Headline

आईपिएलका १३ वटै संस्करणका सबैभन्दा महँगा खेलाडीहरु

Published

on

पैसा । इण्डियन प्रिमियर लिग मतलब पैसा । आईपिएलको स्टेडियममा चल्ने प्रतिस्पर्धाको रँिगबिरँगि माहौल एका तिर छदैछ । त्यो माहौल अघि नै आईपिएलले ठूलै माइलेज पाउने गर्छ, जब खेलाडीहरु अक्सनमा महँगो मुल्यमा किनिन्छन् । भारतीय घरेलु क्रिकेटमा त अझै पानी पुरी देखि आलिशान बँगलासम्म किसिमका कथाहरु हरेक संस्करणमा हेर्न अथवा पढ्न पाइन्छ । साच्चिकै आईपिएलले बिश्व क्रिकेटमा अर्थ क्रान्ति नै ल्याएको छ ।

यसले प्रत्यक्ष रुपमा भारतीय क्रिकेटलाई नै फाइदा गरेपनि भारतबाहेकका खेलाडीहरुको पनि काया पलट गर्ने गरेको छ । त्यसैले धेरै बिदेशी खेलाडीहरु आईपिएल खेल्नकै लागि भनेर आफ्नो राष्ट्रिय टोलीबाट सन्यास लिन थालेका छन् ।

२०२१ को आईपिएल शुरु हुन अझै दुई महिना बाकी नै भएपनि बिहिबार चेन्नईमा १४ औं सस्करणको प्रतियोगिताको लागि मिनि अक्सन हुन गइरहेको छ । त्यसअघि हेरौं आईपिएलको १३ वटै संस्करणका सबैभन्दा महँगो मुल्यमा किनिएका खेलाडीहरुः

२००८ – महेन्द्र सिँह धोनी (चेन्नई)

भारतले भर्खरै दक्षिण अफ्रिकामा भएको ट्वान्टी ट्वान्टी बिश्वकप पहिलो संस्करण जितेको थियो । र उसको जितका प्रमुख सुत्रधार धोनी नै थिए । १९८३ बिश्वकपछि भारतले पहिलो पटक त्यति ठूलो उपाधिको खुशीयाली मनाउदै थियो । त्यसैले धोनी पहिलो संस्करणमा सबै फ्रान्चाइजको लक्ष्य थिए ।

चार लाख डलर बेस प्राइस रहेका धोनीलाई चेन्नईले सबैभन्दा महँगो मुल्य लगायो । उनी १५ लाख डलरमा चेन्नईको लागि बिके । उनको मुल्या झण्डै नेपाली रुपैयामा झण्डै ९ करोड ६० लाख थियो । यो मुल्यको रिटर्न चेन्नईले पायो । पहिलो संस्करणमा चेन्नई उपबिजेतामै सिमित रहे पनि धोनीले पछि तीन संस्करणमा उसलाई च्याम्पियन बनाए ।

२००९ – एन्ड्रयु फ्लिन्टफ (चेन्नई) र केभिन पिटर्सन (बैंगलोर)

इङ्गल्याण्डका यी दुई महान खेलाडी संयुक्त रुपमा दोश्रो संस्करणको सबैभन्दा महँगो खेलाडी बन्न पुगे । रोयल च्यालेन्जर्स बैँगलोरले पिटर्सनलाई र चेन्नईले फ्लिन्टफलाई १५ लाख ५० हजार डलरमा खरिद गरेको थियो । नेपाली रुपैया अनुसार उनीहरुको मुल्य १२ करोडभन्दा बढी रहेको थियो ।

पिटर्सनले आफ्नो बेस प्राइस १३ लाख ५० हजार डलर राखेका थिए भने फ्लिन्टफले साढे ९ लाख । दुवै फ्रान्चाइजका लागि तिरिएको रकम बालुवामा पानी हाले सरह भयो किनभने अन्तर्राष्ट्रिय ड्युटीमा जानु परेपछि पिटर्सनले ६ म्याच खेले भने फ्न्टिफले मात्र तीन । पिटर्सनले ९२ रन मात्र बनाउदै चार विकेट लिए भने फ्लिन्टफको नाममा ६२ रन र दुई विकेट रह्यो ।

