Women T20 World Cup Qualfiers

मिसन वर्ल्डकप : रुबिनाको अर्धशतक तथा सरस्वतीको घातक बलिङमा नेपाललाई ऐतिहासिक शृंखला

Published

on

कप्तान रुबिना क्षेत्रीको अर्धशतक तथा सरस्वतीको घातक बलिङमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले ऐतिहासिक ट्वान्टी ट्वान्टी शृंखला हात पारेको छ । पहिलो पटक ट्वान्टी ट्वान्टी शृंखला खेलेको नेपालले कतार विरुद्धको शृंखला अन्तर्गत दोश्रो खेलमा ६१ रनको फराकिलो जित निकाल्दै शृंखला माथि कब्जा जमाएको हो । 

पहिलो खेलमा ११९ रनको किर्तिमानी जित निकालेको नेपालले आजको खेलमा जित हात पारे पछि नेपालले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ र एक खेल अगावै शृंखला आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

कप्तान रुबिना क्षेत्रीले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा आफ्नो व्यक्तिगत तथा नेपालको लागि दोश्रो अर्धशतक प्रहार गरे पछि १३० रनको विशाल योगफल बनायो भने सरस्वती कुमारीले चार विकेट हात पार्दा कतारले पुरै १९ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर ६८ रन मात्र जोड्न सक्यो ।

कतारलाई सस्तोमा रोक्ने क्रममा सरस्वतीले चार ओभर बलिङ गर्दै एक मेडन ओभर सहित मात्र आठ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारिन् । त्यस बाहेक कप्तान रुबिनाले दुई तथा सबनम राई, संगीता राई र कविता जोशीले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

सरस्वतीले ओपनर साची धड्वाललाई चार तथा अर्की ओपनर हिरल अगरवालसबीजा पनायनलाई शुन्य-शुन्य रनमा आउट गर्दै नेपाललाई राम्रो सुरुवाती दिइन् । खादीजा इम्तियाज पनि चार रन जोड्दै पेभेलियन फर्किन् ।

कप्तान आयशा र केरी पोउन्सेटले क्रमश २४ र १५ रन जोड्दै कतारको पारी सम्हाल्ने प्रयास गरे पनि उनीहरु क्रमश कविता जोशी र सबनम राईको शिकार बन्न पुग्दा फराकिलो हारको सामना गर्न पुग्यो ।         

चौथो नम्बरमा ब्याटिङ गर्दै कप्तान रुबिनाले ४८ बलमा ५० रनको पारी खेल्दा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १२९ रन बनायो । 

नेपालको तर्फबाट सर्वाधिक रन बनाएकी रुबिनाले आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा चार चौका र एक छक्का प्रहार गरिन् । नेपालको पारी सकिन दुई बल अगाडि क्याच आउट भएकी रुबिना नेपालको तर्फबाट ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अर्धशतक प्रहार गर्ने दोश्रो ब्याटर हुन् । हिजो सम्पन्न पहिलो ट्वान्टी ट्वान्टीमा इन्दु बर्माले अविजित ५५ रन बनाउँदै महिला ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अर्धशतक प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी थिइन् ।   

आजको खेलमा ओपनिङमा आएकी ज्योति पाण्डे र तेश्रो नम्बरमा ब्याटिङ गरेकी काजल श्रेष्ठ क्रमश ६ र तीन रनमा आउट हुँदा नेपाल चार दशमलब दुई ओभरमा दुई विकेटको पतनमा २० रनको स्थितिमा पुग्यो ।

अर्की ओपनर कविता कुँवर र कप्तान रुबिना क्षेत्रीले ६ दशमलब दुई ओभरमा ५६ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाले । ३० बलमा दुई छक्का सहित ३१ रन बनाएकी कविता १० दशमलब चार ओभरमा आउट हुँदा नेपालले ७६ रन जोड्यो ।

सरिता मगर चार, डली भट्ट शून्य रनमा रन आउट भए पनि अप्सरी बेगमले १७ बलमा अविजित २३ रनको योगदान दिइन् ।  

कतारको तर्फबाट एन्जेलिन मरेले सर्वाधिक दुई विकेट हात पार्दा अलिना खान, सबीजा पनायन र साची धड्वालले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।     

हिजो सम्पन्न पहिलो खेल्ल्मा इन्दु बर्माको अर्धशतक तथा रुबिना क्षेत्री, सीता राना मगर र कविता कुँवरले घातक बलिङ गरे पछि विश्वकप छनोटको तयारीमा नेपाली महिला टोलीले कतारसँगको पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ११९ रनको कीर्तिमानी जित हात पारेको थियो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता पनि कायम गर्न सफल भएको थियो ।    

हिजोको खेलमा नेपालले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक फराकिलो जित हात पारेको थियो । यस अघि नेपालले सन् २०१९ मा इन्डोनेसिया विरुद्ध ९२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

त्यस्तै इन्दु बर्माले नेपालको लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा पहिलो अर्धशतक प्रहार गर्ने महिला खेलाडी पनि बन्न सफल भएकी थिइन् । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएकी इन्दु बर्माले नेपालको ४७ बलको समान गर्दै अविजित ५५ रनको पारी खेलिन् । इन्दुको यो व्यक्तिगत तथा नेपालको तर्फबाट पहिलो अर्धशतक हो । नेपालको तर्फबाट सर्वाधिक ५५ रन बनाएकी इन्दु रिटायर्ड हर्ट हुन पुगिन् ।  

यस बाहेक नेपालले  चार विकेट गुमाएर १४६ रनको विशाल योगफल पनि बनायो जुन नेपाली महिला टोलीले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा बनाएको सबैभन्दा ठुलो योगफल हो । यस अघि सन् २०१९ मा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकप एसिया छनोटमा मलेसिया विरुद्ध १२६ रन बनाएको थियो ।     

Click to comment

Trending