Euro 2020

आलोचकहरुको मुखमा ताल्चा लगाएका इंगल्याण्ड गोलकिपर

Published

on

युरो कपमा हालसम्म एक गोल पनि नखाएको इंगल्याण्डको लागि डिफेन्सको सबैभन्दा प्रभावशाली अन्तिम रेखाको रुपमा आफूलाई साबित गर्दै गोलकिपर जोर्डन पिकफोर्डले आलोचकहरुको मुखमा ताल्चा लगाएका छन् ।

रहिम स्टर्लिंग र ह्यारी केनले गोल गरेपछि वेम्ब्लीमा मंगलवार इंगल्याण्डले ५५ बर्षपछि जर्मनीलाई कुनै पनि प्रमुख प्रतियोगिताको नकआउट चरणमा हराएको थियो । उक्त जितपछि इंगल्याण्डले अब क्वार्टरफाइनलमा युक्रेनको सामना गर्न गइरहेको छ ।

इंगल्याण्डको जितमा स्टर्लिंग र केनको गोलले भुमिका खेलेपनि जितको आधार भने पिकफोर्डले नै खडा गरेका थिए ।

२७ बर्षिय पिकफोर्डले पहिलो हाफमा टिमो वेर्नरको प्रहारलाई राम्रो पोजिसन लिदै रोके भने दोश्रो हाफको शुरुवातमै काइ ह्याभर्ट्जले गरेको उत्कृष्ट प्रहारलाई एक्रोब्याटिक तरिकाले बचाउदै कर्नरका लागि पठाएका थिए ।

इंगल्याण्डले एक गोलको अग्रता पाइरहेको समयमा पिकफोर्ड अघि बढ्दै निश्चित गोलका लागि बलसंग अगाडी आएका थोमस मुलरसंगको दुरी कम गर्दै जर्मनीलाई बराबरी गोल गर्नबाट बचाएका थिए ।

“म हरेक हप्ता कडा अभ्यास गर्दै सबैभन्दा बेस्ट हुन खोजिरहेको हुन्छु । मैले दुई महत्वपूर्ण बचाउन सफल भएको थिए र त्यो पल मेरै लागि बनेको महसुस भएको थियो । वेम्ब्लीको माहौल पनि निकै राम्रो थियो । त्यसले हामीलाई अर्को उपलब्धिको लागि प्रेरित गर्न पुग्यो,” पिकफोर्डले भने ।

गत बर्ष एभर्टनको लागि निरन्तर गल्ति गर्दै आलोचनाको शिकार बनेका पिकफोर्डको लागि शनिबारको प्रदर्शन उनको व्यक्तिगत उचाईलाई पुन प्राप्ती गर्न मद्दतगार थियो।

एभर्टनको व्यस्थापक रहदा कार्लो एन्सलोट्टीले उनलाई सुध्रिनको लागि चेतावनी दिदै नोभेम्बरमा न्युकासल बिरुद्धको खेलका दौरान ड्रप गरिदिएका थिए ।

मैदान बाहिर उनले गर्दै आएको कृयाकलाप माथि पनि प्रश्न चिन्ह खडा हुदै आएको थियो । यसको कारण थियो २०१९ मा आफ्नो शहर सन्डरल्याण्डमा उनकी मंगेतरमाथि दुव्र्यवहार हुंदा उनले निम्त्याएको झगडा ।

मार्चमा इंगल्याण्डको तीन वटै बिश्वकप छनौट खेलहरुमा निक पोपले स्थान पाउदा पेटको मांसपेसी समस्याले बाहिर बसेका पिकफोर्डले आफ्नो स्थान फेरि पाउनेमा आशंका थियो ।

तर उनले इंगलिस सिजन राम्रो सक्काउनुका साथै पोप घाइते भएपछि पिकफोर्डले युरोमा मौका पाएका हुन् ।

इंगल्याण्ड प्रशिक्षक ग्यारेथ साउथगेटले पिकफोर्डलाई नम्बर एक गोलकिपरको रुपमा समर्थन जनाउदै आउदा उनले आफ्नो गैरजिम्मेवार गल्तिहरु पनि सुधार्दै आएका छन् ।

बिश्व फुटबलमा इंगल्याण्डको नम्बर एक गोलकिपरको पोजिसनलाई लिएर धेरै प्रतिकृया आउने गरेको छ । अहिले हामीसंग निकै राम्रो गोलकिपर छन् । उनले जति समय इंगल्याण्डको लागि खेलेको छन्, त्यति खेर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्, डिफेण्डर ह्यारी मग्वायरले भने ।

आत्मबिश्वासले भरिपूर्ण

लगातार चार खेलमा क्लिन सिट राख्दै पिकफोर्ड साउथगेटको बिश्वासमा खरो उत्रदै आफू ठूलो खेलको खेलाडी रहेको साबित गर्दै आइरहेका छन् ।

उनी इंगल्याण्डको २०१८ को बिश्वकप अभियानमा हिरो नै थिए । कार्लोस बाकाको पेनाल्टी बचाउदै उनले इंगल्याण्डलाई क्वार्टर फाइनलमा महत्वपूर्ण जित दिलाउन सफल भएका थिए ।

उनले इंगल्याण्डको पेनाल्टी सुटआउटको दुर्भाग्य मात्र समाप्त गरेनन् , २०१९ को नेसन्स लिग फाइनलमा स्विट्जरल्याण्डबिरुद्धको टाई ब्रेकरमा जित पनि दिलाए । योसिप डर्मिचको प्रहार बचाउनु अघि उनी आफैले स्विस गोलकिपर यान सोमरबिरुद्ध गोल पनि गरेका थिए ।

क्लबका लागि उनकोत्रुटिपूर्ण प्रदर्शनले राष्ट्रिय टोलीबाट खेल्दाको आत्मबिश्वासमा कमि आउन दिएको छैन । र उनको बलियो व्यक्तित्वले उनलाई इंगल्याण्डको जारी युरो टोलीमा एक लिडरको रुपमा पनि खडा गरेको छ ।

“मलाई पिकफोर्डले आफूलाई सम्हाल्न सक्ने खुबीका कारण मन पर्छ । एभर्टनको जर्सीमा त्यो नदेखिदा उनी आलोचित हुनु परेको थियो । इंगल्याण्डमा जर्सीमा उनको आत्मबिश्वास अझै बढेको छ, उनी कन्फिडेन्ट हुदै परिस्थिति सम्हाल्न सक्छन्,” पुर्व इंगल्याण्ड डिफेन्डर रियो फर्डिनान्डले भने ।

उनको अपेक्षामा खरो नउत्रदा डिफेन्डरहरुलाई ठूलो स्वरले गाली गर्दै पिकफोर्ड आफ्नो स्तरलाई पनि माथि राख्दै आएका छन् ।

१९६६ मा बिश्वपक जित्ने क्रममा महत्वपूर्ण भुमिका खेलेका कारण नै गोर्डन ब्यांक्सलाई इंगल्याण्डको सर्वकालीन महान गोलकिपरको रुपमा हेर्ने गरिएको छ ।

इंगल्याण्डले युरो कप जित्ने हो भने पिकफोर्डपनि त्यही पंक्तिमा उभिन्न सक्छन् । इंगलिस टिमको बोझबाट उनी लेजेण्ड बन्न सक्छन् ।

Click to comment

Trending