लेख

यो सिजन फ्रि ट्रान्सफरमा जान सक्ने उत्कृष्ट ११ कस्तो छ ?

Published

on

लियोनल मेस्सी । जारी सिजनको शुरुवातमै बार्सिलोना छोड्ने असफल प्रयासले तरङ्गित बनेको बिश्व फुटबल यो जुनमा फेरि एक पटक तरङ्गित हुनेछ । नयाँ ट्रान्सफर सिजनमा तर मेस्सी एक मात्र नाम होइनन् । अन्य धेरै स्टार खेलाडीहरु छन् जसको हालको सम्झौता आफ्नो क्लबसँग अन्त्य हुदैछ र उनीहरु फ्रि एजेन्टको रुपमा नयाँ क्लब जानेछन् ।

को–को छन् त यस्ता ठूला नामहरु ?

जियनलुईजी डोनारुमा (एसि मिलान)

एसि मिलानको यो सिजनको प्रदर्शनले आकाश छोइरहेको छ । उ सिरी आ मा शिर्ष स्थानमा छ र इटालीका नम्बर एक गोलकिपर डोनारुमाको प्रदर्शन पनि उल्लेखनीय रहदै आएको छ । १६ बर्षको उमेरमा डेब्यु गरे यता डोनारुमाले २ सय भन्दा बढी खेल खेलिसकेका छन् ।

हाल २१ बर्षका डोनारुमा युरोपमा सबैभन्दा बढी खोजिएका गोलकिपरहरुमध्ये पर्दछन् । र उनको मिलानसँगको सम्झौता पनि समाप्त हुन गइरहेको छ । उनलाई लिनका लागि क्लबहरुले कम्तिमा पनि ५० मिलियन पाउण्डबाट सम्झौता अघि बढाउनेछन् । हालका लागि भने सम्झौताको कुराहरु अघि बढेको छैन ।

जेरोम बोआटेँग (बायर्न म्याुनिख)

बुन्डेसलिगामा एक पटक फेरि शिर्ष स्थानमा बायर्न म्युनिखले आफ्नो दबदबा कायमै राख्दा बोआटेँगले हरेका खेल खेलका छन् । ३२ बर्षिय बिश्वकप बिजेता बोआटेँग बिश्व फुटबलकै सबैभन्दा सशक्त डिफेन्डरमध्ये पर्छन् ।

पुर्व म्यानचेस्टर सिटी डिफेन्डर बोओटेँगको सम्झौता पनि यसै ट्रान्सफर सिजनमा सक्किदै छ । बायर्नले उनको लागि कुनै पनि छलफल अगाडी बढाएको छैन । उनी सबैभन्दा बढी खोजिने डिफेन्डर बन्न सक्छन् ।

सर्जियो रामोस (रियल म्याड्रिड)

रियल म्याड्रिडका लागि झण्डै ७ सय खेल खेलिसकेका रामोस बिश्वकै उत्कृष्ट डिफेन्डर हुन् भन्दा शायद कसैको लागि बिवादको कुरा नबन्ने तय छ । मुख्य कुरा उनले डिफेन्डर भएरै पनि १ सय गोल गरिसकेका छन् ।

मार्चमा रामोस ३५ बर्षका हुनेछन् । रियलले उनलाई एक बर्षको अर्को सम्झौता प्रस्ताव गरेको छ तर उनको तलब सातामा १० दशमलव ५ मिलियन पाउण्डबाट ८ दशमलव ८ मिलियनमा घटाइएको हुँदा उनले एक पटक फेरि सोच्नेछन् । रामोसले यो सिजन रियलका लागि धेरै खेल खेलेका पनि छैनन् । इन्जुरी उनको लागि खस्कदो रियल म्याड्रिड छोड्ने एउटा बहाना पनि हुन सक्छ ।

डेभिड आलाब (बार्यन म्युनिख)

बोओटेँगसँगै यो सिजन जर्मन महारथी बार्यन छोड्न सक्ने डिफेन्डरमा अष्ट्रियन आलाबा दोश्रो हुन सक्छन् । उनको बायर्नसँगको नयाँ सम्झौता एक पटक असफल पनि भइसकेको छ । मिडफिल्डमा पनि खेल्न सक्ने २८ बर्षिय आलाबा फ्रि ट्रान्सफरमै रियल म्याड्रिड जान सक्ने आँकलन गरिएको छ । त्यहा उनले कर पनि २ लाख ४ हजार पाउण्ड प्रति हप्तासम्म कमाउन सक्छन् ।

फर्नान्डिन्हो (म्यानचेस्टर सिटी)
३५ बर्षिय ब्राजिलियन फर्नान्डिन्होले म्यानचेस्टर सिटीका लागि ३ सय खेलभन्दा बढी खेलिसकेका छन् । फर्नान्डिन्होले सिटीका लागि तीन लिग उपाधि र दुई एफए कप जितिसके पनि व्यवस्थापक पेप ग्वार्डियोला आफ्नो मिडफिल्डमा युवा जोश देख्न चाहन्छन् ।

फर्नान्डिन्हो आफ्नो भविष्यलाई लिएर अनिर्णित छन् र उनलाई दक्षिण अमेरिकी लिगहरुबाट पनि पर्याप्त प्रस्तावहरु आएको पुष्टि भइसकेको छ ।

