अन्तर्राष्ट्रिय

अष्ट्रेलियन क्रिकेटका पाँच ठूला विवाद

Published

on

खेलकुद र विवाद एक अर्काका पर्याय जस्तै हुन् । क्रिकेटलाई भलाद्मीहरुको खेल भनिए पनि विवादबाट अछुतो रहेको छैन । खेलाडीहरुले खेल भावना बिपरित कार्य गर्ने गर्दछन् र खेललाई विवादमा तान्छन् । खेलाडीहरुले यसका लागि ठुलै आलोचना समेत खेप्न पर्दछ भने कुनै समय ठुलै सजाय भोग्न परेको पनि छ ।

कुनै समय विश्व क्रिकेटमा राज गरेको अष्ट्रेलिया पनि विवादबाट अछुतो रहन सकेको छैन । अझ अर्को शब्दमा भन्दा अष्ट्रेलिया क्रिकेट खेलाडीहरु खेल भवना बिपरित कार्य गर्नका लागि पनि पहिलो नम्बरमा नै पर्ने गर्दछन् जसले ठुलो विवादहरु पनि निम्तिएका छन् ।

अष्ट्रेलियन क्रिकेटलाई बिवादको घेरामा तान्ने घटनाहरु कस्ता छन् त ?

५. ट्रेभर च्यापेलको अन्डर–आर्म बल

यो सन् १९८१ को कुरा हो । घरेलु टोली अष्ट्रेलिया र न्युजिल्याण्ड बीचको पाँच खेलको श्रृं खला अन्तर्गतको तेश्रो खेलका क्रममा अन्तिम बलमा न्युजिल्याण्डलाई जितका लागि सात रन र बराबरीका लागि एउटा छक्का चाहिएको थियो । श्रृंखला १–१ को अवस्थामा रहेको थियो ।

उक्त खेलमा कप्तान थिए अहिलेका चर्चित कमेन्टेटर ग्रेग च्यापेल र बलर थिए उनका भाई ट्रेभर । ग्रेगले ट्रेभरलाई अन्डर–आर्म बलिङ गर्न लगाए । ट्रेभरले अन्डर–आर्म बलिङ गरे पछि ब्याट्सम्यान ब्रायन म्याककेन्जीले बल रोक्ने बाहेक केहि गर्न सकेनन् तर रिसले ब्याट फ्याके । खेल अष्ट्रेलियाले ६ रनले जित्दै शृंखलामा २–१ को अग्रता लिन सफल भयो ।

त्यस समयमा अन्डर–आर्म बलिङलाई आईसीसीले पनि मान्यता दिने गर्दथ्यो तर त्यो खेल भावना बिपरित मानिन्थ्यो । यस्तो कार्यका लागि ग्रेग च्यापेलको ठुलो आलोचना भयो र आईसीसीले अन्डर–आर्म बलिङमा प्रतिबन्ध लगायो ।

४. लागु औषध प्रयोगका कारण शेन वार्नको प्रतिबन्ध

विश्व क्रिकेटले पाएको सबैभन्दा राम्रा र खतरनाक लेग स्पिनर हुन् शेन वार्न । उनको बलिङको सामु धेरै ब्याट्सम्यानहरु क्रिजमा टिक्न सक्दैनथे । तर सन् २००३ को विश्वकप अघि वार्न एक बर्ष मैदान बाहिर बस्नु पर्यो ।

विश्वकप खेल्नका लागि वार्न दक्षिण अफ्रिकामा रहेका थिए । उनले उक्त विश्वकप पछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा समेत गरेका थिए । तर विश्वकप अघि प्रतिबन्धित औषधीको परिक्षण (डोपिङ्ग) का लागि गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आयो र  पहिलो खेल पनि खेल्न पाएनन् ।

उनले प्रतिबन्ध लगाएको औषधी प्रयोग गरेका कारण क्रिकेट अष्ट्रेलियाले उनलाई एक बर्षको लागि प्रतिबन्ध गर्ने निणर्य गर्यो । उनले उक्त औषधी आफ्नो वजन घटाउन प्रयोग गरेको भए पनि त्यो आईसीसीले प्रतिबन्ध गरेको औषधीमा परेको थियो ।

३. सौरव गांगुलीलाई आउट गराउन माइकल क्लार्कले लिएको क्याच

सन् २००८ मा अष्ट्रेलियाले गरेको भारत भ्रमणको खेलका क्रममा घटेको घटना हो यो । भारत र अष्ट्रेलिया बीचको दोश्रो टेस्टको चौथों पारीमा सौरव गांगुली र महेन्द्र सिंह धोनी क्रिजमा रहेका थिए । तीन सय ३३ रनको विशाल लक्ष्य पाएको भारत पाँच विकेटको नोक्सानीमा १३७ रनको अवस्थामा रहेको थियो ।

