Euro 2020

जर्मनी र इंगल्याण्डको पांच क्लासिक भिडन्त

Published

on

जारी युरो कपको अर्को ब्लकबास्टर भिडन्तमा इंगल्याण्डले जर्मनीसंगको आफ्नो प्रतिद्वन्दितालाई वेम्ब्लीमा मंगलवार पुन ताजा गर्दैछ । अन्तिम १६ को उक्त भिडन्तमा एक पटक फेरि जर्मनीलाई नै प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।

इंगलिस फुटबलको सबैभन्दा ठूलो इतिहास १९६६ मा वेम्ब्लीबिरुद्ध नै रहेको थियो । जब उसले बिश्वकपमा कब्जा गरेको थियो । तर त्यसयता भने इंगल्याण्डले चार पटकको बिश्वकप बिजेतालाई कुनै पनि प्रमुख प्रतियोगिताहरुमा हराउन सकेको छैन ।

५५ बर्षदेखि कुनै पनि ठूलो उपाधि जित्न असफल इंगल्याण्ड जर्मनीबिरुद्ध पनि जित हासिल गर्ननसक्दा हेरौं यी दुई देशबीचको इतिहासको पांच क्लासिक भिडन्तहरुः

१९६६ बिश्वकप फाइनल — इंगल्याण्ड ४ वेष्ट जर्मनी २

१९६६ बिश्वकप फाइनलपछि जियोफ हस्र्टको ह्याट्रिक उनको घरमा लोक साहित्यको रुपमा स्थापित भएपनि जर्मनीमा भने इंगल्याण्डको तेश्रो तथा महत्वपूर्ण गोललाई कसैले सम्झन चाहदैनन् । हस्र्टको तेश्रो गोल बिवादास्पद रहन पुगेको थियो ।

उल्फग्यांग वेबरले अन्तिम समयमा गोल गरेपछि दुवै टोली २-२ को बराबरी रहेका थिए । ३० मिनेटको अतिरिक्त समयको पहिलो हाफमा भएको हस्र्टको गोलले इंगल्याण्डलाई पहिलो र हालसम्मको एउटै बिश्वकप जित्ने आधार खडा गर्यो ।

१९६६ को बिश्वकप उपाधि जितेपछि इंग्लिस टोली

हस्र्टले प्रहार गरेको बल क्रसबारको मुनि लाग्दै फर्किएपछि अजरबैजानका सहायक रेफ्रि तौफिक बाह्रामोभले गोल दिएका थिए । अतिरिक्त समयको अन्तिम मिनेटमा हस्र्टले ह्याट्रिक पुरा गर्दैगरेको गोलमा बिबिसिका केनेथ वोल्स्टनहोमको कमेन्टेरी अमर बन्न पुगेको थियो ।

“केही मानिसहरु मैदानभित्रै पुगिसकेका छन् । उनीहरुलाई सक्किएको जस्तो लागि सकेको छ । अब भने समाप्त भइसक्यो । चार गोल भयो,” वोल्स्टनहोमले रुदै भनेका थिए ।

१९७० बिश्वकप — इंगल्याण्ड २ वेष्ट जर्मनी ३

वेष्ट जर्मनीले चार बर्षपछि नै मेक्सिकोको गर्मीमा आफ्नो बदला लियो । तर सबैभन्दा ठूलो पिडा डिफेन्डिंग च्याम्पियनलाई जर्मनीले गरेको सनसनीपूर्ण पुनरागमले दियो ।

एलन मुलेरी र मार्टिन पिटर्सले गोल गर्दै इंगल्याण्डलाई २-० को अग्रता दिलाएका थिए । तर फ्रान्ज बेकनबाउरले गोल गर्दै पहिलो हाफमै दुरी छोट्याएपछि जर्मनीले दोश्रो हाफमा उवे सिलरको हेडरमार्फत बराबरी गर्यो ।

गर्ड मुलरले अतिरिक्त समयमा गोल गर्दै इंगल्याण्डको मुटु छिया छिया पारेका थिए ।

१९९० बिश्वकप — इंगल्याण्ड १ जर्मनी १ (जर्मनी टाइ ब्रेकरमा बिजयी)

