भन्दै चर्चा चलेको थियो । तर पछि उनले आफ्नो सन्यास फिर्ता नलिने जनाए ।

Click to comment

Trending