Headline

टच लाइनबाटै ‘मर्डर’ हुँदै आएको अनुशासन

Published

on

नेपाल सुपर लिग (एनएसएल) मा देशकै प्रतिष्ठित व्यापारिक घरानाहरु संलग्न छन् । आयोजनाका दौरान चौधरी ग्रुपको नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले प्रतियोगिताको लागि बेग्लै ‘हाइप क्रिएट’ गरेको थियो ।

लकडाउनमा जारी नेपालको एक मात्र खेलकुद प्रतियोगिता भएकै कारण पनि नेपाल सुपर लिगले असिमित चर्चा पाइरहेको छ । ‘कम्पिटिटिभ’ (प्रतिस्पर्धात्मक) फुटबलको हिसाबले एनएसएल राम्रो छ ।

काठमाडौं रेजर्सको ‘टिम एन्थम’ सुन्ने हो भने एनएसएल नेपालको बिछट्टै फुटबल प्रतियोगिता रहेको आभाष दिन्छ । काठमाडौंको टिम एन्थमका लागि नेपालका टप र्यापर युनिक पोएटले आवाज दिएका छन् ।

मोरङ्ग अटोले बितरण गर्दै आएको रेजर्स स्कुटरको प्रचार डोमिनेटेड भएपनि युनिक पोएटको र्यापले यस्तो ग्लयामरस फुटबलको वातावरणतर्फ लिएर गएको छ जुन नेपाली फुटबलमा अहिलेसम्म देख्न पाइएकै थिइएन। र, शायद यो नै व्यवसायिक र ग्ल्यामरस फुटबलको उच्च बिन्दु हुन सक्छ जुन समयसँगै परिमार्जित हुने दम राख्छ ।

नयाँ स्वाद र निकै नै व्यवसायिक रुपले सञ्चालन भइरहेको प्रतियोगितामा शनिबार बिराटनगर सिटी एफसीले भने दाग नै लगाइदियो ।

गर या मर स्थितिमा रहेको खेलमा ललितपुर सिटी एफसीबिरुद्धको खेलमा बिराटनगरले ६३ औं मिनेटमा खेल बहिष्कार गर्ने निर्णय गर्यो । उसले आफ्ना सबै खेलाडीहरुलाई फिर्ता पनि बोलायो । मैदानमा बिराटनगरका एक मात्र खेलाडीको रुपमा स्पेनिस पेद्रो मान्जी रहे ।

बिराटनगरलाई रेफ्रि कबिन व्यन्जनकारको निर्णय प्रति घोर आपत्ति थियो । पहिलो हाफमा एक गोलले पछि परेको स्थितिमा ५२ औं मिनेटमा सुनिल बल ललितपुरको बक्समा बिपक्षि खेलाडीसँगको चुनौतिमा लडेपछि बिराटनगरले पेनाल्टीको अपिल गर्यो ।

रेफ्रि व्यन्जनकारले ‘प्ले अन’ को इशारा गरे पछि बिराटनगरको बेञ्च निकै क्रुद्ध बन्यो । बेन्चका सबै अफिसियलहरु टच लाइन क्रस गर्दै रेफ्रिमाथि आक्रोश पोख्दै थिए । केही बेरमै स्थिति साम्य पनि भयो ।

बिराटनगरले गोलका लागि निरन्तर प्रयास गरेको कारण रक्षापंक्ति केही खुकुलो बन्दा अन्जन बिष्टले काउन्टर अट्याकमा बिमल रानालाई गोलको अवसर मिलाए ।

खेल बहिष्कार गर्दै मैदान छोडेपछि बिराटनगरको बेञ्च

ललितपुरले गोल गर्यो, एक कदम प्ले अफ तर्फ चाल्यो । बिराटनगर प्रतियोगिताबाटै बाहिरिने संघारमा पुग्यो । तर रेफ्रिको १० मिनेट अगाडीको निर्णयको बिरोधमा उसले आफ्ना खेलाडीहरुलाई फिर्ता बोलायो ।

प्रशिक्षक यान ल आफै हातले इशारा गर्दै खेलाडीहरुलाई बाहिर बोलाउदै थिए ।

यान ल आफैलाई व्यवसायिक मान्छन् । भारतीय प्रथम श्रेणीको प्रतियोगिता आई लिग क्लब अजवाल एफसीका प्रशिक्षक हुन् उनी । उमेरका हिसाबले सफल पनि ।

तर यो आइडिया चाही कसको हो ?

