अन्तर्राष्ट्रिय

रशिद खान अफगानिस्तान क्रिकेट टोलीको नयाँ कप्तान 

Published

on

अफगानिस्तान क्रिकेट बोर्डले ट्वान्टी ट्वान्टीको लागि लेग स्पिनर रशिद खानलाई कप्तान नियुक्त गरेको छ । बोर्डले आज एक विज्ञप्ति जारी गर्दै रशिदलाई कप्तान तथा नजिबुल्लाह जद्रानलाई उपकप्तान नियुक्त गरेको जनाएको हो ।    

गत महिना मात्र रशिदले बोर्डको कप्तान बन्ने प्रस्ताव लत्याएका थिए । रशिदले आफू कप्तानका रुपमा भन्दा पनि खेलाडीका रुपमा राम्रो हुने भन्दै बोर्डको प्रस्ताव अस्वीकार गरेका थिए । 

यस अघि उनले भनेका थिए, ‘म यो कुरामा प्रष्ट छु कि म खेलाडीको रुपमा अफगानिस्तान टोलीलाई धेरै दिन सक्छु । म उपकप्तानका रुपमा नै बढी खुशी छु । आवश्यक परेको खण्डमा म कप्तानलाई सहयोग गर्न तयार पनि छु ।मेरो विचारमा म कप्तानको पद भन्दा टाढा नै बस्न उपयुक्त हुन्छ ।’

‘म खेलाडीको रुपमा नै आफ्नो टोलीलाई धेरै दिन चाहन्छु । मेरो प्रदर्शन नै महत्वपूर्ण हुन्छ सायद कप्तानका रुपमा भन्दा पनि बलरको रुपमा । म कप्तानका रुपमा लिने बोझ भन्दा पनि बलरका रुपमा लिने बोझमा बढी खुशी छु ।’ 

गत महिना अफगानिस्तान क्रिकेट बोर्डले अस्गर अफगानलाई कप्तानबाट बर्खास्त गरेको थियो ।  अफगानको स्थानमा बोर्डले मध्यक्रमका ब्याट्सम्यान हस्मतुल्लाह शाहिदीलाई टेस्ट र एकदिवसीयको कप्तान तथा रहमत शाहलाई उपकप्तान नियुक्त गरेको थियो । 

रशिदले यस अघि  एकदिवसीयमा गरेर कुल १६ खेलमा अफगानिस्तानको कप्तानी गरेका थिए जस मध्य छ खेलमा जित हात पारेका थिए । सन् २०१९ को विश्वकप पछि उनले अफगानिस्तानको टेस्ट, एकदिवसीय र ट्वान्टी ट्वान्टीको कप्तान नियुक्त भएका थिए भने पछि बोर्डले अफगानलाई नै कप्तान नियुक्त गरेको थियो ।   

रशिदले अब अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएईमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपमा अफगानिस्तानको कप्तानी गर्नेछन् । अफगानिस्तान समुह बी मा भारत, इंग्ल्यान्ड र दक्षिण अफ्रिकासँगै छ जसमा क्वालिफायर्सबाट दुई टोली समावेश हुनेछन् ।  

 

Click to comment

Trending