जर्जिनियो वाइनाल्डम (लिभरपुल)
लिभरपुलका लागि नयाँ सम्झौतामा हस्ताक्षर नगरेका नेदरल्याण्ड्स अन्तर्राष्ट्रिय वाइनाल्डम च्याम्पियन्स लिग र प्रिमियर लिग जित्ने खेलाडीहरुमध्ये लिभरपुल छोड्ने पहिलो खेलाडी हुन सक्छन् । ३० बर्षिय वाइनाल्डम आफ्नो बच्चै देखि बार्सिलोनाबाट खेल्ने सपना पुरा गर्न सक्छन् र नेदरल्याण्ड्सकै रोनाल्ड कोमन क्याटल क्लबको प्रशिक्षक हुदा यो उनका लागि सहज हुन सक्छ ।

मेम्फिस डिपे (लियोन)

म्यानचेस्टर युनाइटेडमा फ्लप भएका डिपेले आफ्नो करिअरलाई फ्रेञ्च क्लब लियोनमा गति दिए । लियोनलाई लिग वानमा बलियो टोलीको रुपमा स्थापित गर्न महत्वपूर्ण भुमिका खेलेका डिपेले नयाँ सम्झौतामा हस्ताक्षर गर्न बाकी छ ।

२६ बर्षिय डच मिडफिल्डर डिपेको नाम पछिल्लो समय बार्सिलोनासँग जोडिएको छ भने उनलाई लिनका लागि बोरुसिया डर्टमण्डले पनि इच्छा देखाइरहेको छ ।

युलियन ड्राक्सलर (पेरिस सेन्ट जमाईन)

जर्मन बिश्वकप बिजेता ड्राक्सलर यो सिजन पिएसजीको टिममा भित्र र बाहिर हुदै आइरहेका छन् । २७ बर्षिय ड्राक्सलर आफ्नो सम्झौता लिग वान टोलीमै समाप्त गर्न चाहन्छन् र अर्को मार्च फ्रि एजेन्टको रुपमा हेर्न चाहन्छन् तर पर्याप्त खेल्ने समय नपाउदा उनलाई पिएसजीमै बस्न शायद नैतिकताले पनि नदेला ।

एन्जेल डि मारिया (पेरिस सेन्ट जर्माइन)

क्लब करिअरमा जता पनि ठूलो क्लबबाट मात्रै खेल्ने गरेका डि मारिया बिश्व फुटबलका गिने चुनेका नामहरुमा पर्दछन् । म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र पिएसजी, डि मारियाको क्लब करिअर तारिफयोग्य नै छ ।

अर्जेन्टिनी राष्ट्रिय टोलीका तीन प्रमुख खेलाडीमध्ये यो सिजन सम्झौता समाप्त हुने मध्ये डि मारिया एक खेलाडी हुन् । युनाइटेड र रियलमा खासै प्रभावकारी नदेखिएका डि मारिया पिएसजीले चार पटकको घरेलु लिग उपाधि र च्याम्पियन्स लिग फाइनल जित्दाका प्रमुख खेलाडी नै हुन । यसै सिजन सम्झौता समाप्त हुन गइरहदा उनी आफ्नो भविष्यलाई लिएर भने चुप लागेर बसेका छन् ।

लियोनल मेस्सी (बार्सिलोना)

बिश्व फुटबलकै उत्कृष्ट खेलाडी कुनै मुल्य नलाग्दै खरिदका लागि उपस्थित छन् ? यो सुन्दा अनौठो नै छ तर यथार्थ यही नै हो । यसै सिजनको शुरुवातमा आफ्नो बालापन देखिको क्लबसँग घम्सा घम्सीमा लागेका मेस्सी यो जुनमा फ्रि एजेन्टकै रुपमा अन्य क्लब जान सक्नेछन् ।

रोनाल्ड कोमनले केही दिन अगाडी मेस्सी बार्सिालोनामा फेरि खुशी हुन थालेको बताए पनि उनी स्पेन नबस्न लगभग तय नै छ । तर ३३ बर्षिय मेस्सीलाई खरिद गर्नका लागि अथाह पैसा खर्च गर्नका लागि क्लबहरु तैयार हुन पर्नेछ । शायद यसको लागि एक दुई वटा क्लबबीच ठूलै मोल मोलाई हुने पनि छ ।

मेस्सीलाई फ्रेञ्च क्लब पिएसजीले लिन सक्छ भने प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले पनि । दुवै क्लबले यो सिजनको शुरुवाती ट्रान्सफरमा पैसा धेरै खर्च नगरेको र अब मेस्सी नै उनीहरुको प्रमुख लक्ष्य हुन सक्नेछन् ।

सर्जियो अगुएरो (म्यानचेस्टर सिटी)

म्यानचेस्टर सिटीको क्लब इतिहासका सर्वाधिक गोलकर्ता अगुएरोले यो सिजन चोटका कारण अत्याधिक खेलहरु छुटाउदै आएका छन् । ३२ बर्षको उमेरमा प्रवेश गरिसक्दा उनलाई पेप ग्वार्डियोलाले प्रतिस्पर्धात्मक लिगको स्तरका लागि फिट बनाउन सक्छन् की सक्दैनन् आफ्नो ठाँउमा छ ।

मिडियामा आएको रिपोर्ट अनुसार उनले हाल पाइरहेको २ लाख ६० हजार पाउण्डमा आधा कटौति गर्ने हो भने मात्र उनी सिटीमा बस्न सक्नेछन् । यो सम्झौता अगुएरोले नचाहेको हुन सक्छ । शायद सिटी मेस्सीको लागि अगुएरोको तलबमा कटौति गर्दैछ की ?

Click to comment

Trending