Headline

ओ कुसुम !!!

Published

on

बिराटनगर महानगरपालिका मोरङकी कुसुम खतिवडाले राष्ट्रिय महिला लिगमा रौटहटको चन्द्रपुर नगरपालिका विरुद्ध ह्याट्रिक गरिन । उनी भर्खर १४ वर्ष कि भइन् ।

आफ्नो उमेरलाई नै छक्याउदै परिपक्व प्रदर्शन गर्न सफल कुसुमको कुदाइले धेरैको मन जितेको थियो । ती मध्ये एक थिए उनको टोलीका प्रशिक्षक पारस चौधरी । “उनी निकै राम्री छिन् । शायद ठूलै खेलाडी हुन्छिन्,” कुसुमको खेलको खुलेरै प्रशंसा गर्दै चौधरीले भनेका थिए ।

चौधरीपछि आफूतीर अनपेक्षित प्रश्न आउदा मुकुक्क मस्काउदै “हुन सक्छु” मात्र भन्दै कम बोल्ने स्वभाव भएको स्पष्ट पारेकी कुसुम नेपाली घरेलु महिला फुटबलमै सबै भन्दा कम उमेरमा ह्याट्रिक गर्ने खेलाडी पनि थिइन् ।

“यहा सम्म आँउछु जस्तो त कहिल्यै लागेको थिएन । मैदानमा खेल्न पाउदा निकै खुशी छु,” प्रतिस्पर्धात्मक मञ्चमा प्रदर्शन गर्न पाउदा मात्रैको खुशी उनीमा स्पष्ट झल्कन्छ ।

सिनियर महिला घरेलु फुटबलमा कम उमेरमा ह्याट्रिक गर्ने किर्तिमान राखेको उनलाई हेक्का नै थिएन । “ह्याट्रिक हाने तर म सबैभन्दा योङ खेलाडी रहेको पछि मात्र थाहा पाए । सुन्दा निकै खुशी लाग्यो, अब अझै मेहेनत गर्नुछ ।”

बिपक्षी डिफेन्डरलाई बिट गर्दै बलसँगै कुद्ने उनको खुबी निकै आकर्षक छ । १४ वर्षको उमेरमै कुसुमले देखाएको परिपक्वताले नेपाली महिला फुटबललाई एउटा दिशा भने दिन सफल भएको छ किनभने उनी प्रतियोगितामा समावेश कम उमेरका खेलाडीहरुको जमात मध्येको एक हुन् ।

पहिलो पटक प्रयोगमा आएको महिला लिगमा युवा खेलाडीहरुको संख्या ठूलै छ । सम्भवतः दक्षिण एसियामा हुने महिला लिगहरुको तुलनामा नेपालले सबै भन्दा धेरै युवा खेलाडीहरु उतारेको छ ।

सहभागी सात मध्ये चार नगरपालिका टोलीमा शुरुवाती एघारको औषत उमेर नै १८ बर्ष रहेको छ । बाँकी रहेका तीन बिभागीय टोलीहरुको २२ ।

स्याङजाको वालिङ नगरपालिका सबैभन्दा युवा टोली हो । सिँगो टोलीको औषत उमेर १७ वर्ष रहदा २२ बर्षकी क्यामरुनी खेलाडी डोज्मो भेनेसा नोलनै सबैभन्दा जेठी खेलाडी हुन् । र, वालिङ प्रतियोगिताका नगरपालिका टोलीहरु मध्ये सबै भन्दा बलियो देखिन्छ ।

दुई अण्डर–१७ विश्वकप खेलेका र एक राष्ट्रिय टोलीका लागि बोलाइएका खेलाडीका साथ वालिङ बिभागीय टोली नेपाल पुलिसलाई उछिन्दै तेस्रो स्थानमा रहेको छ । निकै युवा र अनसभवहीन टोली भए पनि वालिङका प्रशिक्षक दिलिप थापा आफ्नो टिमको हरेक पोस्ट म्याच कन्फ्रेन्समा खुशी देखिन्छन् ।

चन्द्रपुरलाई नेपाली महिला फुटबलको खेलाडी उत्पादन फ्याक्ट्रीको रुपमा लिइने गरिन्छ तर आफ्ना स्थापित खेलाडीहरु बिभागमा बाडिदा अहिले नगरपालिका टोलीको औषत उमेर १७ बर्ष मात्रै छ ।

चन्द्रपुरका खेलाडीहरुको बडी ल्याङ्गवेज फरक छ र उनीहरुमा फुटबलप्रति देखिएको ‘प्यासन’ अन्य टोलीको तुलनामा अलि बढी नै छ । बिराटनगरसँग ५–० ले पराजित हुदा नथामिएको आँशु होस वा शुरुवाती एघारका चार खेलाडी घाइते हुँँदा पनि एक दिनको अन्तरमा त्रिभुवन आर्मीसँग खेलेको खेल, चन्द्रपुरको युवा खेलाडीहरुलाई निराशा के हो थाहा छैन ।

