लेख

आरबीबी–एनभिए राष्ट्रिय भलिबल प्रतियोगिता चैत १९ गतेदेखि

Published

on

नेपाल भलिबल संघ (एनभिए) को आयोजना र राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को मुख्य प्रायोजनमा पाँचौं आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता चैत १९ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहनेछ । दुवै बिधातर्फ एक चरणको राउण्ड रोविन लिगपछि शिर्ष दुई टिम फाइनलमा भिड्नेछन् । पुरुषमा एचएनसीएस क्लब, एपीएफ क्लब, नेपाल प्रहरी, नेपाली सेना, नयाँबजार सामाजिक युवा क्लब, बुद्ध टोल भलिबल क्लब, बुटवलको मणिमुकुन्द क्लब र वुलवुले रारा क्लब सहभागी हुँदै छन् ।

महिलामा एपीएफ, सेना, प्रहरी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषद्ले भाग लिने छन् । एनभिएका महासचिव जितेन्द्र चन्दका अनुसार प्रत्येक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् ।

पुरुष–महिला टिम र व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीका लागि समान पुरस्कार राशी राखिएको छ । शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३ लाख, १ लाख ५० हजार, ७५ हजार र ३७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही २५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकलाई समान १०–१० हजार नगदबाट पुरस्कृत गरिने छ ।

पुरस्कार राशीमा पनि पहिलेको भन्दा झन्डै ३ लाख रुपैयाँले बृद्धि गरिएको छ । कुल पुरस्कार राशी १२ लाख ९५ हजार रुपैयाँ रहेको छ । यसपटकदेखि खेलाडी र अफिसियलको विमा पनि गरिने संघले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपालको राष्ट्रिय खेल भलिबलसंग जोडिन पाउँदा खुशी लागेको बताए । भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले बैंकले भलिबल संघ प्रति देखाएको विश्वासका लागि धन्यवाद दिदै पाँचौं संस्करण पछि पनि बैंकको साथ र सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

Click to comment

Trending