Headline

पुनरागमन खेलमा रोहितको समझदारीपूर्ण ब्याटिंगपछि नेपालको कठिन जित

Published

on

रोहित कुमार पौडेलले आफ्नो पुनरागमन खेलमा सुझबुझपूर्ण इनिङ्गस खेलेपछि नेपालले पपुवा न्यु गिनीमाथि पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा दुई विकेटको संघर्षपूर्ण जित हात पारेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३९ दशमलव ३ ओभरमा ८ विकेट गुमाउदै जित हात पार्यो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गर्दै आकर्षक शुरुवात दिलाएपनि ३४ रनको अन्तरमा ७ विकेट गुमाएको थियो । तर ८२ रनमा ७ विकेटको स्थितिबाट रोहितले सोमपाल कामीसँग ५२ रनको साझेदारी गर्दै नेपालको इज्जत जोगाएका थिए ।

जितसँगै नेपालले दुई म्याचको श्रृंखलामा १–० को अग्रता लिएको छ । आईसिसि क्रिकेट बिश्वकप लिग टुको दोश्रो त्रिकोणात्मक श्रृंखलाका लागि ओमान पुगेको नेपालले यो सिरिजलाई तैयारीको रुपमा लिएको छ । दोश्रो खेल शुक्रबार हुनेछ ।

रोहितले ६५ बलमा दुई चौका प्रहार गर्दै ४१ रन बनाए । उनी आउट हुँदा नेपाललाई मात्र एक रनको आवश्यकता रहेको थियो । एक चौका र एक छक्का प्रहार गरेका सोमपालले ३२ बलमा नटआउट २२ रन बनाए ।

कुशल (१५) र आसिफले ठोस शुरुवात दिलाएपछि नेपाल सहज जिततर्फ अग्रसर रहेको थियो । तर गाउडी टोका, ड्यामिन रभु र चाड सोपरले २–२ विकेट लिएपछि नेपाली इनिंगस धर्मराएको थियो । निकै आकर्षक लयमा देखिएका आसिफले ४६ बलमा चार चौकाको मद्दतमा ४० रन बनाए । टोकाले तीन विकेट हात पारे ।

यसअघि सन्दिप लामिछानेले चार तथा सोमपाल कामी, कुशल मल्ल, बिक्रम सोब र सोमपालले २–२ विकेट लिएपछि पिएनजी ३३ ओभरमा १ सय ३४ रनमै अल आउट भएको थियो ।

टस हारी पहिलो फिल्डिंग गरेको नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय खेलिरहेका बिक्रम सोबले पहिलो बलमै विकेट लिएपछि पिएनजी शुरुवातदेखि नै दवाबमा रहेको थियो ।

आफ्नो डेब्यु एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो बलमै विकेट लिने बिक्रम बिश्वका २६ औं बलर बने । उनी एशोसिएट क्रिकेटमा यो उपलब्धि हात पार्ने सातौं बलर पनि भए ।

कुनै पनि ठूलो साझेदारी पाउन नसकेको पिएनजी ३३ ओभरमै समेटिएको थियो । बिक्रमले टोनी उरालाई बोल्ड गर्नुका साथै असद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराएपछि पिएनजीले पहिलो चार ओभरमा दुई विकेट गुमाउदा मात्रै ९ रन जोडेको थियो ।

त्यसपछि लेगा सियाका र चाल्र्स अमिनीले पिएनजीलाई सम्हाल्ने प्रयास गर्दै तेश्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । सन्दिपले आफ्नो पहिलो ओभरमै अमिनीलाई पेभिलियन फर्काएपछि पिएनजी सम्हालिन सकेन ।

सियाकाको विकेट कुशलले लिएका थिए । सियाकाले पिएनजीका लागि सर्वाधिक ३० रन बनाए । ३८ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे । अमिनीले २३ बलमा तीन चौकाको मद्दतमा २३ रन बनाए ।

यस्तै टोकाले २९ बलमा २२ रन जोडे । सन्दिपले १० ओभरमा ३५ रन खर्चदै चार विकेट लिए ।

Click to comment

Trending