T20 World Cup

 ट्वान्टी ट्वान्टी विश्वकप : न्युजिल्यान्ड सेमिफाइनलमा, भारतको विश्वकप यात्रा समाप्त 

Published

on

समुह चरणको आफ्नो अन्तिम लिग खेलमा अफगानिस्तान माथि आठ विकेटको सहज जित हात पार्दै  न्युजिल्यान्ड युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेसँगै भारतको एक खेल अगावै विश्वकप यात्रामा पूर्ण बिराम लागेको छ ।

समुह चरणमा चार जित निकाल्दै न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो ।समुह २ मा नै रहेको पाकिस्तानले एक खेल कम खेल्दै आठ अंक नै जोडेको छ भने पाँच खेल खेलेको अफगानिस्तान र चार खेल खेलेको भारत दुवैको समान ४-४ अंक रहेको छ । भारतले आफ्नो अन्तिम खेलमा नामिबियालाई पराजित गरे पनि समुह चरणबाट नै बाहिरिने पक्का भएको छ ।   

समुह १ बाट इंग्ल्यान्ड विजेता र अष्ट्रेलिया उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरिसकेका छन् । न्युजिल्यान्डले सेमिफाइनलमा अष्ट्रेलिया वा इंग्ल्यान्डको सामना गर्ने भन्ने पाकिस्तानको आज हुने स्कटल्याण्ड विरुद्धको खेलले निश्चित गर्नेछ । पाकिस्तानले स्कटल्याण्डलाई पराजित गरेको खण्डमा न्युजिल्यान्डले सेमिमा इंग्ल्यान्डको सामना गर्नेछ भने पाकिस्तान पराजित भएमा फाइनल प्रवेशका लागि अष्ट्रेलियासँग खेल्ने छ ।   

आजको खेलमा अफगानिस्तानले न्युजिल्यान्ड विरुद्ध जित दर्ता गर्न सकेको भए भारतको भाग्य चम्कने थियो र उसले सेमिमा स्थान सुरक्षित गर्ने थियो ।  

अफगानिस्तानले दिएको १२५ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले दुई विकेट गुमाएर ११ बल अगावै जित हात पार्यो र सेमिफाइनल यात्रा पनि सुनिश्चित गर्यो ।

न्युजिल्यान्डको जितमा ब्याटिङ तर्फ कप्तान केन विलियमसनडेवन कन्वेले अविजित रहँदै क्रमश ४० र ३६ रनको पारी खेले भने ओपनरद्वय मार्टिन गुप्टिलड्यारेल मिचेलले २८ र १७ रनको योगदान दिए ।  

यस अघि खराब सुरुवातका बाबजुद नजिबउल्लाह जद्रानले अर्धशतकीय पारी खेले पछि खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको अफगानिस्तानले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १२४ रन मात्र  जोड्न सक्यो । 

पावर-प्लेमा २३ रन जोड्दै तीन विकेट गुमाएर खराब सुरुवात गरेको अफगानिस्तानको पारी सम्हाल्ने क्रममा जद्रानले ४८ बलको सामना गर्दै छ चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाए भने अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । 

तेश्रो ओभरको दोश्रो बलमा विस्फोटक ब्याटर मोहम्मद शहजाद ११ बल खेल्दै चार रनमा एडम मिल्नको शिकार भए भने त्यस लगत्तैको ओभरमा अर्का ओपनर हजरतउल्लाह जजाई दुई रन जोड्दै ट्रेन्ट बोल्टको बलमा आउट हुन पुगे । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका रहमानउल्लाह गुरबाज चार रनमा टिम साउथीको बलमा एलबीडब्लुको धरापमा पर्दै पेभेलियन फर्किए । 

त्यस बाहेक गुलाबदीन नैब १५, कप्तान मोहम्मद नाबी १४, करिम जन्नत दुई तथा रशिद खान दुई रनमा आउट भए ।

अफगानिस्तानलाई सानो योगफलमा रोक्ने क्रममा ट्रेन्ट बोल्टले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने टिम साउथीले चार ओभरमा नै २४ रन दिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए । 

Click to comment

Trending