Headline

‘रकेट गाइज’ को शिर्ष श्रेणीको उडान

Published

on

सातदोबाटोदेखि लगनखेल जाने बाटोमा दिपावली पुस्तकालय छ । पहिले आकारमा ठूलो देखिने गरेको पुस्तकालय अहिले सडक बिस्तारका कारण खुम्चिदै गएको छ । धेरैलाई ठ्याक्कै पत्ता लगाउन गुगल म्यापको आवश्यकता पर्न सक्छ ।

त्यही पुस्तकालय पछाडि सानो टहरा बनाई २०५४ सालमा स्थापना भएको थियो सातदोबाटो युथ क्लब, एक ’प्रपर’ फुटबल क्लब बन्ने लक्ष्य सहित ।

२१ गते शनिबार क्लब परिसर भित्र ललितपुरमा बेला बखत देखिने गरेका जात्रा जस्तो माहौल थियो । क्लब भवनको वातावरण अविरको रङ्गले रातो थियो । त्यो वातावरणमा मिश्रित हुनेहरुको जमात सानो थियो तर खुशीयालीले अन्तरिक्षको शयर गर्दै थियो ।

यसको कारण थियो १५ सय मिटर पर एन्फा कम्प्लेक्समा भएको एक खेलको परिणाम । चीर प्रतिद्वन्दी खुमलटार युथ क्लब श्री भगवती क्लबसँग पराजित हुँदा सातदोबाटो आफ्नो क्लब इतिहासमै पहिलो पटक ए डिभिजन लिगमा बढुवा भयो ।

शनिबार आफ्नो खेल नरहेका कारण सातदोबाटोका पदाधिकारी, खेलाडी र स्थानीय समर्थकहरुले क्लब परिसरमै खुशीयाली मनाए ।

त्यो सातदोबाटोको खुशी थियो भने घरेलु फुटबलमा जिवित रहेको प्यासनको स्पष्ट उदाहरण ।

क्लबको रुपमा सातदोबाटोलाई फुटबल प्रति आफ्नो समर्पण साबित गर्न नै दुई दशकभन्दा बढी लाग्यो । संस्थापक अध्यक्ष महेन्द्र मानन्धरले शुरु गरेको यात्रा २३ औ बर्षमा कपिल रानामगरसम्म आइपुग्दा सयौं सारथी रहेका छन् ।

२०५४ सालमा स्थापना भएदेखि नै डि डिभिजन क्वालिफायरबाट घरेलु फुटबलमा पाइला टेकेको सातदोबाटो २०५६ सालमा सि डिभिजनमा बढुवा भयो । एक दशकपछि बि डिभिजनमा उक्लिएको सातदोबाटो बल्ल–बल्ल शिर्ष श्रेणीमा आएको छ ।

“एउटा सपना साकार भएको छ । यो लामो समयदेखिको प्रयास थियो । हामी पछिल्लो दुई सिजन चुक्यौं तर अब भने ए डिभिजन टोली बनेका छौं,” चैतसम्म कार्यकाल रहेका अध्यक्ष रानामगरले निकै गर्वका साथ भने

फुटबल र समाजसेवामा युवालाई अग्रसर बनाउन युथ क्लबका रुपमा स्थापित सातदोबाटोले नेपाली फुटबलमा योगदान दिने प्रमुख लक्ष्य लिएर हिंडेको थियो । र गर्यो पनि ।

“हामी धेरै वर्ष दोस्रो डिभिजनमा रह्यौ । यो अवधिमा निकै खेलाडी हुर्कायौं जस्तो लाग्छ । धेरै खेलाडी ए डिभिजनमा पनि पठायौं र कोही उमेर समुहको राष्ट्रिय टोलीमा पनि खेल्दै छन्,“ कपिल भन्छन् ।

कतिपय क्लबहरु लामो समय दोस्रो र तेस्रो डिभिजनमै रहि रहदाको थकानले बिलिन भएका उदाहरणहरु छन् । तर सातदोबाटोले फुटबलमा देखाएको लगाव र उसको खेलाडीहरुले क्लबको लागि देखाएको प्यासन तारिफ योग्य छ ।

