Headline

आदिलको सनसनीपूर्ण ब्याटिँगमा प्रदेश २ को सुदुरमाथि अविश्वसनीय जित

Published

on

आदिल अन्सारीले उत्कृष्ट ब्याटिङ्ग गरेपछि प्रदेश २ ले बिशाल लक्ष्य पछ्याउदै अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई विकेटको अविश्वसनीय जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा अर्जुन साउदले आकर्षक शतक प्रहार गर्नुका साथै लोकेश बमको पनि उत्कृष्ट ब्याटिङ्गको साथ पाएको सुदुर पश्चिमले ४१ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर २ सय ९० रनको बिशाल योगफल खडा गर्यो ।

खेलबाट बाहिरिसकेको प्रदेश २ ले ४९ दशमलव १ ओभरमा ८ विकेटको क्षतिमा सनसनीपूर्ण जित हात पार्यो ।

ओपनर रोहन बिके (२३) र सन्तोष कार्की (२१) ले छरितो शुरुवात दिए पनि मिडल अर्डरले निराश गर्दा प्रदेश २ लाई गुल्शन झा र अमित यादवले छैटौं विकेटका लागि ९३ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।
दुवै सेट ब्याट्स्म्यान सहित साम्सद मन्सुरीलाई पनि गुमाएको प्रदेश २ ले ८ विकेट गुमाउदा मात्र २ सय १४ रन बनाएको थियो ।

त्यसपछि आदिल चम्किए । शुरुवातमा निकै आक्रमक खेलेका प्रत्येक बलमा एक रन चाहिने अवस्था आएपछि सम्हालिएर खेलेका थिए । २५ बलमा अद्र्धशतक पुरा गरेका उनले नारायण जोशीलाई ४४ औं ओभरमा २१ रन प्रहार गर्दै रनरेटलाई नियन्त्रणमा ल्याएका थिए ।

आदिलसँग नवौं विकेटका लागि नटआउट ७८ रनको साझेदारी गर्दा उनका पार्टनर प्रदिप पासवानले जम्मा ९ रन बनाएका थिए । आदिलले ४३ बलमा सात चौका र ६ छक्को मद्दतमा ८७ रन बनाए ।

रोहन र सन्तोष ले पहिलो विकेटका लागि ७ ओभरमै ४७ रन जोडेका थिए । रोहनलाई शेर मल्लले बोल्ड गरेसँगै प्रदेश २ को इनिङ्गस धर्मराएको थियो । उसले ८२ रनमा पाँच विकेट गुमाइसकेको थियो ।

इनिङ्गस सम्हाल्ने क्रममा गुल्शन झा र अमित यादवले छैटौं विकेटको लागि ९३ रनको पार्टनरसिप गरे । गुल्शनलाई लोकेशले पेभिलियन फर्काउदै साझेदारी तोडेका थिए ।

गुल्शनले ५३ बलमा चार छक्का र दुई चौकाको मद्दतमा ४६ रन बनाए । लगत्तै अमित हेमन्त धामीको बलमा क्याच आउट भए । सम्हालिएर खेलेका अमितले ७५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ४९ रन बनाए ।
सुदुर पश्चिमका लागि नरेश साउद र शेर मल्लले समान तीन–तीन विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको सुदुर पश्चिमले आफ्नो पहिलो तीन विकेट ८२ रनमा गुमाएको थियो । नरेश भट्टले ३३ बलमा ३० रन बनाउदा पाँच चौका प्रहार गरेका थिए ।

सुदुर पश्चिमलाई बिशाल योगफल तर्फ डोर्याउने काम अर्जुन र लोकेशले गरे । तिब्र गतिमा रन जोड्ने क्रममा १ सय १० बलमा १ सय ४२ रनको साझेदारी गरेका थिए ।

लोकेश पेभिलियन फर्कदा २ सय २४ रन बनाएको सुदुर पश्चिमको हातमा अझै १९ दशमलव ४ ओभर थियो । लगत्तै अर्जुनले ७६ बलमा शतक पुरा गरे । तर सुदुर पश्चिमले आफ्नो अन्तिम पाँच विकेट मात्रै २७ रनमा गुमाउन पुग्यो ।

अर्जुनले ८५ बलमा १४ चौका र पाँच छक्काको मद्दतमा १ सय १६ रन बनाए । लोकेशले ७३ बलमा ८१ रन बनाउदा १२ चौका र एक छक्का हिर्काए । बसन्त कार्कीले २३ बलमा २७ रन बनाउदा तीन छक्का प्रहार गरे ।

प्रदेश २ का लागि प्रदिपले तीन विकेट लिए भने कप्तान बिबेक यादव र अजय यादवले २–२ विकेट हात पारे । राष्ट्रिय टोलीमा डेब्यु गरेका तिब्र गतिका बलर गुल्सन झाले ७ ओभरमा ४४ रन खर्चदा एक विकेट पनि लिन सकेनन् ।

Click to comment

Trending