Headline

फुटबलमा थापिएका ५ अचम्मका बाजीहरु

Published

on

नेपाली शब्दकोश अनुसार बाजी शब्दको अर्थ कुनै पनि खेलमा दुई टिमबीच हार जित हुँदा राखिने शर्त वा त्यसको अनुमानमा थापिने पैसा हो । तपाईहरुले धेरै खेलहरुमा आफ्ना साथीभाईसँग पक्कै पनि बाजी राख्नु भएकै होला । आज हामी फुटबलमा भएका यस्ता अचम्मका बाजीहरुको कुरा गर्दैछौं जुन पढेर तपाई चकित पर्नु हुनेछ ।

५. लियोनल मेस्सी र मार्कस रोहो

यो सन् २०१९ अप्रिलको कुरा हो । च्याम्पियन्स लिग अन्तर्गतको खेलमा घरेलु टोली स्पेनिस क्लब बार्सिलोनाले इङ्गलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबीचको खेल भइरहेको थियो । अर्जेन्टिनी राष्ट्रिय टोलीका साथीहरु मार्कस रोहोले मेस्सीलाई जिस्क्याउने कुरा गरे ।

खेल शुरु हुने समयमा रोहोले मेस्सीलाई “सधैं बायाँ खुट्टाले गोल गर्छौ आज दायाँ खुट्टाले गोल गरेर देखाऊ” भनेर जिस्काए । त्यती मात्र के भनेका थिए मेस्सी रोहो भएको ठाउँमा गए र भने: “पिर नगर म आज दायाँ खुट्टाले गोल गर्छु ।”

त्यसको २० मिनेट पनि नबित्दै मेस्सीले आफ्नो दायाँ खुट्टाको प्रयोग गर्दै गोल गरे । मेस्सी त्यतिमा मात्र थामिएनन् । उनले पहिलो हाफ सकिए पछि आफुले लगाएको जर्सी फुकालेर रोहोलाई दिए र भने: “यहि जर्सी लगाएर मैले तिमीले भनेको अनुसार नै गोल गरे । ल राख यो जर्सी तिमी नै ।”

४. ज्लाटन इब्राहिमोबिच र रोमेलु लुकाकु

स्विडिस खेलाडी ज्लाटन इब्राहिमोबिचलाई कसैले घमण्डी खेलाडीका रुपमा चिन्छन् भने कसैले स्ट्रेट फरवार्ड व्यक्तित्वका रुपमा चिन्छन् । तर उनी यस्ता खेलाडी हुन् जो आफु मात्र राम्रो र उत्कृष्ट नभएर आफ्ना खेलाडी साथीहरुको पनि प्रगती भएको हेर्न चाहन्छन् ।

सन् २०१७ मा ज्लाटन म्यानचेस्टरमा हुँदा उनले रोमेलु लुकाकुसँग एउटा बाजी राखे । उनले लुकाकुले खेलका क्रममा बलमा राम्रो नियन्त्रण राखेको खण्डमा प्रत्येक नियन्त्रणका लागि ७० पाउण्ड दिने प्रस्ताब राखे । लुकाकुले प्रश्न गरेः “यदि मैलें सबै बलमा राम्रो र उत्कृष्ट नियन्त्रण गर्न सकें भने के गर्छौ ?” र ज्लाटनको उत्तर थियो “केहि न केहि । त्यो गर्न सक्यौ भने तिमी राम्रो खेलाडी बन्छौ ।” ज्लाटनका अनुसार लुकाकुले यो बाजी कहिले पनि स्विकार गरेनन् ।

३. क्रिष्चियानो रोनाल्डो र उनका दाई ह्युगो

सन् २०१४ मा क्रिष्चियानो रोनाल्डोका दाजु ह्युगो रक्सी र लागु पदार्थको कुलतमा यति धेरै फसेका थिए कि उनी त्यसबाट उम्किन सकिरहेका थिएनन् । आफ्नो दाईको अवस्था देख्दा रोनाल्डो निकै चिन्तित थिए र त्यसबाट पार लगाउन प्रयासरत पनि ।

रोनाल्डो आफ्नो दाजु भएकोमा गए र भनेः “म यस पटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने छु र तिमीले रक्सी तथा ड्रग्स छाड्नु पर्नेछ ।” रोनाल्डोले यति ठूलो शर्त राखे जुन पुरा गर्न त्यती सहज थिएन । तर रोनाल्डो यस्ता खेलाडी हुन् जो सहजै हार खादैनन् झन् त्यस माथि आफ्नो दाईको जिन्दगीको कुरा जो थियो ।

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै सन् २०१४ को च्याम्पियन्स लिगको उपाधि चुम्यो । खेल पछि रोनाल्डो दौडदैं आफ्नो दाई भएको ठाउँमा पुगे र भने: “मैलें मेरो बाचा पुरा गरे अब तिम्रो पालो ।” बाजी त बाजी हो । त्यस दिन पछि ह्युगोले रक्सीको एक घुट्को पनि पिएको छैनन् भने ड्रग्स पनि छोएको पनि छैनन् ।

२. होजे माउरिन्हो र सर्जियो रिगलन

होजे माउरिन्हो यस्ता प्रशिक्षक हुन् जो आफ्नो खेलाडीहरुसँग बाजी राख्न उत्सुक हुन्छन् । गत सिजन म्यानचेस्टर सिटी विरुद्धको खेल अघि टोटनह्यामका प्रशिक्षकको दिमागमा एउटा जुक्ति आयो ।

“खेलाडीहरु स्पेनिस ह्याम निकै मन पराउँछन् तर त्यो निकै महँगो छ । कसले तिर्छ त्यस्तो महँगो खानाको लागि । रिगलनले तिर्न पर्छ किन भने उनी स्पेनिस हुन्,” माउरिन्होले ठट्टा गर्दै भने । लगत्तै उनले थपेः “ल ठिक छ सिटी विरुद्धको खेलमा हाम्रो जित भयो भने म तिर्छु ।”

के भयो त नतिजा ? टोटनह्याम २–० सिटी ।

खेल पछि माउरिन्होले आफ्नो शर्त पुरा गरेर खेलाडीहरुलाई स्पेनिस ह्याम खुवाए । उनले आफ्ना खेलाडीहरुसँगको फोटो सामाजिक संजालमा राख्दै भने: “बाचा भनेको बाचा हुन्छ । मैलें मेरो बाचा पुरा गरे जसको मुल्य ६७० डलर पर्न गयो ।”

१. क्रिष्चियानो रोनाल्डो र सर एलेक्स फर्गुसन

सर एलेक्स फर्गुसन यस्ता प्रशिक्षक थिए जसले आफ्नो खेलाडीलाई प्रेरित गर्न कुनै कसर बाँकी राख्थेनन् । सन् २००६ मा फर्गुसनले रोनाल्डोसँग एउटा बाजी राखे । उनले रोनाल्डोलाई च्याम्पियनसिपमा १५ गोल गरेको खण्डमा छ सय डलर दिने प्रस्ताब राखे ।

२२ बर्षिय रोनाल्डो पनि के कम । फर्गुसनको चुनौती स्विकार गरेका रोनाल्डोले सिजनको आधा जसोमा नै आफ्नो १५ गोल पुरा गरे । तर फर्गुसनले आफ्नो बाजी परिमार्जित गर्दै भने पेनाल्टीलाई गोलको मान्यता हुँदैन । रोनाल्डोले त्यो पनि स्विकार गरे र आफ्नो बाचा पुरा गरे ।

Click to comment

Trending