उदयपुर त्रियुगा नगरपालिका देउरीकी २४ बर्षिया अमृता राइलाई घरेलु रक्सीको गन्धकोबानी परिसकेको छ । उनले नाक खुम्च्याउने हो भने घरको गुजारा चल्दैन । यसबाहेक उनले घरमा ११ वटा सुङ्गुर र एक दर्जन कुखुराको पनि स्याहार गर्नु पर्छ । यो संख्याले एक हिसाबमा गाँउ ठाँउमा परिवारको हैसियत नै निर्धारण गर्ने गर्छ । आफ्नो दैनिकी सामान्य बन्दै जाँदा उनको हरेक दिन यसैको सेरोफेरोमा बित्छ ।
आफूलाई हरेक कुरामा साथ दिने आमालाई एक बर्ष अघि गुमाएपछि अमृतामा जिम्मेवारीको थुप्रो छ । उनको बुवा पक्षघातले लामो समयदेखि ओछ्यानमै छन् । एक जना दाई र भाइले सघाउदै आए पनि अमृताको अस्तित्व नै अहिले उनको परिवारको अस्तित्व बनिसकेको छ ।
कलिलो उमेरमा उनले बाचिरहेको जीवन शहरको तामझामबाट बिल्कुल फरक छ । अमृता केही दिन अघि शहरमै थिइन् तर उनी काठमाडौंको रमझमको आनन्द उठाउन आएकी थिइनन् । जिम्मेवारी फरक बन्दा उनले महिला राष्ट्रिय लिग फुटबलमा चोदण्डीगढी नगरपालिकको रक्षापंक्ति सम्हालिन् । टिमको लागि उल्लेखनीय प्रदर्शन गरिन् र गर्वसाथ गाँउ फर्किन् ।
“समाजमा रक्सीलाई नकारात्मक रुपमा लिइन्छ नै । मलाई यो काम गर्न नपरेपनि हुन्थ्यो जस्तो लाग्छ । तर के गर्ने अरु कुनै बिकल्प छैन,” घर व्यवहारले थिचिएपछि १० कक्षामै पढाई छोड्न बाध्य अमृता भन्छिन् । “घरकी जेठी छोरी सबैको मसँग आशा हुन्छ । पढाई बीचमै छोडे त्यस पछि घरको काम पछाडि दौडिए । कहिले काही बलको पछाडी दौडन्छु ।”
चौदण्डीगढी नगरपालिका, उदयपुरकी अमृता राई
फुटबललेजोडिदिएकोपखेटा
अमृताले फुटबललाई लिएर ठूलो सपना बोकेकी होइनन् । चार बर्षदेखि फुटबल खेल्दै गर्दा उनलाई थिचेर राखेको जिम्मेवारीको बोँझबाट उनी मुक्त हुन्छिन् । कसैले हतकडी खोलेर पखेटा जोडेर उड्न लगाए जस्तो ।
“यँहा खेलेर केही हुन्छ जस्तो त लाग्दैन तर पनि खेल्न मन लाग्छ । फुटबलले मलाई खुशी दिन्छ । घरमा जति नै समस्या किन नहोस, फुटबल खेलेपछि म स्वतन्त्र महसुस गर्छु । घरमा पनि मैले यसमा सहयोग पाएको छु,” उनी भन्छिन् ।
महिला लिगले केही समयका लागि परिबन्धका कारण आइपरेको जिम्मेवारीबाट मुक्त गरेको १७ बर्षिया साबित्रि किसानलाई पनि हो । तर साबित्रीको भने सपना छ ।
वालिङ नगरपालिका, स्याङ्जाकी नम्बर वान गोलरक्षक साबित्री प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक मध्ये एक हुन् । आफूले गरेको कडा परिश्रमको कारण नै उनी उत्कृष्ट भएकी हुन् तर उनको मिहिनेत मैदानमा मात्रै सिमित छैन ।
वालिङ नगरपालिका, स्याङ्जाकी गोलरक्षक साबित्रा किसान
