Headline

राम्रो फुटबल खेल्दा खेल्दै पनि किन चुकिरहेको छ ललितपुर सिटी एफसी ?

Published

on

ललितपुर सिटी एफसीको खेल्ने शैली आकर्षक छ । उसले बिपक्षीको पोस्टमा बुन्ने गरेको आक्रमणले लोभ्याउन सक्छ । तर उसले नेपाल सुपर लिगमा एक खेल पनि जित्न सकेको छैन भने अंक तालिकाको पुछारमा छ ।

आफ्नो पहिलो खेलमा नै ललितपुर काडमाडौं रेजर्ससँग स्तब्ध बन्न पुग्यो । मेसुके ओलुमोउको एक मात्र गोल निर्णायक बन्दा ललितपुरले पहिलो खेलमै तीन अंक गुमाएको थियो ।

सेटका खेलाडीसँग राम्रोसँग प्रशिक्षण गर्न नपाएको र तयारी समय कम हुँदा पहिलो खेलमा चुकेको प्रशिक्षक प्रदिप हुमागाँईले स्वीकारेका थिए । ललितपुरका विदेशी खेलाडीको प्रदर्शन औषत थियो ।

राम्रो पासिङ र खेलाडीमा कडा मिहिनेत देखिए पनि अग्रपंक्तिमा ललितपुर फिक्का देखियो । तर, ललितपुरको खेललाई नियाल्न एक खेल काफी थिएन ।

ललितपुरले दुई दिनको अन्तरमा एफसी चितवनसँग दोस्रो खेल खेल्यो । पेनाल्टीमा मार्की खेलाडी तथा कप्तान अन्जन बिष्ट चुके । पहिलो हाफमा ललितपुर चुस्त देखियो तर परिणाम त्यही । फ्रन्टलाइनमा मुभ नै बनेनन् । ४९ औँ मिनेटमा ललितपुर भाग्यमानी सावित भयो ।

कमल श्रेष्ठले क्रस गरेको बल चितवनका गोलरक्षक बिशाल सुनारलाई बिट गर्दै सिधै गोल हुन पुग्यो । ललितपुरले प्रतियोगितामा आफ्नो पहिलो गोल गर्यो तर ९० मिनेट पछिको इन्जुरी समयमा पेनाल्टीमा गोल खान पुग्यो ।

अमित तमाङले कुनै गल्ती नगर्दै चितवनलाई निरास हुन दिएनन् र पहिलो खेलमा अंक दिलाएरै छोडे ।

प्रदिप हुँमागाईले आफूलाई ‘कुल’ देखाएपनि ललितपुरमा दवाब रहेको स्पष्ट नै छ

म्याच किल गर्ने कोही भएन

ललितपुरको चितवनसँगको खेललाई नराम्रो भन्न पक्कै मिल्दैन तर फुटबलको भाषामा लेख्दा त्यो खेल चितवनले ’शो स्टिल’ नै गरेको थियो । कमलको गोलपछि ललितपुरले चार वटा निकै राम्रो मुभ बनायो ।

कमल र अन्जनले क्रसमा दुई–दुई मुभ बनाउदै बललाई पेनाल्टी एरियामा पनि झारे तर बिमाल राना र नुर्लान जाहीद फिनिसिङमा चुक्न पुग्दा टाउको समाउदै आफ्नै क्षेत्रमा फेरी फर्किए । ललितपुरले एक अंकमै चित्त बुझायो । प्रशिक्षक हुमागाँई पनि आफुलाई केही दवाब छैन भन्दै पोस्ट म्याच कन्फ्रेन्समा जटिल प्रश्नहरुलाई टारि दिए ।

पुछारमा रहदै ललितपुरले बिहीबार धनगढी एफसीको सामना गर्यो । खेलमा पुरानै गल्ती दोहोरिए । धनगढीका गोलरक्षक कप्तान किरण चेम्जोङले ४२ औं मिनेटमा अन्जन माथि अनावश्यक रुपमा कुहिनाले प्रहार गरे ।

आखै अगाडी भएको फाउलका कारण रेफ्रि प्रकाश श्रेष्ठले पेनाल्टी दिए । पेनाल्टी प्रहार गर्न बिदेशी खेलाडी नुर्लान जाहिद आए । तर किरणले सहज रुपमै बल समाते । ललितपुरले लगतार दुई खेलमा दुई पेनाल्टी मिस गर्यो ।

पहिलो हाफमा ललितपुरले धनगढीलाई दवाबमा पनि राख्यो तर दोस्रो हाफको ७२ औं मिनेटमा बिशाल राइको कर्नरमा ललितपुरका अर्पण कार्कीको पञ्च फितलो हुँदा पेनाल्टी एरिया भित्रैबाट अशोक खवासले प्रहार गरेको बल अञ्जनको कुम्भमा लागेर अनमार्क रहेका ओलावाले ओलादिपो अफिजले हेडर मार्फत गोल गर्दै धनगढीलाई पहिलो अग्रता समेत दिलाए ।

