Headline

नेपाल सुपर लिगः पहिलो सप्ताहको पाँच प्रमुख हाइलाइट्स

Published

on

घरेलु फुटबलको पहिलो फ्रान्चाइज प्रतियोगिता नेपाल सुपर लिगको पहिलो सप्ताहको अन्त्य भएको छ । प्रतिस्पर्धात्मक देखिएको प्रतियोगितामा कुनै पनि टिमले पूर्ण रुपमा डोमिनेट गर्न सकेको छैन । अंक तालिकामा बुटवल लुम्बिनी एफसी गोल अन्तरका आधारमा चार अंक सहित शिर्षस्थानमा छ ।

एक खेल बढी खेलेका धनगढी एफसी, पोखरा थण्डर्स र काठमाडौं रेजर्सको पनि समान चार अंक रहेको छ । पहिलो सप्ताह खेलाडीहरुलाई आफ्नो टिमभित्र नै सेट हुन समस्या देखिरहदा केही क्षणहरु यस्ता छन् जुन सम्झनलायक छन् । हेरौं त्यस्ता पाँच क्षणहरुः

सन्तोष तामाङ गोल

धनगढी सिटी एफसीबिरुद्धको खेलमा बिराटनगरले २ गोलको अग्रता लिइसकेको थियो । ५६ औं मिनेटमा दोश्रो गोल गरेको बिराटनगरले अर्को खतरनाक मुभ बनायो । सुनिल बलसँग वान–टु पास खेल्दै डि एरिया भित्र छिरेका सन्तोषले टर्न लिदै प्रहार गरेको गोल निकै आकर्षक थियो ।

सन्तोषले गरेको टर्न नेपाली फुटबलमा बिरलै देख्न पाइन्छ । पछिल्लो केही समय राम्रो फुटबल खेलिरहेका सन्तोषको गोलहरु हेर्न लायक हुने गरेका छन् । धनगढीबिरुद्धको गोल पनि त्यस्तै थियो । उनकै गोलले धनगढी खेलमा फर्कन असफल रह्यो र खेल बिराटनगरले ३–० ले जित्यो ।

कमल र टंकको फ्लुक

एफसी चितवन र ललितपुर सिटी एफसीबीच भएको खेलको पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो । दोश्रो हाफको शुरुवातमा ललितपुरले खेलमा अग्रता लियो तर उसको गोल कसैले नपत्याउने किसिमको थियो ।
दाँयाबाट कमल श्रेष्ठले बल लादै गर्दा २५ यार्डबाट क्रस निकाले । उनको क्रसले गोलकिपर बिशाल सुनारलाई उचाई र दिशाले धोका दियो । बल सिधै पोस्ट भित्र पस्यो ।

टंक बस्नेतले धनगढी एफसीका काठमाडौं रेजर्सबिरुद्ध त्यस्तै गोल गरे । टंकको क्रस बारमा लाग्दै काठमाडौंका कप्तान तथा गोलकिपर बिकेश कुथुको घुँडामा ठोक्किएर गोल हुन पुग्यो ।

अनपेक्षित गोल गरेपछि खुशीयाली मनाउदै टंक बस्नेत

बिशाल सुनारको डबल सेभ

बिशाल सुनारले सम्भवत प्रतियोगिताकै उत्कृष्ट गोलकिपिङ्गको नमुना प्रस्तुत गरेका थिए । चितवनका गोलकिपर बिशालले ललितपुरबिरुद्धको खेलमा पेनाल्टीमात्र बचाएनन् केही मिलि सेकेण्डको निर्णयले नै आफू माथिल्लो स्तरको लागि तैयार भएको साबित गरिदिए ।

२० औं मिनेटमा प्राप्त पेनाल्टीमा अञ्जन बिष्टले गरेको प्रहारमा राम्रो निर्णय गर्दै दायाँ तर्फ डाइभ हान्दै रोकिदिए भने रिबाउण्डमा बिमल रानाले नजिकैबाट गरेको प्रहारलाई पनि छेकेका थिए । लगत्तै पाएको कर्नरमा पनि बिशालले डाइभ गर्दै अर्को प्रहार बचाएका थिए ।