राष्ट्रिय स्तर र नेपालको अण्डर–१४ र अण्डर–१६ उमेर समुहको प्रतिनिधित्व गरिसकेकी साबित्री अरुको घर र होटेलमा लुगा धुन्छिन् । “म बिहान उठेर घरको काम गर्छु । घरमा बिहानको खाना बनाएर अरुको घर र यही एउटा होटेलमा लुगा धुने गर्छु,” ११ कक्षामा पढिरहेकी साबित्रीले आफ्नो नियमित दिनचर्याबारे बताइन् ।
“हप्तामा कहिले दुई वा तीन दिन अथवा कहिले चार दिन चाँही जानै पर्छ । अरु समयमा चाही आवश्यकता अनुसार काम गर्ने गर्छु,” निडर हुदै साबित्री भन्छिन् ।
साबित्री आफ्नो काम २ बजे अघि नै सकाउछिन् र वालिङ्गस्थित खेल मैदानमा अभ्यासमा जुट्छिन् । १४ वर्षको उमेर देखी फुटबल खेल्न थालेकी साबित्रीको जोशले धेरैलाई अचम्ममा पार्न सक्छ । एपिएफ विरुद्ध पहिलो लेगमा साबित्रा भण्डारीको तीन ’वान अन वान’ प्रहारलाई बचाएकी साबित्री सानो उमेरमै राम्रो खेलाडी बन्न सफल भएकी छिन् ।
अमृताले सोचे बिपरित उनी सबैलाई गतल साबित गरेर देखाउन चाहन्छिन् । “लिग खेल्न पाँउदा खुशी त छु नै तर केटीहरुले फुटबल खेल्न सक्दैनन् भन्ने धारणालाई गलत साबित गर्दा अझै बढी खुशी छु,” साबित्रीले भनिन् ।
साबित्रीलाई फुटबलले धेरै कुरा दिएको छ । उनलाई फुटबलमै लागेर नाम बनाउने इक्षा छ । उनी सिनियर राष्ट्रिय टोलीबाट खेल्न चाहन्छिन् र घरको भान्सामा सिमित रहेका धेरै महिलाहरुको लागि प्रेरणाको श्रोत बन्न चाहन्छिन् । यो यस्तो सपना हो जसलाई बिराटनगरकी कप्तान कल्पना कार्कीले पुरा गर्दै आइरहेकी छिन् ।
बिराटनगर महानगरपालिकाकी कप्तान तथा गोलरक्षक कल्पना कार्की तस्बिर: विवेक सुबेदी/ एन्फा
पुरुषफुटबलमाबिरलैदेखिनेसंघर्ष
मोरङकी गोलरक्षक तथा कप्तान कल्पनाले पढाई छोडेर फुटबल खेलेको ५ वर्ष भन्दा बढी भइसकेको छ । बिहान उठे देखि घरको काममा निकै व्यस्त रहने उनको सामान्य जस्तो देखिने आफ्नै होटलमा काम गर्छिन् र साँझ अभ्यासका लागि मैदान पुग्छिन् ।
कल्पनाको आमा फुटबलको निकै ठुलो फ्यान हुन् र त्यही कारणले पनि उनलाई खेल्नका लागि घरबाटै होसला मिल्दै आएको छ । सानो उमेर देखि घर र बहिरको काम गर्दै फुटबल खेल्न थालेकी कल्पना फुटबलमा अझ धेरै महिला आएको हेर्न चाहन्छिन् ।
“कसैले केही भन्ला की भन्ने डर पाल्ने हो भने त्यसले आफैलाई खादै जान्छ । छोरीहरुलाई प्राथमिकतामा राख्ने हो भने अझै महिला फुटबलमा बिकास हुन्छ जस्तो लाग्छ,” उनले भनिन् ।
अमृता, साबित्री र कल्पनाले दैनिक जीवनमै गर्दै आएको संघर्षका बावजुद फुटबललाई पछ्याउनुले महिलाहरुको जुझारुपनलाई प्रतिबिम्बित गर्छ । नेपालको पुरुष फुटबलमै यस्तो संघर्षको कथा बिरलै सुन्न पाइन्छ । उनीहरु महिला मात्र नभएर खेलमा लाग्ने जो कोहीका लागि पनि प्रेरणाका श्रोत बनिसकेका छन् ।