सभ्य भाषामा यो पूर्ण रुपमा खेल भावना बिपरितको कार्य थियो । तर बिराटनगरको बेन्चले चालेको कदमलाई उसकै व्यवहार अनुसार लेखिने हो भने यो त टोल तिर चाड पर्वको समयमा खेलिने खशी–बोका–भाले कप जस्तो भएन र ?

“मलाई रेफ्रिको पारा मन परेन, त्यै भएर म यो गेम खेल्दै खेल्दिन,” बिराटनगरले लोकल रुपमै यस्तै संकेत गरेको थियो ।

प्रतियोगितामा नेपाली रेफ्रिहरुको प्रदर्शनलाई लिएर आलोचना नभएको होइन । यसअघि बुटवल लुम्बिनी एफसीबिरुद्धको खेलमा पनि यान ल ले नेपाली रेफ्रिहरु आफुले सामना गरेको मध्ये सबैभन्दा तल्लो स्तरको रहेको भन्दै आलोचना गरेका थिए ।

लिगमा सहभागी झण्डै सबै टोलीहरुलाई रेफ्रिको प्रदर्शन चित्त बुझेको छैन । तर यो ‘ग्लोबल’ समस्या हो । होजे माउरिन्हो, जिनेदिन जिदान, पेप ग्वार्डियोला वा अहिले सकृय भएको स्थितिमा सर एलेक्स फर्गुसनलाई पनि यस्तै समस्या हुने थियो । तर उनीहरुले कहिल्यै पनि खेल छाडेनन् ।

यान ल ले नेपाल सुपर लिग नेपाली फुटबललाई अर्को स्तरमा लैजाने प्रयासमा रहेको तर रेफ्रि पनि बिदेशी नै प्रयोग गर्दा उचित हुने अभिव्यक्ति दिए ।

नेपाली फुटबललाई नेपाल सुपर लिगले अर्को स्तरमा लाने प्रयास भएको महसुस गर्दा गर्दै यान ल कसरी यसमा दाग लगाउने समुहको हिस्सा बने ।

बिराटनगरले खेल भावना बिपरित काम गरेकै हो, यसमा कुनै दुविधा नै छैन तर यो के नेपाल सुपर लिगमा पहिलो पटक भएको हो ?

होइन ।

अन्जन बिष्टले शायद घरेलु फुटबलमै उत्कृष्ट प्रदर्शन गरे तर बिराटनगरको बहिष्कारले उनको प्रदर्शनलाई ओझेलमा पारिदियो

यसअघि बिराटनगर र काठमाडौं रेजर्सबीचको खेलमा तनाव उत्तिकै थियो तर त्यो मैदानमा देखिएको थिएन । खेलमा भएका निर्णयलाई लिएर रेफ्रिमाथि अपशब्द प्रयोग गर्दा बिराटनगर र काठमाडौं दुवै तर्फका बेन्चका अफिसियलहरुलाई रेड कार्ड दिइएको थियो ।

नेपाल सुपर लिग फरक भएपनि यसमा संलग्न टिमका कोचिङ्ग स्टाफ र अफिसियलहरु पूर्ण रुपमा नेपाली फुटबलसँग लामो समयदेखि आबद्ध रहदै आएकाहरु छन् । यो यस्तो व्यक्तिहरुको समुह हो जसलाई टच लाईनमा देखाउनु पर्ने अनुशासनलाई लिएर निकै कम ज्ञान छ ।

