Euro 2020

युक्रेनका यी चार जो इंगल्याण्डको पतनको कारण बन्न सक्छन्

Published

on

जर्मनीलाई वेम्बलीमा अन्तिम १६ मा पराजित गरे देखि इङ्ल्याण्ड समर्थकहरुमा उत्साहको कमी छैन । इङ्ल्याण्डको हालको फुटबल टोली पनि १९६६ को विश्वकप पछिको पहिलो ठुलो उपाधि जित्ने लक्ष्यमा छ । तर के युरो कपको क्वार्टर-फाइनलमा युक्रेन इंगल्याडको लागि सहज प्रतिद्वन्दी होला ?

युक्रेनको कथा फरक छ । शनिबार हुने खेलमा युक्रेनी टोली इङ्ल्याण्ड विरुद्ध रोममा अप्रत्याशित जित निकाल्दै विश्व फुटबललाई एउटा नयाँ कथा दिने योजनामा छ ।

सोभियत संघबाट छुट्टिए यता पहिलो पटक अन्तिम चारमा स्थान बनाउने आशमा युक्रेन छ र उसलाई केही कुरा असम्भव छैन । असम्भव नहुनुको कारण युक्रेनमा रहेका हरेक खेलाडीले देखाएको लगाव हो । अन्तिम १६ मा स्विडेनलाई अन्तिम समय सम्म दवाबमा राखेको युक्रेनका लागि हरेक खेलाडी र प्रशिक्षकले आफ्नो देशका लागि खेल्ने प्रण लिएको जस्तो देखिन्थ्यो ।

इङ्ल्याण्डका लागि युक्रेनको ‘प्यासन’ हावी बन्न सक्ने छ । इंगल्याण्डको लागि युक्रेनका प्रमुख बिपक्षी को-को हुन् त ?

आन्द्रे सेवचेन्को- लेजेण्ड

पुर्व बालोन डि’ओर बिजेता र युक्रेन राष्ट्रिय फुटबल टोलीका सर्वाधिक गोलकर्ता सेवचेन्को युक्रेनको स्वर्ण युगका खेलाडी हुन् । २००६ मा उनकै कप्तानीमा युक्रेनले विश्वकपको क्वार्टर-फाइनल खेलेको थियो । युक्रेन इटालीसँग पराजित भयो तर अन्तिम समय सम्म हार मानेन । सेवचेन्को अहिले पनि मैदानमै छन् तर खेलाडी हैन प्रशिक्षकको भूमिकामा र यो नै युक्रेनका लागि सबैभन्दा ठूलो प्रेरणाको श्रोत हो ।

४४ वर्षिय सेवचेन्कोले २०१६ देखी टोली हेरे यता युक्रेनको ग्राफ माथि मात्र गएको छ । त्यसैले उनको टोलीलाई कम आक्न मिल्दैन । युक्रेनले नेसन्स लिगमा पोर्चुगल भन्दा माथि समुह चरण कटाएको थियो भने स्पेनलाई पनि पराजित गरेको थियो । मार्चमा भएको विश्व बिजेता फ्रान्ससँगको विश्वकप छनोटमा पनि युक्रेनले फ्रान्सलाई बराबरीमा रोकेको थियो ।

अब सेवचेन्को इटाली फर्किएका छन् । त्यो पनि युरोको क्वार्टर-फाइनल खेल्न । सेवचेन्कोका लागि इटाली भाग्यमानी शहर हो । जहाँ उनले एसी मिलानका लागि उत्कृष्ट खेलेका थिए तर यो पटक उनको भुमिका फरक छ । उनी डगआउटमा हुनेछन् भने खेलाडीहरुले उनलाई प्रेरणाको स्रोत मान्दै मैदानमा इङ्ल्याण्ड विरुद्ध खेल्ने छन् ।

