Headline

नेपाल बास्केटबल संघलाई मतलब नै नभएपछि….

Published

on

तीन महिना अगाडी नेपाली राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदिश प्रधानले नोभम्बर १५ देखि बंगलादेशमा साबा च्याम्पियनसिप हुन गइरहेको थाहा पाए ।

दक्षिण एसियाली खेलकुद बाहेक साबा च्याम्पियनसिप नेपालले पदकको आशा गर्न मिल्ने एक मात्र प्रतियोगिता हो । सदिशले यस बिषयमा नेपाल बास्केटबल संघ (नेबा) का कार्यबाहक अध्यक्ष भिम गुरुङ, महासचिव नरेन्द्र थापा र प्रशिक्षक दिनेश चन्द्र नकर्मीलाई जानकारी गराएका थिए ।

तर नेपाल अन्ततः साबा च्याम्पियनसिपमा सहभागी नहुने भएको छ । नेपाली राष्ट्रिय टोली पुस्ता हस्तान्तरणको चरणमा प्रवेश गर्दा २०१८ मा भएको पछिल्लो संस्करणमा नेपालले एक खेल पनि जित्न सकेको थिएन ।

तर घरेलु कोर्टमा भएको दक्षिण एसियाली खेलकुदमा लगभग त्यही युवा खेलाडीको बाहुल्यता रहेको टोलीले माल्दिभ्स र बंगलादेशलाई पराजित गर्दै कास्य पदक जित्यो । नेपाली थ्रि बाई थ्रि टोलीले भने रजत पदक जितेको थियो ।

पछिल्लो दुई बर्ष घरेलु बास्केटबलको एक मात्र ठूलो प्रतियोगिता नेपाल बास्केटबल लिग पनि हुन नसक्दा यस संस्करणको साबा च्याम्पियनसिप त्यही युवा टोलीका लागि एक्सपोजर पाउने राम्रो माध्यम थियो । तर नेपाली खेलाडीहरुले त्यो मौका पनि गुमाएका छन् ।

सदिश आफैलाई यसको स्पष्ट कारण थाहा छैन । “जुन समयमा हामीले साबा च्याम्पियनसिप हुँदैछ भनेर थाहा पायौं मैले सम्बन्धित सबैलाई जानकारी गराएको थिए । प्रशिक्षक दिनेश चन्द्र नकर्मीले अब एक हप्तामा प्रशिक्षण शुरु गर्ने पनि भने तर कहिल्यै पनि शुरु भएन । साबामा सहभागी किन नभएको मलाई यसको ठोस कारण पनि थाहा छैन,” सदिशले भने ।

२०१९ डिसेम्बरमा भएको दक्षिण एसियाली खेलकुद यता नेपालमा अन्तर्राष्ट्रिय त परको कुरा हो प्रतिस्पर्धात्मक राष्ट्रिय बास्केटबल प्रतियोगिता पनि भएको छैन ।

“साबाको आयोजनाबारे हामीलाई आधिकारिक रुपमा थाहा भएको २५ दिन वा एक महिना मात्र भयो । कुन खेलाडीले सोसियल मिडियामा कोसँग कुरा गर्छ, के चिठ्ठी पठाउछ त्यसले कुनै अर्थ राख्दैन । हामीलाई औपचारिक रुपमा पत्र आउनु पर्छ,” विस्पोर्ट्जसँगको टेलिफोन संवादमा आक्रमक रुपमा प्रस्तुत हुँदै कार्यबाहक अध्यक्ष गुरुङले भने ।

गरुङका अनुसार कोरोना भाइरसका कारण खेलाडीलाई प्रशिक्षणमा राख्न नसकिएको हो । तर अन्य खेलहरु आरामले सञ्चालन हुँदा बास्केटबल किन ठप्प रहेको भन्ने प्रश्न गर्दा गुरुङले झर्किदै भनेः “कुन खेल सञ्चालन भएको छ ? क्रिकेटलाई आईसिसिले बार्षिक बजेट पठाउछ अनि त्यो बार्षिक बजेट पचाउनु परेन, काम गरेको देखाउनु परेन ?”

नेपाल क्रिकेट संघले ससर्त निलम्बन फुकुवा भए यता गरेका कुनै पनि राष्ट्रिय प्रतियोगिता नेपाल सरकार र महानगरपालिकाको पैसाबाट मात्रै हुँदै आएको ज्ञान भने गुरुङलाई थिएन । यस दौरान कोरोनाको दोश्रो लहर अघि नेपालमा भएको त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि क्यानले गरेको थिएन ।

नेपाललाई बंगलादेश पठाउन आफूहरुसँग बजेट नरहेको पनि गुरुङ भन्छन् । “राष्ट्रिय खेलकुद परिषद अहिले पदाधिकारी बिहिन भएको कारण मैले आन्तरिक कुराहरु गरेको थिए । प्रकृया अनुसार सम्बन्धित ठाँउमा बजेटका लागि पत्राचार पनि गरेको हो । तर अहिले सम्भव भएन,” उनले भने ।

गुरुङ नेपालको लागि साबा च्याम्पियनसिप ठूलो प्रतियोगिता रहेको मान्न समेत तैयार छैनन् ।

नेबाका महासचिव नरेन्द्र थापाको प्रतिकृयाले नेपालले सहभागिता जनाउन नसकेको अध्यायलाई झन अर्कै मोड दिन्छ ।

दक्षिण एसियाली खेलकुदमार्फत नै नेपाली महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय रजत पदका जितेको थियो ।

“पछिल्लो पटक साबा च्याम्पियनसिपमा हामी भुटानसँग पनि हार्न पुगेको थियौं । अहिले छोटो समयको प्रशिक्षणमा जाने लगभग त्यही टोली हो । नराम्रोसँग हारियो भने दोष फेरि संघलाई नै आउछ । त्यसैले हामीले यो पटक सहभागिता नजनाउने निर्णय गरेका हौं,” थापाले भने ।

अध्यक्ष टेन्डी शेर्पा केही बर्षयता बिरलै लाग्ने रोगले थल्लिएपछि गुरुङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । तर नेपाल बास्केटबल संघले आफ्नै बलबुतामा प्रतियोगिता आयोजना गर्न नसकेको चार बर्षभन्दा बढी भइसकेको छ ।

पछिल्लो पटक २०१७ मा अण्डर १८ राष्ट्रिय बास्केटबल प्रतियोगिता गरेको नेबाले सिनियर प्रतियोगिता गरेको छैन, न पुरुष र न महिला कै । कोरोना भाइरसको पहिलो लहर देखि हालसम्म आइपुग्दा बास्केटबल संघले अहिलेसम्म खेलाडीसँग स्पष्ट रुपमा संवाद समेत गरेको छैन ।

खेलाडी आफैले अन्तर्राष्ट्रिय प्रतियोगिताको बारे जानकारी गराउनु पर्ने र प्रशिक्षणको वातावरण बनाउन हार गुहार गर्नु पर्ने अवस्थामा नेपाली बास्केटबल आइपुगेको छ ।

Click to comment

Trending