Euro 2020

‘इंगल्याण्डले अब डाइभिंगमा अरुलाई लेक्चर दिन बन्द गर्दा हुन्छ’

Published

on

१९६६ पछि पहिलो पटक प्रमुख प्रतियोगिताको फाइनल प्रवेश गरेको इंगल्याण्ड यस पटकको युरो कप उपलब्धिलाई लिएर मख्ख छ । तर इंगल्याण्ड बाहिर भने रहिम स्टर्लिंगले पेनाल्टी जित्नलाई अपनाएको रणनीतिलाई लिएर सर्वत्र ओलोचना भएको छ ।

बुधबारको सेमिफाइनलको अतिरिक्त समयमा इंगल्याण्डले त्यही पेनाल्टीको मद्दतमा डेनमार्कलाई २-१ ले पराजित गर्यो । डेनिस समर्थकहरुको साथ दिदै पेनाल्टी लिने रणनीतिलाई लिएर इंगल्याण्डको आलोचना गर्ने अन्तर्राष्ट्रिय मिडिया र फुटबल बिश्लेषकहरुको सुची लामै छ ।

कसैले भने स्टर्लिंग डि बक्स भित्रै थोरै टचमा नै लड्नु डाइभिंगलाई लिएर इंगल्याण्डको धारणालाई पाखण्ड भन्दै आलोचना गरिरहेका छन् ।

“उनीहरु (इंगल्याण्ड) एक बिदेशी खेलाडीले डाइभ गर्दै रेफ्रिको आखामा छारो हाल्न खोज्नु निकै नराम्रो भएको बताउदै आइरहेका छन् । इंगलिस फुटबलमा यो हुदैन । तर युरो कपको सेमिफाइनलमा भने हुन्छ,” स्पेनिस पत्रिका मार्काले लेखेको छ । “इंगलिस फुटबलले अब महादेशका अन्य देशहरुलाई डाइभिंगको बारे लेक्चर दिन बन्द गर्दा राम्रो हुन्छ ।”

इंगलिस प्रिमियर लिगमा पनि डाइभिंगको आरोप लागेका स्टर्लिंग डेनिस डिफेन्डर याओकिम माहेले संगको सामान्य टचमै लडेका थिए । डच रेफ्री ड्यानी माकिलीले पेनाल्टी स्पटतर्फ औला तेस्र्याए र भिडियो असिस्टेन्ट रेफ्रिसंगको छोटो संवादमै आफ्नो निर्णयलाई सदर गरेका थिए ।

सेमिफाइनल जस्तो खेलमा माकिलीले मैदानमै हुने गरेको मोनिटरमा आफै रिप्ले हेर्न आवश्यक ठानेनन् । ह्यारी केनको प्रहारलाई डेनिस गोलकिपर क्यास्पर स्माइकलले बचाएपनि रिबाउण्डमा इंगल्याण्ड कप्तानले गोल गरेका थिए ।

निकै घटिया

“यो मेरो लागि सफ्ट पेनाल्टी थियो । युरो सेमिफाइनल जस्तो खेलका लागि निकै घटिया,” २०१२ र २०१६ को युरोमा खेल सञ्चालन गरेका पुर्व स्विडिस रेफ्रि योनास एरिक्सनले भने । “भारले रेफ्रिलाई केही नभनेकोमा म अचम्मित छु र रिस पनि उठेको छ । यो त कुन टिम फाइनल पुग्ने निर्णय पो हुदै थियो ।”

रोमा व्यवस्थापक होजे माउरिन्होले टकस्पोर्टलाई दिइएको अन्तर्वार्तामा उत्कृष्ट टिमले जितेर आफू इंगल्याण्डको लागि खुशी भएको बताएका पनि आफ्नो लागि त्यो पेनाल्टी नरहेको बताए । बिवादास्पद पेनाल्टी बाहेक डेनमार्कलाई निराश बनाउने अन्य घटनाहरु पनि खेलमा भएका थिए ।

स्टर्लिंग पेनाल्टी एरियामा प्रवेश गर्दा मैदानमा अर्को बल देखिएको थियो र नियमानुसार यस्तो परिस्थितिमा खेल रोकिने गर्छ । केनको पेनाल्टीको सामना गर्न तैयार भैरहदा एक इंगल्याण्ड समर्थकले स्माइकलको मुखलमा लेजर लाइट तेस्र्याएका थिए ।

“उनीहरुले जानाजन डाइभ गरेपछि प्राप्त पेनाल्टीबाट खेल जित्न सफल भए । इंगल्याण्डले लामो समयदेखि आफुलाई फेयर प्लेको घर र डाइभिंग नगर्ने फुटबल देश भन्दै गर्व गर्दै आएको छ,” पुर्व जर्मन फुटबलर तथा फुटबल पण्डित डिटमर हमनले भने ।

इंगल्याण्डको बिवादास्पद पेनाल्टीलाई लिएर अन्य दुई फुटबल पावरहाउस फ्रान्स र इटालीका सञ्चार माध्यमहरुले पनि निकै आलोचना गरेका छन् ।

Click to comment

Trending