ओलेक्जेण्डर जिन्चेन्को- स्टार खेलाडी

जिन्चेन्कोको अनुहार हेरेर लाग्दैन कि उनी २४ वर्षका भए । उनी अझै पनि उमेर समुहका खेल खेल्ने खेलाडी जस्तो देखिन्छन् तर उनको खेल कौशलले उनलाई युक्रेनको स्टार खेलाडीको रुपमा स्थापित गराएको छ । म्यानचेस्टर सिटीमा पेप ग्वार्डियोलाका मुख्य खेलाडी जिन्चेन्कोले स्विडेनलाई पराजित गर्दा उत्कृष्ट खेलेका थिए ।

सेवचेन्कोको टोलीमा युरोपको उत्कृष्ट पाँच लिग खेल्ने कमै खेलाडी मध्येका एक जिन्चेन्कोको बाल्यकाल भने सरल रहेन । पुर्व शख्तर दोनेस्कका युवा टोलीका कप्तान जिन्चेन्कोले सिनियर टोलीबाट कहिले आफ्नो डेब्यु गर्न पाएनन् । युक्रेनको डोन्बासमा द्वन्द चर्किए पछि उनी परिवार सहित रुस भागेका थिए ।

तर, २०१६ को युरो पछि उनले फर्किएर हेर्नु परेन । युवा अवस्थामै उनले म्यानचेस्टर सिटीको सम्झौता पाए र युक्रेनका लागि नै खेल्ने निधो गरेका थिए ।

आन्द्रे यार्मोलेन्को- कप्तान

३१ वर्षिय यार्मोलेन्को प्रिमियर लिगका दर्शकका लागि नयाँ नाम हैनन् । २०१८ देखी वेष्ट ह्याममा रहेका यार्मोलेन्कोले प्रिमियर लिग खेलेको चार वर्ष भएको छ ।

राइट विङर र फर्वार्ड दुवै खेल्ने यार्मोलेन्कोको बाँया खुट्टामा जादु छ । नेदरल्यान्ड्स विरुद्ध ३-२ ले पराजित भए पनि उत्कृष्ट गोल गरेका यार्मोलेन्कोले नर्थ मेसेडोनिया विरुद्ध २-१ को जित निकाल्दा पनि गोल गरेका थिए ।

रुसमा जन्मिए पनि युक्रेनी क्लब डाइनामो किभमा उनले आफ्नो नाम बनाएका थिए । रुस सरकारले शरणार्थी भन्दै उनी सहित उनको परिवारलाई युक्रेन जान आग्रह गरेको थियो । उनले युवा टोली देखी सिनियर टोलीसम्म युक्रेनमा खेले र एक सिजन बोरुसिया डर्ट्मण्ड पनि पुगे ।

प्लेयर टु वाच- रुस्लान मालिनोभ्स्की

२८ वर्षिय मालिनोभ्स्की युक्रेनले बनाउने धेरै मुभहरुका योजनाकार हुन् । अट्याकिङ मिडफिल्डरको भूमिकामा खेल्ने गरेका मालिनोभ्स्कीले नेदरल्याण्ड्स विरुद्ध ३-२ को पराजयमा गोल गर्दा नर्थ मेसेडोनिया विरुद्ध २-१ को जितमा भने पेनाल्टीमा चुकेका थिए । उनी स्विडेन विरुद्धको खेलमा बेन्चमा थिए तर उनीमा प्रतिभाको कमी भने रहेको छैन ।

उनी सख्तरबाट पनि खेलिसकेका छन् । इटालियन क्लब एट्लान्टाले उनलाई ग्रिक क्लब गेन्कबाट किनेको थियो र त्यहाबाट उनले आफ्नो फुटबल करिअरमा नयाँ उचाइ हात परेका छन् ।

दुई सिजन एट्लान्टाले सिरी आ मा तेस्रो स्थानमा लिग सक्काउँदा मालिनोभ्स्कीको भूमिका निकै महत्वपूर्ण रहेको थियो र अब युक्रेनले युरो क्वार्टर-फाइनलमा इङ्ल्याण्ड विरुद्ध खेल्दा उनको प्रदर्शनले टोलीको भविष्य निर्धारण गर्न सक्ने छ ।

Click to comment

Trending