इंगल्याण्ड पेनाल्टी सुटआउट संगको दर्दनाक सम्बन्ध १९९० बिश्वकपका दौरान इटालीमा शुरु भएको थियो जब उ दोश्रो पटक फाइनल पुग्नबाट थोरैले मात्र चुकेको थियो ।

आन्द्रेस ब्रेह्मको फ्रि किक गोललाई ग्यारी लिनेकरले जवाफ दिदै टुरिनमा भएको सेमिफाइनल टाइ ब्रेकरका लागि धेकेलेका थिए । जर्मनीको निशाना अचुक रहदा इंगल्याण्डका स्टुवर्ट पिएर्स र क्रिस वाडलले मौका खेर फालेका थिए ।

पेनाल्टीमा गोल गर्न असफल इंगल्याण्डका खेलाडीहरुको लामो सुचीको शुरुवाती दुई नाम पिएर्स र वाडल नै थिए ।

१९९६ युरो कप — इंगल्याण्ड १ जर्मनी १ (जर्मनी पेनाल्टीमा ६-५ ले बिजयी)

जारी युरो शुरु हुनु अघि इंगल्याण्ड प्रशिक्ष्ँक ग्यारेथ साउथगेटले आफू राम्रो टोली रहेको साबित हुनका लागि सेमिफाइनल प्रवेश गर्नै पर्ने बताएका थिए । १९९६ कोयुरो कपपछि इंगल्याण्ड अहिलेसम्म सेमिफाइनल पुग्न सकेको छैन ।

आफ्नै भुमिमा भएको १९९६ को युरोकपको अन्तिम चारको निर्धारित र अतिरिक्त समय बराबरीमा टुंगिएपछि जर्मनीले ६-५ ले बाजी मार्यो । खेलमा पेनाल्टी मिस गर्ने एक मात्र खेलाडी साउथगेट नै थिए ।

पेनाल्टीमा गोल गर्न चुकेका ग्यारेथ साउथगेट

स्कटल्याण्ड, नेदरल्याण्ड्स र स्पेनलाई हराउदै सेमिफाइनलसम्म स्थान बनाएको इंगल्याण्डको मनोबल निकै उच्च थियो । एलन सियररले गोल गर्दै अग्रता दिलाएपनि स्टेफन कुन्ट्जले बराबरी गोल गर्दै खेल अतिरिक्त समयमा धकेले ।

साउथगेटले पेनाल्टीमा गोल गर्न नसक्दा जर्मनी फाइनलमा पुग्यो र अन्तत युरो कप पनि जित्यो ।

२०१० बिश्वकप — जर्मनी ४ इंगल्याण्ड १

हस्र्टको बिवादास्पद गोलले दिएको पिडाको बदला जर्मनीले४४ बर्षपछि दक्षिण अफ्रिकामा लियो । ब्लुमफोन्टेनमा आकर्षक शुरुवात गरेको जर्मनीका लागि पहिलो हाफमा मिरोस्लाभ क्लोज र लुकास पोडोल्स्कीले अग्रता दिलाएका थिए ।

म्याथ्यु अप्सनले इंगल्याण्डका लागि एक गोल फर्काए । त्यसपछि फ्रांक लाम्पार्डको प्रहार क्रसबारको मुनि ठोक्किएर गोल लाईन क्रस गरेको स्पष्ट देखिएपनि गोललाई प्रविधि नरहेका कारण इंगल्याण्डको गोलले मान्यता पाएन ।

चार बर्षपछि बिश्वकप जित्न गइरहेको जर्मनीको युवा पुस्ता रहेको टोलीले दोश्रो हाफमा अर्को सशक्त प्रदर्शन दियो । थोमस मुलरले दुई गोल गरेपछि जर्मनले आरामले खेल जित्यो । इंगल्याण्डले मात्र लाम्पार्डको गोल चुक्चुकायो ।

Click to comment

Trending