Headline

अब्दुल्लाहको ‘टचलाइन एन्टिक्स’

Published

on

साफ च्याम्पियनसिपका लागि हाल माल्दिभ्समा रहेको नेपाली टोलीबाट अहिलेसम्म चार जनाले गोल गरिसकेका छन् ।

लगातार दुई खेल जित्दै शिर्ष स्थान ओगटेर बसेको नेपाली टोलीको केन्द्रमा भने एक मात्र व्यक्ति छन् –– प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी ।

कुनै समय केही गिने चुनेका खेलाडीको वरिपरि घुम्ने गरेको नेपाली राष्ट्रिय फुटबल टोलीमा अहिले बेञ्चबाट समेत योगदान दिने खेलाडी छन् । उनले माल्दिभ्स लिएर गएका प्रत्येक खेलाडीहरुलाई लिएर योजना बनाएका छन् ।

र, बिपक्षी टोलीलाई मध्येनजर गर्दै अब्दुल्लाहले प्रत्येक खेलाडीबाट आफूले योजना बनाए अनुरुपको प्रदर्शन खोजिरहेका छन् ।

त्यो योजनालाई अब्दुल्लाह एक ढिक्का बनाएर खेलमा उतार्छन् । पहिलो दुई खेलमा नेपालले निकालेको जित उनको योजना सफल भएर नै हो । अब्दुल्लाहले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेदेखि नै नेपाली टोलीलाई एउटा ढाँचा दिन होमवर्क गर्दै आएका हुन् ।

नेपालमा भएको थ्रि नेसन्स कप, नेपाल सुपर लिग, इराकबिरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय, कुवेतमा खेलिएका बिश्वकप छनौटका तीन खेल र भारतबिरुद्धको दुई मैत्रीपूर्ण खेलमा खेलाडीहरुको प्रदर्शनको मुल्यांकनपछि नै उनले अहिलेको टोली तैयार पारेका हुन् ।

नेपाल आउनु अघि व्यवहारिक फुटबलमा खासै अनुभव नबोकेका अब्दुल्लाहलाई अहिले मास्टर योजनाकारको रुपमा हेर्न सकिन्छ । त्यही कारण उनको टोलीका खेलाडीहरुले बेञ्चबाट आएर गोल गरिरहेका छन् । यो उनले बनाएको सिस्टम हो ।

आयोजक माल्दिभ्सबिरुद्धको पहिलो खेलमा मनिष डाँगीको शान्दार निर्णायक गोल र श्रीलंकाबिरुद्ध दोश्रो खेलमा १८ बर्षिय आयुष घलानले जमाएको प्रभाव उनीहरु बेञ्चबाट आएपछि सम्भव भएको थियो ।

तर अब्दुल्लाहसँग यो बाहेक अरु पनि धेरै कुरा छन् । उनी बिपक्षी प्रशिक्षकसँग माइन्ड गेम खेल्छन् र टचलाइनमा उभिएर रेफ्रिलाई चिढाँउछन् । यसले बिपक्षी प्रशिक्षकलाई पनि द्विगभ्रमित गर्ने गर्छ । श्रीलंकासँगको खेलमा उनले त्यही गरे ।

श्रीलंकाबिरुद्धको उनको गेम प्लान एक दिन अघि नै शुरु भइसकेको थियो र त्यसलाई उनले टचलाइनमा आफ्नो नाटक (फुटबलको भाषामा एन्टिक्स) ले परिणाममुखी बनाए ।

अब्दुल्लाहले प्री म्याचमा प्रेस कन्फेरेन्समा श्रीलंकालाई हराउने रणनीतिबारे बिपक्षी प्रशिक्षकको कानमा पर्ने गरि स्पष्ट सुनाए । “श्रीलंका आक्रमक खेल्छ र धेरै फउल पनि । हामी धेरै फउल ड्र गर्दै उनको एक खेलाडीलाई बाहिर पठाउदै जित हात पार्नेछौं,” उनले भनेका थिए ।

बिपक्षीलाई हराउने सही रणनीति कुनै पनि प्रशिक्षकले खुलाशा गर्दैनन् तर अब्दुल्लाहले यहाँ दिमाग प्रयोग गर्ने सोचे । उनको रणनीति सुनेर श्रीलंकन पत्रकारहरु पनि अचम्ममा परे । प्रेस कन्फेरेन्स धेरै अगाडी बढी सकेको स्थितिमा एक श्रीलंकन पत्रकारले उनलाई सोधी छाडे ।

“तपाईले एक खेलाडी बाहिर पठाउने जुन कुरा गर्नु भयो, तपाईले गम्भिर भएर नै भन्नुभएको हो ?,” उनले सोधे ।

अब्दुल्लाह पनि के कम । उनले खोजे जस्तो भइरहेको थियो र आफ्नो रणनीतिलाई व्याख्या गर्न थाले । “श्रीलंकाले बंगलादेशबिरुद्ध ६७ ट्याकल गरेको थियो । यो हाम्रो पक्षमा जान्छ भने यसलाई किन प्रयोग नगर्ने । ?हामीबिरुद्धको खेलमा पनि धेरै ट्याकल गर्नेछ । एक खेलाडीलाई दुई ट्याकल गराउनेछौ । यल्लो, यल्लो गो,” अब्दुल्लाहले निकै स्वादले भने ।

“श्रीलंका हाम्रो लागि यो प्रतियोगिताकै सबैभन्दा कठिन टोली हो । त्यसैले म कुनै पनि समय यो खेललाई ओपन छोड्दिन,” उनले अन्तिममा भनेका थिए ।

अब्दुल्लाहको माइन्ड गेमले भोलिपल्ट काम गर्यो । श्रीलंकाले अब्दुल्लाहले भने जसरी ट्याकल खेलेन र डिफेन्समा पनि खुकुलो देखियो । दुवै तर्फ ओपन हुँदा उक्त खेल प्रतियोगिताकै हाइ स्कोरिंग खेल बन्यो । अब्दुल्लाहलाई तीन अंक चाहिएको थियो र उनलाई दुई गोल खाँदा पनि त्यसले असर गरेन ।

टचलाइनबाट अब्दुल्लाहले खेललाई नियन्त्रण गर्ने प्रयास गरे । खेल शुरु भएको केही क्षणमै दुई टिमको खेलाडी अघि नै अब्दुल्लाहले पहेलो कार्ड पाए । उनले श्रीलंकन प्रशिक्षक अमिर अलगिचलाई उक्साएका थिए भने रेफ्रिबिरुद्ध पनि खनिएका थिए । त्यो अब्दुल्लाहको टचलाइन रणनीति थियो ।

नेपालले सुमन लामा मार्फत खेलमा अग्रता लियो । अब्दुल्लाहले निकै आक्रमक तर हास्यास्पद तरिकाले खुशीयाली मनाए । दुई हात माथि राख्दै उनी उफ्रदै लाइन रेफ्रिको वरिपरि घुमे ।

नेपाली खेलाडीहरु भन्दा अब्दुल्लाहकै सेलिब्रेसन हेर्न लायक थियो । र त्यो भाइरल पनि बन्यो । उनले रेफ्रिलाई चिढाउन नै त्यस्तो सेलिब्रेसन गरेका थिए । नेपालले अञ्जन बिष्टको गोलले दोहोरो अग्रता बनायो र खेलमाथि पकड बनाइसकेको थियो । अब्दुल्लाहको रणनीति सफल भइसकेको थियो ।

Click to comment

Trending