२०१० – शेन बोन्ड (कोलकाता) कायरोन पोलार्ड (मुम्बई)

न्युजिल्याण्डका तिब्र गतिका बलर शेन बोन्ड र वेष्ट इण्डिज अलराउण्ड कायरोन पोलार्ड तेश्रो संस्करणका सबैभन्दा महँगा खेलाडी रहे तर यसपटक भने खरिद गरिएको मुल्य निकै कम रहेको थियो । २ लाख डलर बेस प्राइस रहेका पोलार्डलाई मुम्बई इण्डियन्स र १ लाख डलर रहेका बोन्डलाई कोलकाता नाइट राइडर्सले खरिद गर्यो ।

उनीहरु सात लाख ५० हजार डलरमा बिकेका थिए, नेपाली रुपैया अनुसार झण्डै साढे पाँच करोड । उनीहरुको लागि यो भन्दा बढी मुल्य लगाउन पाइने थिइएन ।

एक मात्र सिजन खेलेका बोन्डले त्यो बर्ष ८ खेलबाट ९ विकेट लिएका थिए । मुम्बईको लागि भने पोलार्डमा लगाइएको मुल्य फलिफाप भयो । उनले १४ खेलमा राम्रो स्ट्राइकर रेट मेन्टेन गर्दै १४ म्याचमा २ सय ७३ रन बनाए भने १५ विकेट समेत लिएका थिए । मुम्बई २०१० मा उपबिजेता रहे पनि पोलार्ड अहिले भने फ्रान्चाइजको लेजेण्ड खेलाडीको रुपमा रहेका छन् ।

२०११ – गौतम गम्भिर (कोलकाता)

भारतलाई २०११ को बिश्वकप फाइनलमा जितका लागि मुख्य भुमिका खेलेका गौतम गम्भिर जनवरीमा भएको अक्सनमा कोलकाताले २४ लाख डलरमा खरिद गरेको थियो । यो नेपाली मुल्य अनुसार १७ करोड ६४ लाख नजिक रहेको थियो । उनले आफ्नो बेस प्राइस मात्र २ लाख डलर राखेका थिए ।

त्यहि सिजनदेखि नै गम्भिरले कोलकोताको नेतृत्व गर्न थालेका थिए । १५ इनिङ्गसमा ३ सय ७८ रनसहित चौथो संस्करणको दोश्रो सर्वाधिक रन स्कोरर रहेपनि उनी कोलकातालाई २०१२ र २०१४ को उपाधि दिलाउदै आईपिएल इतिहासको सफल मध्येका एक कप्तानको रुपमा रहन पुगे । उनले शाहरुख खानको टोलीका लागि ६ बर्ष खेलेका थिए ।

२०१२ – रविन्द्र जडेजा (चेन्नई)

अलराण्डर रविन्द्र जडेजा फिल्डिङ्ग, ब्याटिङ्ग र बलिङ्ग तीन वटै क्षेत्रमा निपूण रहेका कारण उनी आइपिएलको अक्सन सबैले खोजेका खेलाडी बनिसकेका थिए । उनलाई धोनीले नै भारतीय टोलीमा प्राथमिकतामा राखेका थिए । र यसपटक बाजी मार्यो चेन्नईले ।

एक लाख डलर बेस प्राइस रहेका जडेजालाई धोनीको टोलीले २० लाख डलर तिर्यो, त्यो समयको नेपाली मुल्य अनुसार साढे १५ करोड भन्दा बढी । २०१२ को सिजनमा जडेजाले १९ खेलमा १ सय ९१ रन बनाउदै १२ विकेट लिए । चेन्नई उपबिजेता बन्यो । अहिले जडेजा पहिले भन्दा बढी निखारिएका छन् ।

