Women T20 World Cup Qualfiers

मिसन वर्ल्डकप : इन्दुको पहिलो अर्धशतकमा नेपालको किर्तिमानी जित 

Published

on

इन्दु बर्माको अर्धशतक तथा रुबिना क्षेत्री, सीता राना मगर र कविता कुँवरले घातक बलिङ गरे पछि विश्वकप छनोटको तयारीमा नेपाली महिला टोलीले कतारसँगको पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ११९ रनको कीर्तिमानी जित हात पारेको छ । यससँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता पनि कायम गरेको छ ।   

ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो सर्वाधिक फराकिलो जित हो । यस अघि नेपालले सन् २०१९ मा इन्डोनेसिया विरुद्ध ९२ रनको फराकिलो जित हात पारेको थियो थियो ।  

इन्दु बर्माले नेपालको लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा पहिलो अर्धशतक प्रहार गरे पछि नेपालले २० ओभरमा चार विकेट गुमाएर १४६ रनको विशाल योगफल खडा गर्यो । 

यो नेपालले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा बनाएको उच्च योगफल हो । यस अघि नेपालले सन् २०१९ मा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकप एसिया छनोटमा मलेसिया विरुद्ध १२६ रन बनाएको थियो ।     

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएकी इन्दु बर्माले नेपालको ४७ बलको समान गर्दै अविजित ५५ रनको पारी खेलिन् । इन्दुको यो व्यक्तिगत तथा नेपालको तर्फबाट पहिलो अर्धशतक हो । नेपालको तर्फबाट सर्वाधिक ५५ रन बनाएकी इन्दु रिटायर्ड हर्ट हुन पुगिन् ।  

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोश्रो ओभरमा नै तीन रन बनाएकी विकेट किपर ब्याटर काजल श्रेष्ठलाई गुमायो । त्यस पछि ब्याटिङमा आएकी इन्दुले अर्की ओपनर सीता राना मगरसँग मिलेर दोश्रो विकेटका लागि ८८ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाले । 

३३ बलमा ३९ रन बनाएकी सिताको विकेटको पतन पछि क्रिजमा आएकी कप्तान रुबिना क्षेत्री दुई बल खेल्दै रनको खाता नखोली रन आउट हुन पुगिन् । त्यस बाहेक सरिता मगरले रन आउट हुनु अघि २१ बलमा २१ रनको पारी खेलिन् भने कविता कुँवरले पनि अविजित आठ रनको योगदान दिइन् ।

१४७ रनको विशाल लक्ष्य लिएर ब्याटिङमा आएको कतारले ११ दशमलब पाँच ओभर खेल्दै मात्र २७ रन जोड्दा आफ्नो सबै विकेट गुमाउन पुग्यो ।

कतारलाई सस्तोमा समेट्ने क्रममा रुबिना क्षेत्रीले एक दशमलब पाँच ओभर बलिङ गर्दै मात्र एक रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारिन् । त्यस बाहेक कविता कुँवर र सीता राना मगरले समान २-२ तथा करुणा भण्डारीले एक विकेट हात पारिन् । सीताले दुई ओभरमा तीन तथा कविताले तीन ओभरमा ओभरमा छ रन खर्चिन् ।

कतारको तर्फबाट खदिजा इम्तियाज र एन्जेलिना मरेले समान ८-८ रन बनाए भने छ जना ब्याटरले रनको खाता सम्म पनि खोल्न भ्याएनन् ।    

 

Click to comment

Trending