Euro 2020

युक्रेनको फुटबललाई नयाँ उचाइमा पुर्याएका एक बिद्रोही

Published

on

आज युक्रेनका आधा जसो खेलाडीहरु युरोपका ठूला लिगहरुमा व्यवसायिक फुटबल खेल्ने गर्दछन् । तर ५-६ वर्ष अघि दृश्य अर्कै थियो । उनीहरु प्राय आफ्नै देशमा विशेष गरि डाइनामोकिभ, सख्तर दोनेस्क र निप्रो जस्ता क्लबहरुबाट नै खेल्ने गर्दथे ।

आफ्नो देशको लिग छाड्दै युरोपका क्लबहरुमा खेल्ने सुरुवात येभ्हन कोनोप्यानकाले गरे। उनी निप्रोबाट सेभियामा आबद्ध भए । त्यस पछि आन्द्रे यार्मोलेंकोले पनि कोनोप्यानकालाई पछ्याउदै बुडेसलिगा क्लब डर्टमण्ड पुगे ।

तर यो कथा उनीहरुको बारेमा भने हैन ।

यो त यस्ता खेलाडीको बारेमा हो जसले आफ्नो देश युक्रेनको जर्सीमा पहिलो पटक देखिदा पनि विवाद उत्पन्न भयो । उनले विदेशी लिग खेल्दै गर्दा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए । तर त्यो लिग कुनै ठूलो युरोपियन लिग थिएन ।

त्यो लिग थियो रुसको । अझ त्यस समयमा जुन समयमा रुस र युक्रेनको बीचमा सम्बन्ध राम्रो थिएन । अझै पनि छैन । सन् २०१५ मा रुसले युक्रेनको भूभाग रहेको क्रिमियामा कब्जा जमाएको थियो । एक वर्ष देखि डन्बासमा भएको सैन्य शक्ति प्रयोग गर्दै रुसले उक्त भूभाग आफ्नो भन्दै कब्जा जमाएको हो ।

तर ओलेकसेण्डर जिन्चेंकोले त्यस समयमा रसियन प्रिमियर लिग खेल्ने गर्दथे । रसियन लिगको खासै चर्चा हुदैन । तर उनको निर्णय युक्रेनका फुटबल समर्थकहरूको नजरमा भने विद्रोह नै थियो । त्यसैले पनि जब अघिल्लो युरो कपमा उनले राष्ट्रिय टोलीमा स्थान पाए तब समर्थकहरू अचम्मित हुदै बिरोधमा उत्रिएका थिए ।

अवस्था झनै खराब बन्न पुग्यो जब उनले युरो कप २०१६ मा स्पेन विरुद्धको खेलका क्रममा ८८ औमिनेटमा मैदान प्रवेश गरे ।

फुटबलको खुबीका हिसाबले हेर्ने हो भने जिन्चेंको यती उत्कृष्ट थिए कि युक्रेनको लिगका उत्कृष्ट खेलाडी भन्दा उनको प्रदर्शन राम्रो हुने गर्दथ्यो ।

त्यस समय उनको उमेर पनि मात्र १८ वर्षको थियो । त्यस समय उनलाई युक्रेन फुटबल संघले निकै हतारमा राष्ट्रिय टोलीबाट खेलाउने निर्णय लिएको थियो । कारण थियो रुसले उनलाई आफ्नो देशबाट खेलाउने प्रयास गरेको हल्ला ।

स्विडेनबिरुद्धको प्रि क्वार्टर फाइनलमा जिन्चेकोले एक गोल र अर्कोमा असिस्ट गरेका थिए

सन् २०१५ को अक्टोबर १० मा जब उनी स्पेन विरुद्ध मैदानमा उत्रिए उनी युक्रेनको राष्ट्रिय टोलीबाट खेल्ने सबैभन्दा सानो उमेरको खेलाडी बन्न पुगे । त्यस्तै सन् २०१६ मे २९ मा रोमानिया विरुद्धको खेलमा गोल गर्दै युक्रेनको लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बन्न सफल भए ।