२०१३ – ग्लेन म्याक्सवेल (मुम्बई)

म्याक्सवेल मुम्बईबाट पनि खेलेका थिए र ? शायद धेरैको मनमा आउने प्रश्न यही नै हो । राष्ट्रिय टोलीमा तहल्का मच्चाउने म्याक्सवेलको आईपिएल इतिहास सोचे जस्तो कहिल्यै हुन सकेको छैन । तर उनी २०१३ संस्करणको सबैभन्दा महँगा खेलाडी थिए ।

२ लाख डलर बेस प्राइस रहेका म्याक्सवेललाई मुम्बईले १० लाख डलरमा खरिद गर्यो, नेपाली मुल्य अनुसार झण्डै साढे ८ करोड । पहिलो सिजन मुम्बईका लागि मात्र तीन म्याच खेलेका म्याक्सवेलले ३६ रन बनाएका थिए । उनको प्रदर्शन उच्च नरहेपनि टिमहरुले भने अझै पनि म्याक्सवेलमा बिश्वास राख्ने गरेका छन् ।

२०१४ – युवराज सिँह (बैगलोर)

दुई करोड बेस प्राइस राखेका भारतीय अलराउण्डर युवारज सिँह क्यान्सरसँगको लडाइपछि पूर्ण रुपमा फिट भएर फर्किसकेका थिए । उनलाई लिनु फ्रान्चाइजहरुको लागि पनि गर्वको कुरा थियो । त्यसैले युवराजमाथि हानाथाप भयो ।

अन्त्यमा उनलाई लामै मोल–मोलाईपछि १४ करोड भारतीय रुपैयामा रोयल च्यालेन्जर्स बैँगलोरले लियो । नेपाली मुल्य अनुसार उनी झण्डै साढे २२ करोडमा बिकेका थिए । रन बनाएपनि उनको प्रदर्शन एक समान हुन सकेको थिएन । १४ खेलबाट युवराजले ३ सय ७६ रन जोडे । युवराजले पाँच विकेट पनि लिएका थिए ।

२०१५ – युवराज सिँह (दिल्ली)

एक बर्षपछि भएको अक्सनमा पनि युवराज हेडलाइनमा छाए । उनी लगातार दुई सिजन आईपिएलको सबैभन्दा महँगो खेलाडी बने । फेरि पनि २ करोड बेस प्राइस राखेका उनलाई दिल्ली डेयर डेभिल्सले १६ करोड भारतीय रुपैयामा खरिद गर्यो । नेपाली मुल्य अनुसार यो २५ करोड ६० लाख रुपैया बराबर थियो ।

पछिल्लो संस्करणहरुमा जस्तै २०१५ मा भने उनको सिजन राम्रो गएन । उनले १४ खेलबाट २ सय ४८ रनमात्रै बनाए भने एक विकेट मात्र लिएका थिए ।

२०१६ – शेन वाट्सन (बैँगलोर)

एक सिजन छोडर बैँगलोर एक पटक फेरि एकै खेलाडीमा सबैभन्दा बढी पैसा खर्च गर्ने टिम बन्यो । यसपटक उसले अष्ट्रेलियन अलराउण्डर शेन वाट्सनमा ठूलै मुल्य खर्च गर्यो । दुई करोड बेस प्राइस रहेका वाट्सनलाई बैँगलोरले साढे ९ करोड भारतीय रुपैया (१५ करोड २० लाख नेपाली) मा लिएको थियो ।

वाट्सन आईपिएल इतिहासमा जहिल्यै ठूलो नामको रुपमा रहेका थिए । तर एक पटक पनि उपाधि नजितेको बैँगलोर आएपछि उनलाई पनि के भयो थाहा छैन । उनले १६ खेलमा १ सय ७९ रन मात्र बनाए । ब्याटबाट नभएपनि उनले बलिङ्गमा भने २० विकेट लिदै सर्वाधिक विकेट लिने बलरको सुचीमा तेश्रो स्थान पाए । बैँगलोर त्यो सिजन उपबिजेता रहेको थियो ।