चन्द्रपुर नगरपालिका महिला टोलीमा पनि अनुभवको कमि भएपनि जोशले भरिपूर्ण छ ।

लिग दावेदार एपिएफ क्लब र जारी लिगकी एक मात्र महिला प्रशिक्षक भगवती थापा अन्य टोलीहरुको औषत उमेर सुनेर निकै अचम्मित छिन् । “नेपालको सन्दर्भमा महिलाले यति सानो उमेरमै फुटबल खेल्न थाल्नु निकै ठुलो कुरा हो । १४ वर्षको उमेरमै राष्ट्रिय लिग खेल्न धेरै कुरा आफ्नो साथमा हुनु पर्छ,” भगवती भन्छिन् ।

राष्ट्रिय टोलीकी पुर्व डिफेन्डर भगवतीले हाल सम्हालिरहेको एपिएफ टोलीको औषत आयु २२ बर्ष छ । उनी आफ्नो टोली बलियो भए पनि युवा खेलाडीहरुले भरिएको अन्य टोलीले निकै उत्कृष्ट खेल खेलेको देख्दा खुशी लाग्ने गरेको बताउछिन् ।

“१४ वर्षमा लिगको लागि तैयार हुन कम्तीमा पनि ८ वर्षको उमेर देखी फुटबल बुझाएको हुनुपर्छ र त्यही सोच्दा पनि आनन्द लाग्छ । अहिले देखिएका सबै युवा खेलाडीहरुले निकै राम्रो अभ्यास पाएका छन्, त्यो पनि सानो उमेरमै । यही कारणले पनि नेपाली महिला फुटबल निकै माथि उठोस् भन्ने चाहना छ,“ आफू खेल्न थालेको समयदेखि अहिले आएको फरकले अचम्मित उनी भन्छिन् ।

राष्ट्रिय महिला लिग कमिटीकी अध्यक्ष पुर्व फुटबलर पेमा डोल्मा लामा पनि लिगमा महिला युवा खेलाडीहरुले देखाएको प्रदर्शन देख्दा भविष्य हेर्नका लागि उत्साहित छिन् ।

“कोरोनाका कारण एक वर्ष लिग सर्यो तर अहिले पनि केही चुनौतीहरुको वावजुद हामीले प्रतियोगिता गर्दैछौं । युवा खेलाडीहरुको उपस्थितिले राम्रो भविष्यको संकेत गर्छ । म त्यही हेर्न चाहन्छु,” लामाले भनिन् ।

दक्षिण एसियामा नेपाललाई उत्कृष्ट टोलीको रुपमा लिइए पनि महिला फुटबललाई अझै धेरै कुराको खाँचो छ । ‘इक्वल पे’ र राष्ट्रिय लिग त छँदै छ तर पनि प्रशिक्षक थापालाई भने लिगले निरन्तरता पाए आउने वर्षहरुमा नेपाली टोलीबाट धेरै आशा राख्न सकिने लागेको छ ।

बिदेशी खेलाडीको आगमन हुनु युवा खेलाडीहरुको लागि निकै राम्रो सिक्ने अवसर हो ।

“मुख्य कुरा प्रतियोगितालाई लामो बनाउदै निरन्तरता दिनु नै हो,” आफै हौसिदै भगवतीले भनिन् । “यदी महिला फुटबलको भविष्य बारे सोच्ने हो भने महिलालाई फुटबलमा कसरी ल्याउने त्यो सोच्नु पर्यो । हरेक टोलीमा एक महिला प्रशिक्षक अथवा सहायक प्रशिक्षाक अनिवार्य होस् वा आउने पुस्तामा अझै महिला प्रशिक्षक बढाउने काम होस् ।”

महिला कमिटीकी अध्यक्ष लामा लिगलाई फुटबल मात्र नभएर महिलाको उत्थान गर्न सक्ने मञ्चको रुपमा लिन चाहन्छिन् । “यहाँका सबै खेलाडीहरु छनोट चरण पार गर्दै यहाँ सम्म आएका हुन् । यो लामो दुरी तय गर्न मानसिक रुपमै सशक्त भएर आइपुग्नु पर्छ । यसले अन्त्यमा उत्थान गर्ने भनेको महिलाकै हो ।

१२ वर्षको उमेरमा फुटबल सिकेकी कुसुम त्यसको २४ महिना  भित्रै राष्ट्रिय फुटबलमा उत्रन सक्नु सफलताको रुपमा मान्नै पर्छ । घरमा दाईले खेल्दै गर्दा कुसुमलाई सानै उमेरमा फुटबलले लोभ्याएको थियो । उनको दिमाग भिन्न किसिमले बिकसित हुन थालिसकेको छ ।

बिहान स्कुल गएर साँझ घर फर्कने उनको सामान्य दैनिकीमा अहिले परिवर्तन भएको छ । शायद यो प्रतियोगिताको समाप्तिपछि उनी अझै परिस्कृत हुनेछिन् ।

र उनीसँगै लिगमा भिडिरहेका अन्य युवा खेलाडीहरु पनि ।

तस्बिर: बिबेक सुवेदी/एन्फा

Click to comment

Trending