T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : पाकिस्तानलाई स्तब्ध पार्दै अष्ट्रेलिया फाइनलमा 

Published

on

मार्कस स्टोइनिस र म्याथ्यु वेडले आक्रामक पारी खेल्दा अष्ट्रेलिया युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेस गरेको छ । दोश्रो पटक ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेस गरेको अष्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले स्तब्ध पारेको हो । अष्ट्रेलियाले अब उपाधिका लागि न्युजिल्यान्डको सामना गर्नेछ । हिजो सम्पन्न पहिलो सेमिफाइनलमा इंग्ल्यान्ड माथि पाँच विकेटको सनसनीपूर्ण जित निकाल्दै न्युजिल्यान्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।

जितका लागि १७७ रनको लक्ष्य पक्ष्याएको अष्ट्रेलियाले पाँच विकेट गुमाएर छ बल अगावै लक्ष्य पार गर्यो ।

९५ रनको अवस्थामा पाँच विकेट गुमाएर हार तर्फ अग्रसर भएको अवस्थामा स्टोइनिस र वेडले छैटौँ विकेटका लागि ६ दशमलब चार ओभरमा अविजित ८१ रनको साझेदारी गर्दै अष्ट्रेलियाको फाइनल स्थान पक्का गरे ।  वेडले १७ बलमा दुई चौका र चार छक्काको मद्दतमा अविजित ४१ तथा स्टोइनिसले ३१ बलमा अविजित ४० रनको पारी खेले । वेडले पाकिस्तानको लागि १९ औ ओभर लिएर आएका शाहिन शाह अफ्रिदीको अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाएका हुन् ।

अष्ट्रेलियाले सुरुवात भने राम्रो गर्न सकेन । ओपनिङमा आएका कप्तान आरोन फिन्च पहिलो ओभरको तेश्रो बलमा नै अफ्रिदीको बलमा एलबीडब्लुको धरापमा पर्दा खराब सुरुवात गर्न पुग्यो । अर्का ओपनर डेविड वार्नर र मिचेल मार्शले दोश्रो विकेटको लागि ५१ रन जोड्दै अष्ट्रेलियाको पारी सम्हाले ।

२२ बलमा २८ रन जोडेका मार्श पनि शदाब खानको शिकार हुन पुगे । त्यस पछि क्रिजमा आएका स्टिभ स्मिथ पाँच, ग्लेन म्याक्सवेल सात रन बनाएर पेभेलियन फर्किए भने वार्नर पनि अर्धशतक बनाउनबाट चुक्दै पेभेलियन फर्किए । ३० बलको सामना गर्दै समान ३-३ चौका र छक्का प्रहार गरेका वार्नर ४९ रनमा आउट हुन पुगे ।

पाकिस्तानका शदाब खानले सर्वाधिक चार विकेट लिए भने अफ्रिदीले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए ।  

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १७६ रन बनायो ।

पाकिस्तानको तर्फबाट ओपनर मोहम्मद रिजवानले मिचेल स्टार्कको बलमा आउट हुनु अघि सर्वाधिक ६७ रन बनाए भने अविजित रहेका जमानले ५५ रनको पारी खेले । ५२ बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरे । रिजवानले पहिलो विकेटका लागि कप्तान बाबर आजमसँग मिलेर १० ओभरमा ७१ रनको साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाए । ३४ बल खेल्दै आजमले पाँच चौकाको मद्दतमा ३९ रन बनाएर एडम जाम्पाको शिकार हुन पुगे ।    

बाबरको विकेटको पतन पछि क्रिजमा आएका फखार जमानले रिजवानसँग मिलेर पाकिस्तानको पारी सम्हाले । रिजवान र फखार भएर दोश्रो विकेटका लागि सात दशमलब दुई ओभरमा ७२ रनको साझेदारी गर्दै पाकिस्तानलाई ठुलो योगफल तर्फ लगे ।     

यस अघिका खेलमा खासै राम्रो प्रदर्शन गर्न नसकेका जमानले ३३ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै पाकिस्तानलाई ठुलो स्कोर सम्म पुर्याए । अन्तिम तीन ओभरमा पाकिस्तानले एक छोडबाट लगातार विकेट गुमाए पनि उनले एक चौका र  तीन छक्का प्रहार गर्दै जारी विश्वकपमा आफ्नो पहिलो अर्धशतक पनि पुरा गरे ।  

पाकिस्तानका सोएब मलिक १ तथा आसिफ अली गोल्डेन डकआउट हुन पुगे भने मोहम्मद हफिज एक रनमा अविजित रहे । 

अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक दुई विकेट लिए भने प्याट कमिन्स र एडम जाम्पाले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । 

Click to comment

Trending