अन्तर्राष्ट्रिय

नाटकिय खेलमा बंगलादेशलाई पराजित गर्दा पाकिस्तानको क्लिन स्विप

Published

on

अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि आठ रन आवश्यक रहेको अवस्थामा महमदउल्लाहले तीन विकेट लिँदै बंगलादेशलाई जित तर्फ मोडे पनि मोहम्मद नवाजले आफ्नो पहिलो बलमा नै चौका प्रहार गर्दै पाकिस्तानलाई तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी पाँच विकेटको सनसनीपूर्ण जित दिलाए । 

जितसँगै पाकिस्तानले घरेलु टोली बंगलादेश विरुद्धको तीन ट्वान्टी ट्वान्टी खेलको शृंखलामा क्लिन स्विप गरेको छ । ढाकामा सम्पन्न तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा पाँच विकेटको जित निकाल्दै पाकिस्तान शृंखला ३-० ले आफ्नो पक्ष्यमा पारेको हो । यस अघि पाकिस्तानले पहिलो र दोश्रो टेस्ट क्रमश चार र आठ विकेटले जितेको थियो ।

बंगलादेशलाई मात्र १२४ रनमा रोकेको पाकिस्तानले पाँच विकेट गुमाएर अन्तिम बलमा जित निकाल्यो ।

पाकिस्तानलाई अन्तिम ओभरमा जितका लागि आठ रन चाहिएको थियो । अन्तिम ओभरको पहिलो बलमा डट बल गरेका महमदउल्लाहले दोश्रो र तेश्रो बलमा क्रमश सरफराज अहमद र हैदर अलीलाई आउट गर्दै पाकिस्तानलाई दबाबमा राख्न सफल भए ।     

क्रिजमा ३८ बलमा ४५ रन बनाउँदै क्रिजमा जमिरहेका अली आउट हुँदा पाकिस्तानलाई अन्तिम तीन बलमा जितका लागि आठ रन आवश्यक रहेको थियो । इफ्तिखर अहमदले छक्का प्रहार गर्दै खेललाई दुई बलमा दुई रनको आवश्यकता रहेको अवस्थामा झारे । तर पाँचौं बलमा अहमद पनि महमदउल्लाहको शिकार बन्दा पाकिस्तानलाई अन्तिम बलमा जितको लागि दुई रन चाहिने अवस्थामा खेल पुग्यो ।

तर सातौँ नम्बरमा ब्याटिङ गर्न आएका मोहम्मद नवाजले आफ्नो पहिलो बलमा नै चौका प्रहार गर्दै पाकिस्तानलाई पाँच विकेटको रोमान्चक र सङ्घर्षपूर्ण जित दिलाए ।

कप्तान बाबर आजम १९ रन बनाएर आउट भए पनि ओपनर मोहम्मद रिजवान र अलीले दोश्रो विकेटका लागि ५१ रनको साझेदारी गर्दै पाकिस्तानलाई जित नजिक पुर्याए । रिजवान ४३ बल खेल्दै ४० रन बनाएर आउट भए ।   

बंगलादेशका महमदउल्लाहले सर्वाधिक तीन विकेट लिए भने शोहिदुल अहमद र अमिनुल इस्लामले समान १-१ विकेट हात पारे ।       

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले पुरै २० ओभर खेल्दै सात विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो ।

बंगलादेशको तर्फबाट मोहम्मद नैमले सर्वाधिक ४७ रन बनाए भने शमिम होसैनले २२ तथा अफिफ होसैनले २० रनको योगदान दिए ।

पाकिस्तानका मोहम्मद वासिमले चार ओभरमा १५ रन खर्चिएर तथा महँगो साबित भएका उस्मान कादिरले ३५ रन दिएर समान २-२ विकेट लिए ।    

बंगलादेश भ्रमणमा रहेको पाकिस्तानले घरेलु टोलीसँग शुक्रबारबाट सुरु हुने दुई टेस्टको शृंखलामा भिड्ने छ ।  

 

Click to comment

Trending