Headline

म्यानचेस्टर सिटी र चेल्सीः बाहिरियादेखि युरोपियन एलिटसम्म

Published

on

कुनै समय स्थापित युरोपियन शक्तिहरुलाई स्तब्ध बनाउने गरेका च्याम्पियन्स लिगका दुई फाइनलिस्ट म्यानचेस्टर सिटी र चेल्सी पहिलेको बाहिरियाबाट अहिले युरोपियन एलिटमा परिणत भइसकेका छन् ।

शनिबार बिश्व फुटबलको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा भिड्दा पेप ग्वार्डियोलाको सिटी पहिलो उपाधिका लागि उत्रनेछ भने चेल्सी दोश्रो पटक युरोपियन च्याम्पियन बन्ने दाउमा हुनेछ ।

पोर्टोमा हुने अल–इङ्गलिस फाइनल अघि हेरौ केही प्रमुख घटनाहरु जसले यी दुई क्लबहरुलाई पूर्ण रुपमा युरोपको शक्तिको रुपमा परिणत गर्न सफल भयो ।

अब्रामोभिचको पैसा

२००३ मा रुसी अर्बपति रोमन अब्रामोभिचले चेल्सी किन्नु अघि लण्डन क्लब इङ्गल्याण्डको प्रथम श्रेणीको फटबलमा जम्मा एक पटक उपाधि जितेको थियो । त्यो पनि १९५५ मा । केही अन्य घरेलु प्रतियोगिताहरु जित्दै १९९० को दशकमा उचित दिशा उन्मुख भएपनि प्रिमियर लिगको उपाधि जित्नका लागि चेल्सीले चुनौति प्रस्तुत गर्न भने सकिरहेको थिएन ।

रुसमा राजनीतिक पहुँच पनि सशक्त रहेका अब्रामोभिचले चेल्सीको खरिदपछि केही राम्रा खेलाडीहरु भित्र्याए । पहिलो लटका राम्रा खेलाडीहरुमा क्लाउड मकेलेले र हर्नान क्रेस्पो थिए भने प्रशस्तै पैसा बगाउदै चेल्सीले बिश्व फुटबलका उत्कृष्ट खेलाडीहरुको राम्रो टोली खडा गर्न थाल्यो ।

माउरिन्होको आगमन

इटालियन व्यवस्थापक क्लाउडियो रानिएरी र उनले गरेको खरिदले चेल्सीलाई २००३–०४ को सिजनमा दोश्रो स्थान त दियो तर निकै भोकाएका अब्रामोभिचको अपेक्षाले उनलाई जागिरमा टिकाइ राख्न सकेन ।

२००४ मा स्ट्यामफोर्ड ब्रिजमा होजे माउरिन्हो प्रवेश गरे । २००३–०४ को सिजनमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई च्याम्पियन्स लिग जिताएपछि माउरिन्होले आफैलाई स्पेसल वान रहेको घोषणा गरेका थिए ।

माउरिन्हो चेल्सीको टोलीमा फिट बसे । उनले पहिलो सिजनमै चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाए र अर्को सिजन उपाधि रक्षा गर्दै म्यानचेस्टर युनाइटेड र आर्सनलको दबदबालाई नराम्ररी ध्वस्त पारे ।

इतिहादमा नियन्त्रण

६० को दशकमा म्यानचेस्टर सिटी केही हदसम्म उदाउन सकेपनि दशकौंसम्म शहरी प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडको छायाँमै रहन पुग्यो । सिटीको अवस्था यति नाजुक बन्दै गयो की ९० को दशकको अन्त्यमा उ तेश्रो श्रेणीसम्म झर्न पुगेको थियो ।

पुर्व थाइ प्रधानमन्त्री थाक्सिन सिनावात्राले २००७ मा क्लब किने तर अर्को बर्ष नै अबु धाबी युनाइटेड ग्रुपका शेख मन्सुरले क्लब टेक ओभर गरे र इङ्गलिस फुटबलको मुहार नै परिवर्तन गरिदिए ।