ललितपुरले कैयौं मौका खेर फाल्दा ओलावालेले एक मौकामा गोल गरिदिए ।

ललितपुर निराश भयो ।

लगातारको प्रयासपछि पनि एक गोल खाएको ललितपुरका लागि गोलको सपना भने जिवितै थियो । प्रशिक्षक हुमागाँईले ७६ औँ मिनेटमा रन्जन बिष्टलाई बिमल रानाको स्थानमा मैदान छिराउने निर्णय लिए र त्यसले रङ्ग ल्यायो ।

७८ औं मिनेटमा कमल श्रेष्ठले दिएको लामो पास फर्किएर आउदा रञ्जनले गरेको प्रहार डिफेण्डर दिनेश राजंशीको निधारमा डिफ्लेक्ट हुदै गोल हुन पुग्यो । ललितपुर एक अंक लिन सफल भयो । अघिल्लो खेलमा चितवनले जितेको खेल हातबाट खोस्दा यो खेलमा भने ललितपुर बराबरीका लागि योग्य थियो ।

यसअघिको खेलमा दुई गोल गरेका ओलावालेलाई एक मौका गोल गर्न काफी थियो

असफल अग्रपंक्ति

ललितपुरको खेलाडीहरुको औषत उमेर हेर्ने हो भने २६ वर्ष रहेको छ । यो उमेर कुनै पनि फुटबलर आफ्नो उच्च फर्ममा हुने उमेर हो । ललितपुरमा पनि त्यस्तै छ ।
२८ वर्षका स्ट्राइकर बिमल राना गएको ए डिभिजन लिगको दोस्रो सर्वाधिक गोलकर्ता थिए । विदेशी खेलाडी नुर्लान पनि २८ बर्षकै छन् र उनी अजरबैजानका राम्रै खेलाडी हुन् । अर्का विदेशी खेलाडी भिलिम पोसिन्कोभिच त झन ललितपुरले निकै आशा राखेका खेलाडी हुन् ।

तर, बिडम्बना यी फर्वार्डहरु ललितपुरका लागि चल्न सकेका छैनन् । गोलका लागि यिनीहरुले प्रहर गरेको शट हेर्ने हो भने पनि ४० प्रतिशत भन्दा कम प्रहार ’सट अन टार्गेट रहेको छ । कुनै पनि फर्वार्डका लागि यो राम्रो तथ्यांक होइन ।

धनगढी बिरुद्ध पेनाल्टीमा चुकेका नुर्लान अन्य दुई मौकामा पनि गोलपोस्ट नजिक थिए । तर दुवै पटक उनको प्रयास फितलो देखिएको थियो ।

दोहोरो भुमिकाको भार

मिडफिल्डमा निकै सम्भावना बोकेका युवा एरिक बिष्ट छन् । उनको ’बल डिस्ट्रिब्युसन’ र ’एक्युरेसी’ पनि राम्रो छ तर एरिक ललितपुरको मिडफिल्डमा केही सुस्त देखिन्छन् । उनी सुस्त हुनुको कारण एक्लैले निभाउनु पर्ने डिफेन्सिभ र अट्याकिङ मिडफिल्डको भूमिका हो ।

एरिकले खेल बनाउनका लागि लामो र थ्रु बल राम्रै दिन्छन तर कुनै बेला मिस पास भएको अवस्थामा उनी आँफै डिफेन्ड गर्न पुग्छन् ।

एरिक बिष्टलाई दोहोरो भुमिकाको मार परिरहेको छ

अर्का मिडफिल्डर नविन लामा पनि अट्याकमा भन्दा डिफेन्समा चुस्त देखिन्छन् । मैदानमा पासका लागि खाली ठाउँ बनाउछन् तर एरिक ’रोमिङ मिडफिल्डर’ भएका कारण ललितपुरको मध्यपंक्ति खाली नै देखिन्छ ।

ललितपुरले खेल्ने फुटबललाई नराम्रो भन्ने कुनै ठाउँ छैन तर पनि मिडफिल्डमा एरिकलाई अझै खतरनाक मुभ बनाउन दिने हो भने ललितपुरले बिनोद गुरुङलाई डिफेन्सिभ मिडफिल्डमा उतार्दा ठीक देखिन्छ ।

पोसिन्कोभिचले पनि आफ्नो उचाइको फाइदा उठाउन सकिरहेका छैनन् । उनी स्लो देखिन्छन् भने पेनाल्टी एरियाभित्र पनि उनी खतरा रहेको आभाष दिन असफल रहेका छन् ।

तीन खेलबाट मात्रै दुई अंक बटुल्दा ललितपुरको लागि अब प्लेअफको सम्भावना केही कठिन देखिएको छ । तर प्रतियोगिता एकपछि अर्को अनपेक्षित परिणाम आउदा ललितपुरले अन्य खेलहरुमा जित निकाल्ने हो भने आशा जीवितै रहन सक्छ ।

Click to comment

Trending