टच लाईनको वातावरणले नै टिमले मैदानमा देखाइरहेको खेललाई प्रतिविम्बित गर्छ । शनिबार बिराटनगरका बिजय धिमालले दुई गोल खाइ सकेपछि अनावश्यक फउल गर्दै बिमल रानालाई लडाउदा दोहोरो पहेलो कार्ड खादै मैदान छोड्नु त्यही टचलाइनको वातावरणको परिणाम थियो ।

पछिल्लो पटक उच्च स्तरको घरेलु फुटबल नै बेइज्जत हुनु परेको परिस्थिति कहिले थियो भन्ने बिषयमा रेकर्ड नै पल्टाउनु पर्छ । बि डिभिजनमा भएका होलान् वा त्यस्तै खशी–बोका–भाले कपमै ।

स्ट्याण्डर्ड फरक हुने दावी गरिरहदा भने यो पहिलो हो ।

सबैभन्दा घिनलाग्दो वातावरण सात बर्षअघि मध्यपुर युथ एशोसिएसनले सृजना गरेको थियो जब उ ए डिभिजन लिग फुटबलबाट रेलिगेट भएको थियो । निकै नै तनावग्रस्त स्थितिमा रेलिगेट हुने निश्चित हुँदा पहिले नै बिग्रिएिको वातावरणमा घिउ थप्दै मध्यपुरको बेन्च रेफ्रिको निर्णयलाई लिएर नै उग्र रुपमा तोडफोडमा उत्रिएको थियो ।

खाँटी मध्यपुर जनसंख्याले रँगशालामा तोडफोड गर्दै अझै लाजमर्दो स्थिति सृजना गर्यो । मध्यपुरका प्रशिक्षक नेपाली फुटबलका गोलकिपिङ लेजेण्ड उपेन्द्रमान सिँह थिए । उनले यसलाई शान्त गर्ने कुनै प्रयास गरेनन् ।

हास्यास्पद रुपमा हाल फिफाद्वारा प्रतिबन्धित पुर्व अध्यक्ष गणेश थापाको नेतृत्वले रेलिगेट भएको मध्यपुरलाई एक बर्ष ए डिभिजनमा रहन नपाउने निर्णय सुनायो । उपेन्द्रमान सिँह अहिले एन्फाका उपाध्यक्ष र एनएसएलका म्याच कमिसनरका रुपमा पनि कार्यरत छन् ।

कुरा उपेन्द्रमान सिँहको मात्र होइन ।

नेपाली फुटबलमा लामो समयदेखि बेन्चबाटै यस्तो बखेडा शुरु हुँदा धेरैले मतलब नै गरेका हुदैनन् । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फालाई त झन यसको खासै मतलब पनि छैन ।

खेलाडीमा अुनशासन भएन भन्ने धेरैले भन्दै आएका छन् । तर बेन्चबाटै अनुशासनको ‘मर्डर’ हुँदै आएको बिषयमा शायद कसैले बोलेकै छैनन् । कसैले सोचेका छैनन्, ध्यान दिएका छैनन् अथवा मतलव नै गरेका छैनन् ।

यस्तै मर्डर शनिबार बिराटनगरले गरेको हो । यो यस्तो मर्डर थियो जसले अन्जन बिष्टको घरेलु फुटबलकै सबैभन्दा उत्कृष्ट प्रदर्शनलाई छाँयामा पारिदियो । तथ्यांकमा अन्जन कुनै समय आउलान् तर उनीबाट सबै लाइमलाइट खोसिएको छ ।

यो यस्तो मर्डर हो जसले लामो समयदेखि नेपाली फुटबलमा लामो समयदेखि चल्दै आएको अनुशासनहीनतालाई नजर अन्दाज गर्दै आएको स्थितिलाई स्पष्ट रुपमा प्रतिविम्बित गरेको छ ।

Click to comment

Trending