त्यसको पांच वर्ष पछि उनी राष्ट्रिय टोलीको कप्तानी गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने ।

उनको यहाँ सम्मको यात्रा सहज भने रहेन । उनलाई धेरैले विद्रोही भन्द छन्, राम्रा कामका लागि । उनले सख्तर छाड्ने निर्णय सम्झदा अहिले पनि क्लबका पधादिकारीहरु चिढिने गर्दछन् । उनले १३ पटकको लिग विजेताको पहिलो टोलीका लागि एक खेल पनि खेलेनन् ।

तर अण्डर १९ टोलीको भने कप्तानी सम्हालेका थिए । जिन्चेंकोले क्लबका सबैलाई निराश पार्दै सन् २०१४ मा क्लब छाडे ।

सख्तरले जिन्चेंकोको एक तर्फी निर्णयका कारण सम्झौता रद्द गरेको भन्दै मुद्धा पनि दायर गर्यो । फुटबलको सवोच्च निकाय फिफाले पनि जिन्चेंकोको गल्ती भन्दै आठ हजार युरोको जरिवाना लगायो। तर क्लब भने खुशी भएन ।

क्लबले त्यस पछि कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस् मा मुद्दा दायर गर्यो जसमा जिन्चेंको विजयी भए । सन् २०१५ को फेब्रुवरीमा जिन्चेंकोले युफासंग सम्झौता गरे र उनले त्यहां करिब डेढ वर्ष मात्र बिताए ।

सख्तरसंगको ढोका बन्द गराएका जिन्चेंकोले निकै ठुलो र सहासी कदम उठाएका थिए । किन भने उनलाई नै थाहा थिएन त्यस पछि के हुन्छ र उनको भविष्य कहा) पुग्नेछ । उनी कुनै पनि क्लबमा आबद्ध नभएको समयमा आफुलाई फिट र फर्ममा राख्न शिकारुहरुसंग अभ्यास गर्ने गर्दथे ।

रसियन क्लब युफासंगको सम्झौता उनलाई झुक्किएर आएको भन्दा पनि फरक नपर्ला । उनी रुबिन कजान जान चाहन्थे । तर उनका एजेन्टहरुले कजानसंग सम्झौता गर्न असफल रहे ।

आफु विरुद्धको मुद्दाका कारण पनि जिन्चेंकोले युफामा सम्झौता गर्दै व्यवसायिक फुटबल खेल्न सुरु गर्दै केहि वर्षमा युरोपमा भाग्य परिक्षण गर्ने निर्णयमा पुगे ।

सायद त्यो निणर्य नै उनको जीवनमा कायापलट हुन पुग्यो । उनले जुन सपना देखेका थिए उनी त्यसै तर्फ लम्कदै थिए । उनले जसरी रुस हुंदै इंगलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सम्म यती छोटो समय पुगे त्यो युक्रेनमा अहिले पनि किम्बदन्तीको रुपमा चर्चा हुने गर्दछ ।

पेप ग्वार्डिओलालाई एक जना कसैले जिन्चेंकोले खेलेको भिडियो देखाएका थिए । जिन्चेंकोको खेलको भिडियो हेर्ने बित्तिकै ग्वार्डिओलाले एक सेकेण्ड पनि नसोची उनलाई सिटी भित्राउने निर्णय लिए । र त्यसको केहि समय पनि सम्झौता पनि सम्पन्न भयो।

सानो उमेरमै जिन्चेकोले इंगलिस प्रिमियर लिग नै जितिसकेका छन्

सिटीसंगको सम्झौतासंगै उनको नयां यात्रा शुरु भयो । ग्वार्डिओलाको पिएसभीमा लोनमा जांदाका असफलता, लामो समय सिटीको टोलीमा अटाउन नसकेका तथा नापोली र उल्भ्समा जाने प्रस्ताब अस्विकार गरेका जस्ता कुराहरु हेर्दा कुनै पनि सुनौलो भविष्य इंगित गर्दैनथ्यो । तर पनि अन्तत उनले सिटीमा अवसर र मौका पाए ।

