Headline

बिश्वकप छनोटः स्विटजरल्याण्डमा पोस्टको साइज नमिलेर खेल ढिलो

Published

on

२०२२ बिश्वकप युरोपियन छनोट अन्तर्गत गोल पोस्टको साइज नमिल्दा स्विटजरल्याण्ड र लिथुवानियाबीचको खेल ढिलो गरि खेलाइएको छ । छनोटको दिन आइतबार सोचे अनुसार नभएका कुराहरु मध्येको एक यो पनि थियो ।

महादेशका ठूलो देशहरुले भने अपेक्षा अनुरुप नै परिणाम निकालेका छन् । तर स्पेनले भने धेरै नै कसरत गर्नु पर्यो । जर्जियाबिरुद्धको खेलमा इन्जुरी समयमा गोल गर्दै स्पेनले कडा मिहिनेतपछि मात्रै २–१ को जित हात पार्दै तीन अंक प्राप्त गर्यो ।

स्पेनजस्तै आफ्नो पहिलो खेलमा बराबरी गरेको फ्रान्स पनि आइतबार लयमा फर्कियो । उसले काजखस्थानलाई २–० ले हरायो । बुल्गेरियालाई २–० ले पराजित गर्दै इटाली लगातार २४ अन्तर्राष्ट्रियमा अपराजित रह्यो भने रोमानियाबिरुद्ध अवे खेलमा १–० को जित निकाल्दै जर्मनीले पनि लगातार दुई खेल जितेको छ ।

ओल्मोले गरे स्पेनको उद्दार

ड्यानी ओल्मोले बेञ्चबाट आउदै खेलको अन्तिम समयमा गोल गरेपछि स्पेनले जर्जियामाथि कठिन जित हात पारेको हो । ओल्मोको लामो दुरीको प्रहार दर्शनीय रुपमा गोलपोस्ट भित्र छिरेको थियो । फेराना टोरेसले ५५ औं मिनेटा गोल गरेपछि २०१० बिश्वकप बिजेता खेलमा फर्किएको थियो ।

जर्जियाले पहिलो हाफ सकिनु एक मिनेट अगाडी मात्रै खेलमा अग्रता लिएको थियो । स्पेन पहिलो खेलमा ग्रिससँग १–१ गोलको बराबरीमा रोकिएको थियो । प्रत्येक समुह बिजेता सिधै बिश्वकपका लागि छनोट हुने भएकाले स्पेनको समुह बीमा सबैभन्दा ठूलो चुनौति स्विडेनको रुपमा रहेको छ ।

स्विडेनले आइतबारको खेलमा कोसोभालाई ३–० ले हरायो । सन्यासबाट फर्किएका स्विडिस लेजेण्ड ज्लाटन इब्राहिमोभिचले दुई गोलमा असिस्ट गरेका थिए । बिहिबार स्विडेनले जर्जियालाई पराजित गर्दा पनि इब्राहिमोभिचकै असिस्ट रहेको थियो ।

एमबाप्पे पेनाल्टीमा चुके

स्टार स्ट्राइकर किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुकेपछि फ्रान्सले काजखस्तानमाथि सहज जित हात पार्यो । फ्रान्सले पेनाल्टी पाउदा औस्माने डेम्बेले र सर्जि मालीको आत्मघाती गोलका कारण २–० को अग्रता पाइसकेको थियो ।

अस्थाना स्टेडियमको एस्ट्रो टर्फमा भएको खेलमा एन्थोनी मार्सियलले चोट बोकेपछि एमबाप्पे मैदानमा प्रवेश गरेका थिए । एमबाप्पेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । यसै समुहको अर्को खेलमा युक्रेन र फिनल्याण्डले १–१ गोलको बराबरी खेले । फ्रान्स आफ्नो पहिलो खेलमा युक्रेनसँगै रोकिएको थियो ।