सातदोबाटोका खेलाडीहरुले आफै क्लबको उपनाम दिएका छन् –– ‘रकेट गाइज’ । “हुन त हाम्रो केटाहरु आफैले राखेको नाम हो तर बिस्तारै यो क्लबको चिनारी बन्दै गएको छ । खेलाडीहरुको पेस र तिब्र गतिको खेलका कारण हामी रकेट गाइज हौ,“ म्यानेजर रविन खड्का भन्छन् ।

यही रकेट गाइजका पुराना दुई सदस्य हुन स्थानीय कप्तान बसन्त तमाङ र भेटेरान खेलाडी बिमल केसी ।

“सातदोबाटोमै हुर्किएको र कर्मथलो भएको कारण आफ्नो ठाउँको लागि केही गर्नुपर्छ भन्ने थियो । क्लबलाई शिर्ष श्रेणीसम्म पुर्याउन सफल भएका छौं तर अझै धेरै गर्नुछ,” चार वर्ष देखि सातदोबाटोका लागि खेलिरहेका कप्तान बसन्तले भने ।

क्लब शिर्ष श्रेणीमा उक्लिएसँगै भेटेरान बिमलको यात्रा पनि टुङ्गिएको छ । “क्लबले मलाई के दियो भन्दा पनि मैले क्लबलाई के दिए भनेर जहिल्यै सोच्थे । पहिले नै यो सिजन अन्तिम हुने भनेको थिए र ए डिभिजनमा उक्लदै बिदाइ लिन पाउनु मेरो लागि निकै खुशीको क्षण हुने छ,” ट्रान्सफर विन्डो र व्यवसायिकता बिहिन घरेलु फटबलमा एकै क्लबमा ६ बर्ष बिताएका बिमलले भावुक हुदै भने ।

क्लब स्थापनाको २३ बर्ष भइसके पनि सातदोबाटोको यात्रा अब शुरु भएको छ जहाँ अवसर कम छन् र चुनौति धेरै । शिर्ष श्रेणीका लागि एसियाका सदस्य राष्ट्रहरुले पुरा गर्नु पर्ने न्युनतम आवश्यकता नै उसको लागि पहिलो चुनौति हो । सातदोबाटोसँग न त अहिले घरेलु मैदान छ, न त खेलाडी उत्पादन गर्ने एकेडमी नै ।

“ए डिभिजनमा पुगेपछि अब हामी लाइसेन्सका लागि पनि अगाडि बढ्छौ । हाम्रो मुख्य लक्ष्य एकेडेमी र ट्रेनिङ ग्राउण्डको स्थापना गर्ने नै हो । यसका लागि हामीले गोदावरीमा उपयुक्त स्थानहरु पनि हेर्दै आइरहेका छौं,” रानामगरले भने ।

सातदोबाटो बि डिभिजन क्लबहरु मध्ये तुलनात्मक रुपमा राम्रो आर्थिक अवस्था भएको क्लब हो । आफ्नो भवनबाट उठ्ने बहालसँगै हिमालय डिस्टिलरी र प्रिमियर स्कुलको प्रायोजनमा चल्दै आएको क्लबले ए डिभिजन लिगमा उक्लिएपछि लगानीको माग अनुरुप अघि बढ्नै पर्नेछ ।

“हामी अझै फुटबलमा लागानी गर्ने सोचिरहेको छौं । धेरै बि डिभिजन क्लबहरु बढुवा हुँदै ए मा गए पनि रेलिगेसनका लागि संघर्ष गर्ने गर्छन् तर हामी एउटा योजना अनुसार अघि बढ्नेछौं । क्लबमा लगानी बढाउदै एकेडेमी र घरेलु मैदान बनाउन हामीलाई मुख्य चुनौति हुनेछ,” रानामगरले भने ।

Click to comment

Trending