अन्तर्राष्ट्रिय

राहुल द्रविड बने भारतीय क्रिकेट टोलीको नयाँ प्रशिक्षक 

Published

on

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान राहुल द्रविड भारतीय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । द वालका नामले परिचित द्रविडले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप पछि घरेलु मैदानमा आयोजना हुने न्युजिल्यान्ड विरुद्धको ट्वान्टी ट्वान्टी शृंखलाबाट भारतीय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन् ।

द्रविडलाई सन् २०१६ र सन् २०१७ मा दुई पटक भारतीय क्रिकेट बोर्डले मुख्य प्रशिक्षक बन्नका लागि आग्रह गरेको थियो । तर दुबै पटक उनले अस्वीकार गरेका थिए । यस पटक पनि बोर्डका अध्यक्ष तथा भारतका पूर्व कप्तान सौरव गांगुलीले द्रविडलाई प्रशिक्षक बन्नका लागि आग्रह गर्दा उनले पहिले अस्वीकार गरेका थिए ।

तर विश्वकप अघि सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा द्रविडलाई युएईमा नै बोलाएर गांगुलीले प्रशिक्षक बन्नका लागि राजी गराउन सफल भएका थिए । गांगुलीको नै आग्रहमा द्रविडले आधिकारिक रुपमा प्रशिक्षकका लागि आवेदन दिएका थिए । 

द्रविड हाल बेंगलोरमा रहेको नेसनल क्रिकेट एकेडेमी (एनसीए) को प्रमुखका रुपमा कार्यरत थिए । खेल जीवनबाट सन्यासको घोषणा गरे पछि उनी आईपीएलमा आबद्ध भएर काम गरेका थिए भने पछि भारत ए र भारत यु१९ को मुख्य प्रशिक्षक भएर पनि काम गरेका थिए । द्रविडको प्रशिक्षणमा भारतले सन् २०१६ र सन् २०१८ मा गरेर दुई पटक यु१९ को विश्वकप खेलेको थियो भने सन् २०१८ मा उपाधि चुम्न सफल भएको थियो ।

यस अघि भारतीय टोली इंग्ल्यान्डको भ्रमणमा रहेको समयमा भारतले दोश्रो श्रेणीका खेलाडीहरु लिएर समान ३-३ एकदिवसीय र ट्वान्टी ट्वान्टी शृंखलामा श्रीलंका भ्रमण गर्दा मुख्य प्रशिक्षकको जिम्मेवारी बहन गरेका थिए । 

द्रविडको सम्झौता सन् २०२३ मा भारतमा नै आयोजना हुने एकदिवसीय विश्वकप सम्म रहेको छ । हालका प्रशिक्षक रवि शास्त्रीको सम्झौता जारी विश्वकप सम्म रहेका कारण भारतले नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।

द्रविडले भारतीय क्रिकेट टोलीको प्रशिक्षक नियुक्त भएकोमा खुशी व्यक्त गरेका छन् । “भारतीय क्रिकेट टोलीको प्रशिक्षक हुन पाउँदा म निकै गौरवान्वित छु । म आफ्नो काम सुरु गर्न लालायित पनि छु । रवि शास्त्रीको कार्यकालमा भारतले ठुलो उपलब्धि हासिल गरेको छ । म आफ्नो कार्यकालमा यसलाई निरन्तरता दिन चाहन्छु ,” द्रविडले भने ।  

“मैले धेरै जस्तो खेलाडीहरुलाई एनसीएल, भारत ए र यु१९ मा देखेको छु । उनीहरु कस्ता खेलाडी हुन् भन्ने बारेमा मलाई राम्रो जानकारी छ । सबैभन्दा राम्रो कुरा के छ भने उनीहरु सधैं सिक्नमा इच्छुक रहन्छन् भने उत्तिकै जोस पनि राख्छन् । आगामी दुई वर्षमा केही ठूला प्रतियोगिताहरु रहेका छन् । त्यसका लागि हामी एक जुट भएर लागि पर्नेछौँ ।”   

द्रविडको प्रशिक्षणमा भारतले विश्वकप पछि न्युजिल्यान्डसँग घरेलु मैदानमा तीन ट्वान्टी ट्वान्टी तथा दुई टेस्टको शृंखला खेल्ने छ भने डिसेम्बरमा समान ३-३ टेस्ट र एकदिवसीय तथा चार ट्वान्टी ट्वान्टी शृंखलाका लागि दक्षिण अफ्रिकाको भ्रमण गर्नेछ । त्यस्तै भारतले वेस्ट इन्डिज, श्रीलंका र दक्षिण अफ्रिकासँग घरेलु मैदानमा शृंखलाहरु पनि खेल्ने छ । 

@wesportzRahul Dravid has been appointed the Head Coach of Team India (Senior Men). The former India captain will take charge from the upcoming home series against New Zealand: BCCI ##tiktok_india ##rahuldravid ##bcci_india ##indiancricket ##dravidthewall♬ original sound – A?K

Click to comment

Trending