Headline

शरदले अन्तिम बलमा छक्का प्रहार गरेपछि भैरहवा र ललितपुरबीच रोमाञ्चक बराबरी

Published

on

शरद भेषावकरले अन्तिम बलमा छक्का प्रहार गरेपछि भैरहवा ग्लेडियेटर्सले रोमाञ्चक खेलमा डिफेन्डिङ्ग च्याम्पियन ललितपुर पेट्रियट्सलाई जितबाट रोकेको छ ।

हाई स्कोरिङ्ग खेलमा १ सय ७८ रनको कठिन लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भैरहवाले ५ विकेटकको क्षतिमा १ सय ७७ रन बनायो । पहिलो ब्याटिङ्ग गरेको ललितपुरले ७ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो ।

रशिद खानको अन्तिम ओभरमा १८ रन चाहिएको स्थितिमा कुशल मल्लले पहिलो दुई ओभरमा चार रन बटुलेका थिए भने तेश्रोमा आउट भएका थिए । चौथो बलमा उपुल थारँगाले छक्का प्रहार गरे भने पाचौं बलमा एक रन लिएका थिए ।

जितका लागि ७ रन चाहिएको स्थितिमा शरदले रशिदलाई छक्का प्रहार गर्दै बराबरी गरेका थिए । पर्याप्त प्रकाश नभएका कारण सुपर ओभर सम्भव नभएपछि खेल टाई भएको घोषणा गरिएको थियो ।

त्यसअघि कुशल मल्लले १९ बलमा ३५ रन ठोक्दै भैरहवालाई खेलमा कायमै राखेका थिए । उनले तीन चौका र दुई छक्का प्रहार गरेका थिए । थारँगा ४४ बलमा ६७ रन बनाउदै नटआउट रहे । उनले ६ चौका र तीन छक्का प्रहार गरे ।

२९ रनमै तीन विकेट गुमाएको भैरहवालाई थारँगाले आसिफ शेखलसँग ८४ रनको साझेदारी गर्दै जोगाएका थिए । आरिफले २८ बलमा २८ रन बनाए । उनको नाममा दुई चौका र एक छक्का प्रहार गरे ।

बिहिवारको परिणामपछि भैरहवा नेट रनरेटका आधारमा चार अंकका साथ शिर्ष स्थानमा कायमै रहेको छ । चितवन टाइगर्सको पनि चार अंक छ भने पोखरा राइनोजको तीन अंकमा छ ।

पहिलो दुई खेलमा लगातार हार व्यहोरेपछि दवाबमा आएको ललितपुरले भैरहवाबिरुद्ध भने निकै सुधारिएको ब्याटिङ्ग प्रदर्शन गर्यो । तमिम इक्बालको सटिक थ्रोमा ओपनर तथा कप्तान कुशल भुर्तेललाई दोश्रो ओभरमै गुमाए पनि श्रीलंकन सन्दुन विराक्कोडीले सम्हालेका थिए ।

उनले दोश्रो विकेटका लागि अर्का श्रीलंकन ओशादा फर्नान्डोसँग ६६ रनको साझेदारी गरे । आकर्षक इनिङ्गस खेलेका विराक्कोडीले ४१ बलमा ५८ रन बनाए । उनले पाँच चौका र दुई छक्का प्रहार गरे ।

दुवै ब्याट्स्म्यान आउट हुँदा ललितपुरले १३ औं ओभरमा १०० रन जोडिसकेको थियो । यो शुरुवातलाई सन्दिप जोरा र अफगानी अलराउण्डर अजमतुल्लाह ओमारजाईले ठूलो योगफलमा परिणत गरेका थिए ।

ओमारजाईसँग चौथो विकेका लागि ४५ रनको साझेदारी गरेका जोराले २५ बलमा ३८ रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरे ।

भैरहवाका लागि ओमारजाई घातक साबित भए । उनले २२ बलमै ४२ रन ठोकेका थिए । अविनाश बोहोरालाई एकै ओभरमा तीन छक्का प्रहार गरेका ओमारजाईले कुल चार छक्का र दुई चौका प्रहार गरे । तीन ओभरमै ४३ रन खर्चेका अविनाशले अन्तिम ओभरमा भने कसिलो बलिंग गरे ।

उनले अन्तिम ओभरमा ओमारजाईको सहित दुई विकेट लिदै मात्र चार रन खर्चिएका थिए । धम्मिका प्रसाद, कृष्ण कार्की र आरिफ शेखले पनि भैरहवाका लागि १–१ विकेट लिएका थिए । दुर्गेश गुप्ता भने सबैभन्दा सफल बलर भए । उनले चार ओभरमा मात्र २२ रन दिएका थिए ।

Click to comment

Trending