मैदान भित्र र बाहिर शेख मन्सुरले आर्थिक क्रान्ति नै लिएर आए । उनको आगमनपछि थुप्रै पैसा खर्च गर्दै ब्राजिलियन स्टार रोबिन्होलाई भित्र्याउदै पहिलो ठूलो सम्झौता गरे । अन्य स्टारहरुलाई पनि भित्र्याएका मन्सुरले लामो दौडका लागि टिमको तैयारीमा पनि ध्यान दिन थाले ।

सिटी उपाधि

अथाह पैसा खर्च गरे पनि सिटीले रातारात उपाधि त जितेन तर उ बिस्तारै इङ्गलिस फुटबलको शिर्ष स्थानमा पुग्न थाल्यो । २०११ मा एफए कप जित्दा सिटीले ३५ बर्षदेखिको उपाधि खडेरीलाई समाप्त गरेको थियो ।

अर्को सिजन सर्जियो अगुएरोले खेल सकिन ९० सेकेण्ड अगाडी गरेको गोलमार्फत सिटीले इङ्गलिस फुटबलकै सबैभन्दा रोमाञ्चक सिजनमा म्यानचेस्टर युनाइटेडलाई मात्रै एक अंकले पछि पार्दै पहिलो पटक प्रिमियर लिगको उपाधि जित्यो ।

त्यसयता सिटी टप टुबाट मात्र दुई पटक बाहिरि पुगेको छ भने यस दौरान म्यानचेस्टरको राजाको रुपमा स्थापित भइसकेको छ ।

चेल्सीलाई च्याम्पियन्स लिग

स्ट्यामफोर्ड ब्रिजमा आफ्नो पहिलो व्यवस्थापनमा नजिक पुगेर पनि माउरिन्होले चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन चुकेका थिए । मस्कोमा अभ्राम ग्रान्टको व्यवस्थापनमा २००८ को च्याम्पिन्स लिग फाइनलमा चेल्सी म्यानचेस्टर युनाइटेडसँग पेनाल्टीमा पराजित भयो ।

तर अब्रामोभिचले आफ्नो सपना २०११–१२ को सिजनमा पुरा गरे । रोबर्टो डि माटियो व्यवस्थापक रहदा चेल्सीले फाइनलमा बायर्न म्युनिखलाई पेनाल्टीमा हराउदै पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो । त्यसयता चेल्सीले दुई पटक युरोपा लिग जितेको छ ।

ग्वार्डियोलाको आगमन

सिटीले २०१२ मा पहिलो पटक प्रिमियर लिगको उपाधि जित्दा रोबर्टो मान्सिनी व्यवस्थापक थिए भने म्यानुएल पेलेग्रिनीले दुई सिजनपछि उक्त उपलब्धि दोहोर्याएका थिए ।

तर पुर्व बार्सिलोना तथा बायर्न म्युनिख प्रशिक्षक पेप ग्वार्डियोलाको आगमन पछि मात्रै सिटी इङ्गलिस फुटबलको शक्तिको रुपमा स्थापित भएको हो । आफ्नो पहिलो सिजनमा ग्वार्डियोला तेश्रो भए तर त्यसको चार सिजनमा उनले तीन पटक प्रिमियर लिग उपाधि जितिसकेका छन् ।

बार्सिलोनालाई ग्वार्डियोलाले दुई पटक च्याम्पियन्स लिग जिताएका थिए तर त्यसपछि भने उनी एक दशकदेखि युरोपमा राज गर्नको लागि पर्खदै आइरहेका छन् ।

उल्टिएको सिटीको प्रतिबन्ध

शनिबार सिटीले च्याम्पियन्स लिग जित्ने हो भने उसले जुलाई १३, २०२० लाई एक महत्वपूर्ण मितिको रुपमा हेर्नेछ । युरोपियन फुटबलको सर्वोच्च निकायले लगाएको दुई बर्षको युरोपमा खेल्ने प्रतिबन्धलाई कोर्ट अब आर्बिट्रेसन अफ स्पोर्ट्सले उल्टाइदिएको मिति यही थियो ।

सिटीलाई फिफाले तय गरेको फाइनान्सियल फेयर प्ले मिचेको आरोप लगोको थियो । तर त्यसबिरुद्ध सिटीले अपिल पनि गरेको थियो । एक बर्ष भन्दा कम समयमा सिटी अहिले युरोपकै ठूलो पुरस्कार जित्ने संघारमा रहेको छ ।

Click to comment

Trending