अन्तर्राष्ट्रिय

धवनको कप्तानीमा भारतीय टोली सार्वजनिक, पाँच नयाँ अनुहार 

Published

on

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले भारतले अर्को महिना गर्ने श्रीलंका भ्रमणको लागि २० सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ । 

हाल भारतको पहिलो टोली वर्ल्ड टेस्ट च्याम्पियनसिपको लागि इंग्ल्यान्डमा रहेको छ । टेस्ट च्याम्पियनसिप पछि भारतले अगस्टमा इंग्ल्यान्ड विरुद्ध पाँच टेस्टको शृंखला खेल्दै छ । कोरोनाका कारण विश्वभर क्वारेन्टिनका कडा नियम लागू भएका कारण भारतले श्रीलंका भ्रमणका लागि छुट्टै टोली बनाएको हो । त्यसैले कप्तान बिराट कोहलीको अनुपस्थितिमा ओपनर ब्याट्सम्यान शिखर धवनलाई कप्तान नियुक्त गरिएको छ ।   

त्यस्तै मुख्य प्रशिक्षक रवी शास्त्रीको अनुपस्थितिका कारण बिसीसीआईले श्रीलंका भ्रमणका लागि भारतीय क्रिकेट टोलीका पुर्व कप्तान द्रविडलाई प्रशिक्षक नियुक्त गरेको छ । हाल नेशनल क्रिकेट एकेडेमी (एनसीए) को प्रमुख रहेका द्रविडले यस अघि भारत ए र यु१९ टोली सम्हालेका भए पनि पहिलो पटक राष्ट्रिय टोली हेर्न लागेका हुन् । 

द्रविडको प्रशिक्षणमा भारतले सन् २०१८ मा न्युजिल्याण्डमा आयोजना भएको यु१९ विश्वकपको उपाधि जितेको थियो । त्यस्तै अहिले भारतीय टोलीमा रहेका धेरै खेलाडीहरूलाई पनि द्रविडले प्रशिक्षण दिइसकेका छन् । अहिले श्रीलंका भ्रमणमा जाने प्रायजसो खेलाडीहरूसँग पनि द्रविडले काम गरेको अनुभव छ ।

द्रविडलाई केही वर्ष पहिले पनि बिसीसीआईले भारतीय टोलीको प्रशिक्षक बन्नका लागि गरेको प्रस्ताव उनले अस्वीकार गरेका थिए । द्रविडले आफू भारतीय टोलीको प्रशिक्षक बन्नु भन्दा युवा खेलाडी उत्पादनमा लाग्ने भन्दै बिसीसीआईको प्रस्ताब नकारेका थिए । 

सार्वजनिक गरिएको टोलीमा पाँच नयाँ अनुहार, देवदत्त पड्डिकल, रुतुराज गैकवाड, नितिश राना, कृष्णप्पा गौथम र चेतन सकारियाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।    

भारतले श्रीलंका भ्रमणका क्रममा समान ३-३ एकदिवसीय र ट्वान्टी ट्वान्टी खेल्ने छ । एकदिवसीय खेल जुलाई १३, १६ र १८ मा तथा ट्वान्टी ट्वान्टी जुलाई २१, २३ र २५ मा आयोजना हुनेछ । 

भारतीय टोली – शिखर धवन (कप्तान), भुवनेश्वर कुमार (उपकप्तान), पृथ्वी श, देवदत्त पड्डिकल, रुतुराज गैकवाड, सुर्यकुमार यादव, मनिष पाण्डे, हार्दिक पान्ड्या, नितिश राना, इशान किशान, सन्जु सामसन, युज्बेन्द्र चाहल, राहुल चाहर, कृष्णप्पा गौथम, कुर्नाल पान्ड्या, कुलदिप यादव, वरुण चक्रवर्ति, दिपक चाहर, नवदिप सैनी र चेतन सकारिया    


 

Click to comment

Trending