ब्रेट लीको बलमा गांगुलीको ब्याटमा एज लग्यो र थर्ड स्लिपमा बसेका माइकल क्लार्कले क्याच समाते । क्लार्कले क्याच लिनु अघि बल मैदानमा ठोक्किएको थियो । तर क्लार्कले क्याच लिएको जसरि सेलिब्रेट गर्न थाले र उनलाई साथ दियो अष्ट्रेलिया टोलीले ।

गांगुली भने मैदानमा पहिले ठोक्किएको हो कि भन्न थाले । तर अष्ट्रेलियाका कप्तान रिकी पोन्टिङले गांगुली आउट नै भएको भन्दै अम्पायरहरुसँग बहस गर्न थाले । अम्पायरहरुले पनि गांगुलीलाई आउट दिए र उनी क्रिज छाड्न बाध्य भए ।

रिप्ले हेर्दा क्लार्कले बल समाउनु अघि बल मैदानमा ठोक्किएर क्लार्कले समातेको देखायो । गांगुलीको विकेटको पतन पछि भारत लामो समय क्रिजमा टिक्न सकेन र खेल एक सय २२ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

२. डिआरएसमा नै स्टिभ स्मिथको बेइमानी 

सन् २०१७ मा घरेलु टोली भारत विरुद्धको टेस्टमा अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ गलत तरिकाले डिआरएस लिनका लागि गरेको प्रयासका कारण विवादमा तानिएका थिए । उक्त टेस्टका क्रममा उमेश यादवको बल सिधै गएर स्मिथको प्याडमा लाग्यो र अम्पायरले एलबीडब्लु दिए । स्मिथ डिआरएस लिन आतुर थिए ।

उनले अर्को एन्डमा रहेका पिटर ह्यान्ड्सकम्बसँग सल्लाह लिए र ड्रेसिङ रुम तर्फ इंगित गर्दै डिआरएस लिने कि नलिने सोध्न थाले । यो कुरा भारतीय टोलीलाई मन परेन । भारतीय टोलीका कप्तान बिराट कोहलीले यस विषय अम्पायरहरुसँग गएर छलफल गर्न थाले । अम्पायरले पनि स्मिथको यो चतुर्याइ थाहा पाएर र यस्तो गर्न नपाउने भन्दै उनले डिआरएस लिने निर्णय खारेज गर्दे र क्रिज छाड्न भने । अन्तत स्मिथ आउट हुँदै पेभेलियन फर्किए ।

नियम अनुसार कुनै पनि ब्याट्सम्यानले डिआरएस लिन चाहेको खण्डमा उसले नन–स्ट्राइकर ब्याट्सम्यानलाई सोध्न सक्नेछन् भने त्यस बाहेक अन्यसँग यसको लागि सोधखोज गर्न पाइँदैन । बलर हो भने उसले फिल्डरहरुसँग भने छलफल गर्न पाउँछ ।

१. बल ट्याम्परिङ

सायद क्रिकेटमा पछिल्लो समय घटेको सबैभन्दा ठुलो घटना यही हो । यस घटना पछि अष्ट्रेलियन टोलीका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई क्रिकेट अष्ट्रेलियाले एक बर्षको प्रतिबन्ध लगायो भने ब्याट्सम्यान क्यामरुन ब्यानक्रफ्टले पनि नौं महिनाको प्रतिबन्ध खेप्न पर्यो ।

त्यस्तै स्मिथलाई दुई बर्षका लागि तथा वार्नरलाई आजीवन कप्तानी गर्न नपाउने गरि प्रतिबन्ध लगायो ।

के थियो त घटना ?

सन् २०१८ मा दक्षिण अफ्रिका विरुद्धको टेस्टका क्रममा ब्यानक्रफ्टले बल ट्याम्परिङ (बलमा छेडखानी) गरेको क्यामराले खिचेको भेटियो । खेलमा हार टार्नका लागि अष्ट्रेलियाले यस्तो घृणित कार्य गरेको थियो । ब्यानक्रफ्टले एउटा पहेंलो चिज आफ्नो अन्डरवेर भित्र हाल्दै गरेको क्यामरामा कैद भयो ।

ब्यानक्रफ्टले एउटा खाक्सी हातमा लिएर त्यसलाई मैदानमा दल्दै त्यसको माटो र बालुवा खाक्सीमा अड्काएको र त्यसैले बलमा दल्दै बल पुरानो बनाउन खोजेको पत्ता लाग्यो ।

यस विषयलाई अष्ट्रेलियाका प्रधानमन्त्रीले समेत उठाउँदै त्यस कार्यमा लाग्ने सबैलाई कारबाही गर्न भनेका थिए ।

Click to comment

Trending