Headline

अर्को कोपा, अर्जेन्टिना र मेस्सीलाई उपाधिको खडेरी तोड्ने अर्को मौका

Published

on

आइतबारदेखि शुरु हुन गइरहेको कोपा अमेरिकाले अर्जेन्टिनालाई २८ बर्षदेखिको उपाधि खडेरी समाप्त गर्न अर्को मौका दिनेछ । तर घरेलु भुमिबाट चीर प्रतिद्वन्दी ब्राजिलमा प्रतियोगिता सरेपछि अर्जेन्टिना र बिशेष गरि उसका बिश्व सुपरस्टार मेस्सीलाई चुनौति थपिएको छ ।

यो बर्ष कोलम्बियासंगै सह आयोजक रहको अर्जेन्टिनाले कोरोनाको संक्रमण बढेपछि प्रतियोगिता सार्नु परेको थियो । कोलम्बियामा भने सरकारबिरोधी प्रदर्शन हिंसात्मक बनेपछि त्यहांको आयोजना असम्भव देखिएको हो ।

ब्रजिलले लगातार दोश्रो पटक प्रतियोगिताको आयोजना गर्न गइरहेको हो ।

पछिल्लो पटक अर्जेन्टिनालेकोपा अमेरिकाको उपाधि १९९३ मा जितेको थियो । बिश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगितामा उसले १४ औं पटक नाम लेखाएको थियो ।

२८ बर्षअघि हालका एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओने र ग्याब्रियल बाटिस्टुटाले सेन्टर फर्वार्डको रुपमा लगातार गोल गर्दा अर्जेन्टिनाको पछिल्लो प्रमुख उपाधि यात्रा सम्भव भएको थियो । तर त्यसयता भने अर्जेन्टिनी फुटबलमा उपाधिको खडेरी लागेको छ ।

मेस्सीले २००२ को ओलम्पिक्समा स्वर्ण पटक त जिते तर अण्डर २३ प्रतियोगिताको उपलब्धिलाई अर्जेन्टिनाले सिनियर फुटबलसंग जोडेर हेर्न सक्दैन ।

१९९३ पछि अर्जेन्टिना चार पटक कोपाको फाइनलमा पुगेपनि खाली हात फर्किदै आएको छ । दोश्रो स्थानमा चित्त बुझाउन नचाहने मेस्सी जस्ता खेलाडीको उपस्थिति र आफ्नै गर्विलो इतिहास बोकेको अर्जेन्टिनी फुटबलको लागि यो निकै नै कठिन यात्रा रहदै आएको छ ।

“कोपा जित्नु जहिल्यै पनि हाम्रो सपना रहदै आएको छ । प्रतिस्पर्धा जस्तो सुकै होस हामी राष्ट्रिय टोलीको रुपमा जित्न चाहन्छौं । अहिले टिममा रहेका युवा र अनुभवी खेलाडीहरुको सपना पनि एकै छ,” मेस्सीले भने ।

जुन २४ मा मेस्सीले आफ्नो ३४ औं जन्मदिन मनाउन गइरहेका छन् । बार्सिलोनाका लागि एकपछि अर्को उपलब्धि हात पारिसकेपनि निलो र सेतो जर्सीमा पहिलो पटक उपाधि जित्न मेस्सीको लागि सम्भवत यो अन्तिम मौका हुन सक्छ ।

प्रतियोगितालाई ब्राजिल सारिदा अर्जेन्टिनालाई गाह्रो पक्कै पनि हुनेछ तर यसको एउटा फाइदा पनि छ । पछिल्लो पटक २०१९ कोसंस्करणको सेमिफाइनलमा ब्राजिलसंग २-० ले पराजित हुंदा अर्जेन्टिना खराब रेफ्रि शिकार भएको मानिएको थियो ।

आफूबिरुद्ध निर्णयहरुको सामना गरेको अर्जेन्टिनी टोलीले स्विकार नगरेपनि यो उनीहरुको लागि बदला लिने राम्रो मञ्च पनि हो । र आफ्नो फुटबल इतिहासमा अर्को अध्याय लेख्ने राम्रो अवसर पनि ।

१० टोलीलाई दुई समुहमा बिभाजित गरिएको प्रतियोगितामा अर्जेन्टिनाको समुहमा बोलिभिया, चिली, पाराग्वे र उरुग्वे रहेका छन् । मात्र एक टोली लिग चरणपछि बाहिरिने छ । क्वार्टर(फाइनलसम्मकोयात्रा सहज देखिएपनि अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनी फुटबललाई कठिन मान्छन् ।

“फुटबल निकै प्रतिस्पर्धात्मक भइसकेको छ र गाह्रो पनि । रोकिएको बल, खराब निर्णयहरुले पनि तपाईलाई प्रतियोगिताबाटै बाहिरको बाटो देखाउन सक्छ,” स्कालोनीले भने ।

“अहिले न्याय गर्ने भनिएको भिडियो असिस्टेन्ट रेफ्रिले तपाई जतिसुकै बलियो टिम भएपनि तपाईलाई नक आउट गर्न सक्छ । अन्त्यमा हकदार टिमको मतलब हुदैन । गोल र जितले मात्र मतलब राख्छ,” उनले थपे ।

स्कालोनीले निर्माण गरेको टोली बलियो देखिन्छ । पेरिस सेन्ट जर्माइनका एन्जल डि मारिया, भिलारियालका हुवा फोइथ र इन्टर मिलानका लौटारो मार्टिनेज गत सिजन आ-आफ्नो क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै देशको लागि खेल्न आएका छन् ।

२०२२ को दक्षिण अमेरिकी बिश्वकप छनोटमा पनि लगातार ६ खेल अपराजित रहेको अर्जेन्टिनाको लागि स्कालोनीले भित्र्याएका युवा खेलाडीहरुले पनि सराहनीय प्रदर्शन गरेका छन् ।

तर एक पटक फेरि सबै आखा मेस्सीमै हुनेछ र राष्ट्रिय टोलीका लागि जित्न नसकेको उपाधि मै सबै केन्द्रित रहनेछ ।

Click to comment

Trending