जर्मनीको जितमा सर्जी नाब्रीले गोल गरे ।

जर्मनी शिर्षस्थानमा

समुह जे मा सर्जि नाब्रीले एक मात्र बिजयी गोल गर्दा जर्मनी गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको छ । एन्टोनियो रुडिगर र काई ह्याभर्ट्ज संलग्न मुभलाई फिनिस गर्दै नाब्रीले गोल गरेका थिए । नोभेम्बरको नेसन्स लिगमा स्पेनसँग ६–० को लज्जास्पद पराजय भोगेयता जर्मनी टिम पुनसंरचनामा रहेको छ ।

आइसल्याण्डलाई २–० ले हराएको आर्मेनीयाको पनि समान ६ अंक भएको छ भने नर्थ मेसेडोनियाले लिचेस्टेनलाई ५–० ले पराजित गर्दै पहिलो तीन अंक बटुल्यो ।

केन भर्सेस लेवान्डोस्की

बुधबार वेम्ब्ली स्टेडियममा समुह आई को क्वालिफायरमा इङ्गल्याण्ड र पोल्याण्ड भिड्नु अघि दुवै टोलीका बिश्वस्तरीय स्ट्राइकर लयमा आए । रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि पोल्याण्डले एन्डोरामाथि ३–० को सहज जित हात पार्यो । लेवान्डोस्कीले क्लब र देश गरेर लगातार १० खेलमा गोल गरेका हुन् ।

ह्यारी केनले एक गोल गर्नुका साथै मेसन माउन्टको गोलमा असिस्ट गर्दा इङ्गल्याण्डले अल्बानियालाई २–० ले हरायो । पहिलो खेलमा इङ्गल्याण्डले सान मारिनोलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

यस समुहमा इङ्गल्याण्ड ६ अंक सहित अग्रस्थानमा रहेको छ । हँगेरी र पोल्याण्डको समान ४ अंक रहेको छ । पहिलो खेलमा पोल्याण्डलाई बराबरीमा रोकेको हँगेरीले सान मारिनोलाई ३–० ले पराजित गर्यो ।

इटालीको उडान

युरो कप छनोटमा लगातार १० खेल जितेको इटालीले बिश्वकप छनोटमा पनि अन्तर्राष्ट्रिय फर्मलाई कायमै राखेको छ । आइतबारको जितमा आन्द्रे बेलोट्टीको पेनाल्टी र मानुएल लोकाटेलीको पहिलो अन्तर्राष्टिय गोल रहेको थियो । पहिलो खेलमा इटालीले नर्दन आयरल्याण्डलाई हराएको हो ।

गोल अन्तरले मात्र इटालीभन्दा पछाडी रहेको स्विट्जरल्याण्डले लिथुवानीयालाई १–० ले पराजित गर्यो । उसका लागि जेर्दान साकिरीले गोल गरेका थिए । गोलपोस्टको साइज नमिलेपछि खेल १० मिनेट रोकिएको थियो । अर्को पोस्ट राखेपछि मात्र खेल शुरु भएको थियो ।

डेनमार्कको किर्तिमानी जित

समुह एफमा मोल्दोभालाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै डेनमार्कले आफ्नो बिश्वकप अथवा युरो कप छनोट इतिहासकै सबैभन्दा ठूलो जित हात पार्यो ।

हर्निङ्गमा क्यास्पर डोल्बर्ग र मिकेल डाम्सगार्डले दुई–दुई गोल गर्दा डेनमार्कले ३९ मिनेट नपुग्दै ५–० को अग्रता बनाइसकेको थियो । यो समुहमा डेनमार्कको मात्रै ६ अंक रहेको छ । फारो आइल्याण्ड्समाथि ३–१ को पुनरागमन जित रचेको अष्ट्रियको चार अंक छ । अर्को खेलमा इजरायल र स्कटल्याण्डले १–१ को बराबरी खेले ।

Click to comment

Trending