अन्तर्राष्ट्रिय

ट्वान्टी ट्वान्टी विश्वकप : फाइनल पुग्न पाकिस्तानले अष्ट्रेलियालाई दियो १७७ रनको लक्ष्य 

Published

on

मोहम्मद रिजवान र फखार जमानले अर्धशतकीय पारी खेले पछि युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत दोश्रो सेमिफाइनल खेलमा पाकिस्तानले अष्ट्रेलियालाई १७७ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १७६ रन बनायो ।  

पाकिस्तानको तर्फबाट ओपनर मोहम्मद रिजवानले मिचेल स्टार्कको बलमा आउट हुनु अघि सर्वाधिक ६७ रन बनाए भने अविजित रहेका जमानले ५५ रनको पारी खेले । ५२ बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरे । रिजवानले पहिलो विकेटका लागि कप्तान बाबर आजमसँग मिलेर १० ओभरमा ७१ रनको साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाए । ३४ बल खेल्दै आजमले पाँच चौकाको मद्दतमा ३९ रन बनाएर एडम जाम्पाको शिकार हुन पुगे ।    

बाबरको विकेटको पतन पछि क्रिजमा आएका फखार जमानले रिजवानसँग मिलेर पाकिस्तानको पारी सम्हाले । रिजवान र फखार भएर दोश्रो विकेटका लागि सात दशमलब दुई ओभरमा ७२ रनको साझेदारी गर्दै पाकिस्तानलाई ठुलो योगफल तर्फ लगे ।     

यस अघिका खेलमा खासै राम्रो प्रदर्शन गर्न नसकेका जमानले ३३ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै पाकिस्तानलाई ठुलो स्कोर सम्म पुर्याए । अन्तिम तीन ओभरमा पाकिस्तानले एक छोडबाट लगातार विकेट गुमाए पनि उनले एक चौका र  तीन छक्का प्रहार गर्दै जारी विश्वकपमा आफ्नो पहिलो अर्धशतक पनि पुरा गरे ।  

पाकिस्तानका सोएब मलिक १ तथा आसिफ अली गोल्डेन डकआउट हुन पुगे भने मोहम्मद हफिज एक रनमा अविजित रहे । 

अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक दुई विकेट लिए भने प्याट कमिन्सएडम जाम्पाले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । 

पाकिस्तान जारी विश्वकपमा एक मात्र अपराजित टोली हो । पाकिस्तान समुह चरणका पाँच खेल मध्य पाँचवटामा नै जित निकाल्दै समुह २ को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने समुह चरणका चार खेलमा जित पारेको अष्ट्रेलिया समुह १ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । समुह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिका तीनवटै टोलीको समान ८-८ अंक रहे पनि इंग्ल्यान्ड र अष्ट्रेलियाले राम्रो रन रेटका आधारमा समुह विजेता र उपविजेता हुँदै सेमिमा स्थान सुरक्षित गरेका हुन् ।

आज हुने दोश्रो सेमिफाइनलको विजेताले उपाधिका लागि न्युजिल्यान्डको सामना गर्नेछ । हिजो सम्पन्न पहिलो सेमिफाइनलमा इंग्ल्यान्ड माथि पाँच विकेटको सनसनीपूर्ण जित निकाल्दै न्युजिल्यान्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

ट्वान्टी ट्वान्टीको तथ्यांक हेर्ने हो भने अष्ट्रेलिया माथि पाकिस्तान नै हाबी छ । समग्रमा २२ पटक एक आपसमा भिड्दा पाकिस्तानले १३ खेलमा जित दर्ता गर्दा अष्ट्रेलियाले नौ खेल मात्र आफ्नो पक्ष्यमा पार्न सफल भएको छ । ट्वान्टी ट्वान्टी विश्वकपमा भने दुबै टोली बराबरीमा रहेका छन् । विश्वकपमा ६ पटक खेल्दा दुबै टोलीले समान ३-३ जित आफ्नो नाममा लेखाएका छन् ।

आज सेमिफाइनलमा अष्ट्रेलियासँग भिड्दा पाकिस्तानलाई पक्कै पनि सन् २०१० मा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकपको यादले सताउने छ । सन् २०१० मा सम्पन्न विश्वकपमा पाकिस्तान जित नजिक रहेको अवस्थामा पनि हारको सामना गर्दा लगातार तेश्रो फाइनल खेल्ने सपनामा तुसारोपात लागेको थियो ।

खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेट गुमाएर १९१ रनको विशाल योगफल बनायो । जबाफी ब्याटिङ गरेको अष्ट्रेलियाले सात विकेट गुमाएर एक बल अगावै लक्ष्य पार गर्यो र पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गर्यो ।

अष्ट्रेलियाले १७ दशमलब एक ओभरमा सात विकेट गुमाएर हारको अवस्थामा पुगे पनि माइकल हस्सीले अन्तिम १७ बलमा ५३ रन जोड्दै तीन विकेटको सनसनीपूर्ण जित दिलाए । २४ बलको सामना गरेका हस्सीले तीन चौका र छ छक्काको मद्धतमा अविजित ६० रनको पारी खेले ।                  

Click to comment

Trending