Headline

त्रिवि मैदानमा भिड्दै एशोसिएट क्रिकेटका दाजु–भाई

Published

on

मलेसिया नेपाली क्रिकेटले सबैभन्दा नजिकबाट चिनेको प्रतिद्वन्दी हो । दुई टोली एक आपसमा अहिलेसम्म ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सात पटक खेलिसकेका छन् भने नेपालले उमेर समुहदेखि सिनियर टोलीसम्म बिदेशमा सबैभन्दा बढी खेलेको भुमि पनि मलेसिया नै हो ।

मलेसियन टोलीका कप्तान अहमद फइज पनि नेपाललाई प्रतिद्वन्दी भन्दा पनि दाजु भाइको हिसाबले हेर्ने गर्छन् । यसको कारण एशोसिएट क्रिकेटमा दुई देशबीचको सामिप्यता हो भने दोश्रो मलेसियामा रहेको ठूलो नेपाली आप्रवासी जनसंख्या ।

मलेसियामा बिभिन्न क्षेत्रमा काम गर्ने नेपालीहरुको जनसंख्या ७ लाख भन्दा बढी रहेको छ र नेपालको कुनै पनि टोलीले त्यहाँ क्रिकेट खेल्दा ठूलै संख्यामा नेपालीहरु टोलीको हौसला बढाउन मैदानमै जाने गर्दछन् । कैयो ठूलो प्रतियोगिताको प्रमुख खेलहरुमा नेपाल र मलेसिया भिड्दा नेपालीहरुकै दबदबा स्टेडियममा हुने गरेको छ ।

मलेसियालाई त्यसैले नेपाली दर्शकहरुको उपस्थितिमा खेल्ने बानी परिसकेको छ । सोमबार नेपाल र मलेसियाबीचको खेलमा दर्शकको बाक्लै उपस्थिति हुने अपेक्षा गरिएको छ जसको लागि फइज आफ्नो टोली तैयार रहेको मान्छन् ।

“दर्शकको उपस्थितिले हामीलाई निकै खुशी दिने गर्छ । बिशेषगरि नेपालमा खेल्न पाउदा निकै खुशी लाग्छ किनभने दर्शकले हामीलाई पनि समर्थन दिइरहेको हुन्छन् । खासमा नेपाल र मलेसियाको सम्बन्ध दाजुभाईको जस्तै छ,” फइजले आइतबार नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएपछि भने ।

“धेरै नेपालीहरुले मले भाषामै बोल्न सक्छन् किनभने उनीहरु मलेसियामा रहिसकेका छन् । उनीहरु यहाँ उपस्थित हुँदा हामीलाई निकै खुशी लाग्ने गर्छ किनभने यो सबै समर्थन क्रिकेटको लागि नै हो,” उनले भने ।

मलेसियाले पछिल्लो पटक नेपाललाई एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायरमा हराएको थियो । ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमा मलेसियाको नेपालबिरुद्ध अहिलेसम्मको त्यो मात्रै एक जित हो । बाकी तीन खेल नेपालले जितेको छ ।

मलेसिया एशोसिएट क्रिकेटमा एसियाबाट सबैभन्दा सुधारिएको टोली मध्ये रहेको छ । आइतबार पनि १ सय ९२ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा उसले १ सय ७६ रन बनाउदै नेदरल्याण्ड्सलाई दवाबमा राखेको थियो । बिशाल स्कोर पछ्याउनु पर्ने दवाब भएपनि मलेसियाले पहिलो बलदेखि नै आक्रमण गर्न थालेको थियो ।

“हामी जहिल्यै पनि आशावादी भएर खेल्न जाने गरेका छौं । हाम्रो इच्छा भनेको सकारात्मक बडी ल्याङ्गवेज लिएर खेल्ने हो । नेपालबिरुद्ध हामीले तीन खेल हारेका छौं तर यो सबै नम्बर मात्र हो । हाम्रो नयाँ पुस्ता मिश्रित खेलाडीहरुले पछिल्लो समय राम्रो गरिरहेका छन् । आज पनि झण्डै ठूलै योगफल पछ्याएको थियौं र आशा गर्छौ नेपाललाई पनि पराजित गर्न सक्षम हुनेछौं,” फइजले थपे ।

तर नेपाललाई उसकै भुमिमा हराउन मलेसियाले निकै मिहिनेत गर्नु पर्नेछ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई खुलेर खेल्न दिएको थिएन भने १ सय ३६ रनको लक्ष्य १५ ओभरमै मात्र एक विकेटको क्षतिमा पछ्याएको थियो ।

नेपाल थाइल्याण्डमा मलेसियाबिरुद्ध पराजित भएको प्रतियोगितामा देखिएको भन्दा पूर्ण रुपले फरक टोलीको रुपमा अगाडी आएको छ । यसलाई नेदरल्याण्ड्सका कप्तान पिटर सिलारले पहिलो खेलमा व्यहोरेको फराकिलो हार लगत्तै स्विकारिसकेका छन् ।

नेदरल्याण्ड्सलाई फराकिलो अन्तरले पराजित गरेको नेपाली टोलीमा मलेसियाबिरुद्धको खेलका लागि प्रशिक्षक डेभ ह्वाटमोरले केही परिवर्तन ल्याउन पनि सक्नेछन् ।

डेब्यु खेलमा शाहब आलमले एक विकेट लिएपनि उनले ४५ रन खर्चन पुगेका थिए । तर ह्वाटमोरको मुड शाहबलाई अझै धेरै खेल दिने पनि हुन सक्छ । पहिलो खेलमा कुशल भुर्तेल र आसिफ शेखले नै सबै काम तमाम गरेको कारण ब्याटिङ्गमा भने नेपाल बिना परिवर्तन नै उत्रन सक्नेछ ।

Click to comment

Trending