२०१७ – बेन स्टोक्स (पुने)

चेन्नई सुपर किंग्स दुई बर्षको प्रतिबन्धमा परेपछि उक्त फ्रान्चाइजको स्थान राइजिङ्ग पुने सुपरजायन्ट्सले लिएको थियो । पुने टोली अहिले आइपिएलमा छैन । तर आफ्नो दोश्रो सिजनमा पुनेले इङ्गल्याण्ड अलराउण्डर स्टोक्सलाई सबैभन्दा महँगो खेलाडी बनायो ।

स्टोक्स १४ दशमलव ५० करोडमा पुने गए । यो नेपाली मुल्य अनुसार २३ करोड २० लाख रुपैया हो । पहिलो पटक आईपिएल खेलेका स्टोक्सले निकै ठूलो छाप छोड्न सफल भए । १२ खेलमा ३ सय १६ रन र १२ विकेट लिएका उनी प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका थिए ।

२०१८ – बेन स्टोक्स (राजस्थान)

एक सिजन अगाडी मोस्ट भ्यालुएबल प्लेयर घोषित स्टोक्स अर्को बर्ष सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्नु कसैको लागि नौलो कुरा थिएन । दुई बर्षको प्रतिबन्धपछि फर्किएको राजस्थान रोयल्सले स्टोक्सलाई साढे १२ करोड (२० करोड नेपाली रुपैया) मा लिएको थियो । तर यसपटक भने स्टोक्सले सोचे अनुरुपको प्रदर्शन दिन सकेनन् । उनले १३ खेलमा १ सय ९६ रनमात्र बनाउदै ८ विकेट लिए ।

२०१९ – जयदेव उनाद्कत (राजस्थान) र बरुण चक्रवर्ती (पञ्जाब)

लामो समयपछि आईपिएलमा फेरि एक पटक दुई खेलाडी सबैभन्दा महँगो मुल्यमा खरिद भएका थिए । डेढ करोड बेस प्राइस रहेका बायाँ हाते तिब्र गतिका बलर जयदेव उनाद्कतलाई राजस्थान रोयल्स र मात्र २० लाख बेस प्राइस रहेका उदीयमान अलराउण्डर बरुण चक्रवर्तिलाई किंग्स एलेभेन पञ्जाबले महँगो मुल्यमा अनुबन्ध गर्यो । दुई फ्रान्चाइजले उनीहरुको लागि समान साढे ८ करोड भारु तिरेका थिए, नेपाली मुल्य अुनसार १३ करोड ६० लाख ।

दुवै खेलाडीको लागि सिजन भने निकै निराशाजनक रहेको थियो । उनाद्कतले ११ खेलमा मात्र १० विकेट लिए भने एक खेलमात्र खेल्न पाएका बरुण औलामा लागेको चोटका कारण प्रतियोगिताबाटै बाहिरिएका थिए ।

२०२० – प्याट कमिन्स (कोलकाता)

अष्ट्रेलियन तिब्र गतिका बलर प्याट कमिन्स आईपिएलमा सबैभन्दा कम देखिने खेलाडीहरुमध्ये पर्ने गर्दछन् । तर पनि उनलाई लिन फ्राञ्चाइजहरुको तछाड मछाड हुने गर्दछ । दुई करोड बेस प्राइस रहेका कमिन्सलाई उनकै पुर्व फ्रान्चाइज कोलकोताले साढे १५ करोड (२४ करोड ८० हजार नेपाली रुपैया) तिरेको थियो ।

कोरोना भाइरसका कारण ढिलो गरेर युएईका खाली रँगशालामा खेलाइएको १३ संस्करणको र्आपिएलमा कमिन्सले १४ म्याचबाट १२ विकेट लिएका थिए । एक अद्र्धशतक पनि प्रहार गरेका उनले कुल १ सय ४६ रन समेत बनाएका थिए ।

Click to comment

Trending