किरणको मोमेन्ट अफ म्याडनेस

किरण चेम्जोङ्ग नेपाली राष्ट्रिय टोली र धनगढी एफसीका कप्तान हुन् भने क्लबका आइकोनिक खेलाडी । उनलाई टिमलाई सम्हाल्नु पर्ने जिम्मेवारी ठूलो छ । तर किरणले ललितपुर बिरुद्धको खेलमा उनीबाट अपेक्षा नभएको काम गरे ।

ललितपुले प्रहार गरेको एक कर्नरमा बल समाति सकेपछि किरण बल किक गर्न दगुरे । तर उनले अञ्जनलाई अनावश्यक रुपमै कुहिना प्रहार गरेर लडाए । अगाडी नै रहेका रेफ्रि प्रकाश श्रेष्ठले सबै कुरा स्पष्ट देखे । उनले किरणलाई पहलो कार्ड देखाउदै धनगढीबिरुद्ध पेनाल्टी दिए ।

तर पेनाल्टीमा किरणले नुर्लान जाहिदको प्रहार आरामले समाति दिए । खेलमा पछि १–१ गोल भयो । किरणले टिमलाई खतरामा पारे तर उनले नै जोगाए । पछि उनले खेलमा यस्तो क्षण कहिले काही हुने भन्दै समझादारी पुर्वक ह्याण्डल गरे ।

फुटबलका ‘फरेस्ट गम्प’ रवि पासवान

हलिउड चलचित्र फरेस्ट गम्पका मुख्य पात्र हुन फरेस्ट गम्प । अमेरिकाको भियतनाम युद्धको पृष्ठभुमि र यस वरिपरिका घटना वरिपरि रहेर बनाइएको चलचित्रमा टम ह्यांक्स मुख्य पात्र हुन् । फरेस्ट जीवनमा धेरै कुरा गर्छन्, युद्धमा पनि सहभागी हुन्छन् ।

अमेरिका फर्किएपछि उनी एक दिन अचानक कुद्न थाल्छन्, र कुदिरहन्छन् । उनलाई अरुले नी पछ्याउछन् । अनि एक दिन बिचमै रोक्किएर घर फर्कन्छन् । अरुले सोध्दा आफू कुदेको कारण नै थाहा हुदैन ।

रवि पासवान नेपाली फुटबलका फरेस्ट गम्प हुन् । उनी कुदेको कुद्यै छन् । शायद नेपालमै भएको थ्री नेसन्स कपदेखि नै कुदिरहेका छन् । अग्रपक्तिमा खेल्दै आइरहेका रविको कुदाईले बिपक्षी टोलीलाई एकाध पटक डिस्टर्ब गर्ने बाहेक अरु खासै उल्लेखनीय केही गरेको छैन ।

यो श्रृंखलालाई उनले लगातार तेश्रो खेलमा पनि कायम राखे । रवि कुदे तर त्यसको मतलब निकै कम निक्लियो । शुक्रबार पोखराले काठमाडौं रेजर्सबिरुद्ध खेल्दा बेगले कुद्दै उनले एक सटिक तर तुफान क्रस निकाले, त्यसलाई नवयुग श्रेष्ठ र आयुष घलानले कनेक्ट गर्न सकेनन् ।

अर्को क्षणमा मिडफिल्डबाट आएको लामो पासलाई रविले कुदेरै काठमाडौंको पेनाल्टी बक्स भित्र लिन्छन् । अलिकति मात्रै अगाडी बढेर आफै प्रहार गर्नु पर्ने बलमा उनी क्रस निकालिदिन्छन् । तर त्यहा कोही हुदैनन् । रविले आफू कुद्नुको अर्थ खोज्नु जरुरी देखिन्छ ।

Click to comment

Trending