Headline

युभेन्टसलाई इटालीको प्रथम श्रेणीबाट ‘किक आउट’ गर्ने धम्की

Published

on

युभेन्टसलाई इटालियन फुटबल संघले बिवादास्पद बिद्रोही युरोपियन सुपर लिगबाट आफ्नो नाम फिर्ता नलिने हो भने प्रथम श्रेणीको फुटबल इटालियन सिरी आ बाट किक आउट गर्ने धम्की दिएको छ ।

असफल भएको युरोपियन सुपर लिगको योजनाबाट बाहिरिन स्पेनिस महारथीहरु रियल म्याड्रिड र बार्सिलोनासँगै युभेन्टस अर्को एक मात्र टोली हो । गत सप्ताह यी तीन टोलीको समुहले एक लामो बिज्ञप्ति जारी गर्दै आफू सुपर लिगको योजनाका लागि प्रतिबद्ध रहेको र आगामी कदमका लागि दुई ठूलो सर्वोच्च निकाय फिफा र युएफासँग छलफल गर्ने बताएको थियो ।

के हो युरोपियन सुपर लिग ?

“संस्थापन क्लबहरुले धेरै कुरा सहनु परेको छ र यो क्रम जारी पनि छ । तेश्रो पक्षबाट अस्विकार्य रुपमा यो प्रोजेक्ट बन्द गर्नका लागि धम्की, दवाब र गाली गलौज पनि हुँदै आएको छ । त्यसैले हामी फुटबलको इकोसिस्टम नबिग्रिने गरि रचनात्मक छलफलका साथ यसको समाधान खोज्नेछौं,” उक्त बिज्ञाप्तिमा लेखिएको छ ।

सुपर लिगको योजना सार्वजनिक हुने बित्तिकै यसको लागि हरियो झण्डा देखाएका आर्सनल, एसि मिलान, एट्लेटिको म्याड्रिड, चेल्सी, इन्टर मिलान, लिभरपुल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र टोटेन्ह्यामले आफ्नो नाम फिर्ता लिदै युएफको कारवाही स्विकार्ने बताएका थिए ।

सुपर लिगका मुख्य योजनाकार मध्येका एक युभेन्टस अध्यक्ष आन्द्रे एग्नेलीले भने योजनाबाट नाम फिर्ता लिएका छैनन् । इटालियन फुटबल संघका अध्यक्ष ग्याब्रिएले ग्रभिनाले युभेन्टस अझै पनि पछि नहट्ने हो भने उसलाई प्रथम श्रेणीबाटै निकालिने धम्की दिएका छन् ।

इटालियन फुटबल संघले के भनेको छ ?

२०२१–२२ को सिजन अघि आफ्नो नाम फिर्ता नलिने हो भने युभेन्टस इटालियन सिरी आ बाट बाहिरिनेछ । यसको मतलब युभेन्टसले आगामी सिजन फुटबल नै नखेल्न सक्छ ।

“नियम स्पष्ट छ । यदि अर्को सिजनमा प्रवेश गर्दा युभेन्टस अझै पनि सुपर लिगकै हिस्सा रहन्छ भने उसले सिरी आ मा सहभागिता जनाउन पाउने छैन । म समर्थकहरुलाई सरी भन्न चाहन्छु र नियम भनेको नियम हो । यो सबैमा लागु हुन्छ । आशा गरौं यो समयस्या चाडै समाधान हुनेछ,” ग्रभिनाले नेपल्सको एक रेडियो स्टेसनमा दिइएको अन्तर्वार्तामा भनेका छन् ।

ग्रभिनाको यो प्रतिक्रियाले युभेन्टसका खेलाडी, स्टाफ र समर्थकहरुको ध्यानाकर्षण गराउने नै छ भने उसले युरोपियन सुपर लिगबाट नाम फिर्ता लिन बाध्य हुने अपेक्षा गरिएको छ ।

यथार्थ के पनि हो भने मात्र तीन टिम साथमा रहँदा अहिले युरोपियन सुपर लिग अस्तित्वमै छैन ।

Click to comment

Trending