अन्तर्राष्ट्रिय

शामीको पाँच विकेटमा पहिलो टेस्टमा भारतको पकड 

Published

on

तीब्र गतिका बलर मोहम्मद शामीले पाँच विकेट हात पार्दा भारतले घरेलु टोली दक्षिण अफ्रिका विरुद्धको पहिलो टेस्टमा आफ्नो पकड जमाउन सफल भएको छ ।

आफ्नो पहिलो पारीमा ३२७ रन बनाएको भारतले दक्षिण अफ्रिकालाई मात्र १९७ रनमा रोक्यो भने तेश्रो दिनको खेलको समाप्तिमा एक विकेटको नोक्सानीमा १६ रन बनाएको छ र १४६ रनको अग्रता लिएको छ ।

भारतले पहिलो दिनको खेलको समाप्तिमा तीन विकेट गुमाएर २७२ रन बनाएको थियो । वर्षाका कारण दोश्रो दिनको खेल सम्भव नभएको टेस्टको तेश्रो दिन भारतले ५५ रन जोड्दा आफ्ना बाँकी सात विकेट गुमायो ।

पहिलो दिन १२२ रनमा अविजित रहेका ओपनर केएल राहुल एक रन जोड्दै आउट भए भने ४० रनबाट तेश्रो दिनको खेलको सुरुवात गरेका अजिंक्य रहानेले पनि आठ रन भन्दा जोड्न सकेनन् ।

भारतका अन्य ब्याटरहरुमा विकेट किपर रिशब पन्त र मोहम्मद शामीले समान ८-८, रविचन्द्रन अश्विनशार्दुल ठाकुरले समान ४-४ तथा जस्प्रित बुम्राले १४ रनको पारी खेले भने मोहम्मद सिराज चार रनमा अविजित रहे ।

पहिलो दिन तीन विकेट लिएका दक्षिण अफ्रिकाका लुंगी एनगिदीले २४ ओभर ७१ रन खर्चिएर सर्वाधिक ६ विकेट हात पारे भने कागिसो रबाडाले पनि ७२ रन दिएर तीन विकेट आफ्नो नाममा लेखाए ।

दक्षिण अफ्रीकाले राम्रो सुरुवात गर्न सकेन । ३२ रनमा चार विकेट गुमाएको दक्षिण अफ्रिकाको लागि टेम्बा बवुमा र विकेट किपर क्विनटन डि ककले पाँचौ विकेटका लागि ७२ रनको साझेदारी गर्दै १०० को आँकडा पार गराए । डि कक ३४ रन बनाएर शार्दुल ठाकुरको शिकार बन्न पुगे ।

डि ककको विकेटको पतन पछि दक्षिण अफ्रिकाको ब्याटिङ सम्हालेका बवुमा पनि ५२ रन जोड्दै आउट भए । १०३ बलको सामना गरेका उनले १० चौका प्रहार गरे । 

बवुमा आउट भए पछि कागिसो रबाडाले २५, मार्को यानसनले १९ तथा केशव महाराजले १२ रन जोड्दै दक्षिण अफ्रिकाको पारी सम्हाल्ने प्रयास गरे पनि मोहम्मद शामीको बलिङ अघि टिक्न नसक्दा ६२ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १९७ रन जोड्न सक्यो र भारतले १३० रनको अग्रता पनि लिन सफल भयो ।  

दक्षिण अफ्रिकालाई सानो स्कोरमा रोक्ने क्रममा भारतका मोहम्मद शामीले १६ ओभर बलिङ गर्दै ४४ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए भने जस्प्रित बुम्राशार्दुल ठाकुरले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए । 

 

Click to comment

Trending