अहिले उनी विश्व फुटबलको उत्कृष्ट क्लबको सबैभन्दा महत्वपूर्ण सदस्य हुन् ।

सायद जिन्चेंको ग्वार्डिओलाले काम गरेका मध्येका उत्कृष्ट लेफ्ट ब्याक हैनन् होला तर उनी सबैभन्दा तिक्ष्ण विद्यार्थी हुन् । उनी यस्ता खेलाडी अथवा भनौं विद्यार्थी हुन् जो स्पन्जले जस्तै आफ्ना प्रशिक्षकले दिएको निर्देशन र रणनीति जस्ताको तस्तै सोस्न सक्ने क्षमता राख्दछन् ।

त्यसैले पनि जब उनी सिटी आए तब आफुले खेल्ने गरेको स्थान मिडफिल्डबाट लेफ्ट ब्याकमा खेल्न सुरु गरे ।

तर उनी आफ्नो देश युक्रेनको लागि खेल्दा अहिले पनि सेन्ट्रल मिडफिल्ड नै खेल्ने गर्दछन् । उनी आफ्नो स्थानबाट भन्दा पनि आफ्नो टोलीलाई कुन स्थान आवस्यक छ त्यसै अनुरुप खेल्ने गर्दछन् । यसबाट पनि उनी के–कस्ता खेलाडी हुन् भन्ने पुष्टि हुन्छ ।

युक्रेनले इतिहास रच्दै युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा इंगल्याण्डको सामना गर्दैछ । सन् २०१२, २०१६ र २०२० गरेर तीन पटक मात्र युरो कप खेलेको युक्रेन पहिलो पटक दोश्रो चरणमा पुगेको हो। अन्तिम १६ को खेलमा स्विडेनलाई २–१ ले पराजित गरेको थियो ।

स्विडेनसंगको खेलको १ सय २१ औं मिनेटमा जिन्चेंकोको पासमा नै गोल हुंदा युक्रेनले क्वार्टर–फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको थियो ।

आन्द्रे सेभेचेन्कोको अगुवाईमा रहेको युक्रेन रणनीतिक हिसाबले भिन्न फुटबल खेल्ने प्रयासमा छ र निरन्तर राम्रो पनि गर्दै गएको छ । त्यसमा आधारभूत सिद्धान्तहरु छन् – बल नियन्त्रण, छोटो र मध्य दुरीमा पास, छिटो बल अगाडी पुर्याउने र विपक्षीलाई दबाब सृजना गर्ने ।

शायद यसको प्रतिफल हुन सक्छ उसले युरो कप छनोटमा बलियो सर्बियालाई ५–० ले पराजित गर्यो भने क्रिस्चियानो रोनाल्डोको कप्तानीमा रहेको साबिक विजेता पोर्चुगललाई २–० ले पाखा लगायो । छनोट चरणको आफ्नो समुहको विजेता हुंदै युक्रेनले युरोकपमा छनोट भएको थियो ।

कुनै समय विद्रोहीकोट्याग लागेका जिन्चेंको अहिले आफ्नो देश युक्रेनका नायक हुन् । उनी युक्रेनको नयां पिढीका प्रतीक हुन् । उनका कारण नै धेरै युवाहरु आफु फुटबल खेलाडी बन्दै युक्रेन राष्ट्रिय टोलीको लागि खेल्ने सपना देख्ने गर्दछन् ।

पोर्चुगल विरुद्धको खेलमा जित हात पार्दै भावनात्मक रुपमा खुशियाली मनाएको भिडियो युक्रेनको टिभीहरुले बारम्बार देखाउने गरेको घटनालाई यसको प्रतीकको रुपमा लिन सकिन्छ ।

Click to comment

Trending