Women T20 World Cup Qualfiers

मिसन वर्ल्डकप : दुई वर्ष पछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल 

Published

on

नेपाली राष्ट्रिय महिला टोलीले करिब दुई वर्ष पछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै छ । दुई वर्ष पछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कंदा नेपालले घरेलु टोली कतार विरुद्ध तीन खेलको शृंखला अन्तर्गतको पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।

 ट्वान्टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले कतारसँग उसकै घरेलु मैदानमा तीन खेलको शृंखला खेल्न लागेको हो । नेपाली टोलीले पछिल्लो पटक सन् २०१९ को डिसेम्बरमा घरेलु मैदानमा आयोजित दक्षिण एसियाली खेलकुद साफ अन्तर्गत क्रिकेटमा सहभागिता जनाएको थियो भने त्यस पछि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता अथवा खेल खेलेको छैन ।     

नेपालले कतारसँग आज, भोलि र पर्सि अर्थात् नोभेम्बर १६, १७ र १८ मा तीन अन्तर्राष्ट्रिय खेल खेल्ने छ । नेपाली टोली ट्वान्टी ट्वान्टी शृंखला सकिएको भोलिपल्ट नै  नोभेम्बर १९ मा कतारबाट नै युएईका लागि उड्ने छ ।

नेपालले कतार उड्नु अघि बंगलादेशको भ्रमण गरेको थियो । उक्त भ्रमणका क्रममा नेपालले बिकेएसपीसँगको तीन खेलको शृंखला खेल्दै बङ्गबन्धु फ्रेन्डसिप बिकेएसपी कपको उपाधि २-१ ले  जितेको थियो । नेपाल ले पहिलो खेल २४ रनले तथा तेश्रो खेल सात विकेटले जितेको थियो भने दोश्रो खेलमा पाँच विकेटको हारको सामना गरेको थियो ।   

मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षण र रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीमा विकेटकिपर ब्याट्सवुमन ज्योति पाण्डे, डली भट्ट, सिता राना मगर, करुण भण्डारी, इन्दु बर्मा, सरिता मगर, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगिता राई रहेका छन् ।  

नेपाल आगामी शुक्रबार कतारबाट सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपको लागि युएई तर्फ उड्ने छ । विश्वकप छनोटमा नेपाल र आयोजक युएई  सहित भुटान, हङकङ, कुवेत र मलेसिया गरि ६ राष्ट्रले एसिया छनोट खेल्ने छन् । उक्त छनोटको विजेता टोलीले आगामी वर्ष आयोजना हुने ग्लोबल छनोटका लागि टिकट काट्ने छ ।

एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले मंसिर ६ गते हङकङको सामना गर्नेछ भने त्यसको भोलिपल्ट, मंसिर सात गते भुटानसँग खेल्ने छ । त्यस्तै नेपालले मंसिर नौ मा कुवेत र मंसिर १० मा मलेसियासँग भिड्ने छ भने छनोटको आफ्नो पाँचौं तथा अन्तिम खेलमा मंसिर १२ गते आयोजक युएईसँग प्रतिस्पर्धा गर्नेछ । 

 

Click to comment

Trending