लेख

सलाहले तोडे सात म्याचको गोल खडेरी, लिभरपुल तेश्रो स्थानमा

Published

on

मोहम्मद सलाहले आफ्नो पछिल्लो सात खेलयताको गोलको खडेरी तोड्दै दुई गोल गरेपछि लिभरपुल इङ्गलिस प्रिमियर लिगको तेश्रो स्थानमा उक्लिएको छ ।

पाचौं स्थानको वेष्ट ह्याममाथि ३–१ को सहज जित निकाल्दै लिभरपुल अंक तालिकामा तेश्रो स्थानमा उक्लिएको हो । लिभरपुलको ४० अंक छ भने दोश्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४१ र म्यानचेस्टर सिटीको ४४ अंक छ । एक खेल हातमा रहेको सिटीलाई लिभरपुलसँग दुरी ६ अंकमा बढाउन प्रशस्त अवसर छ ।

पहिलो हाफमा उल्लेखनीय प्रदर्शन गर्न नसकेको लिभरपुललाई सलाहले ५७ औं मिनेटमा अग्रता दिलाएका थिए । ११ मिनेटपछि काउन्टर अट्याकमा अर्को गोल गर्दै उनले योर्गन क्लोपको टोलीको अग्रता दोब्बर बनाए । घाइते रहेका सादियो मानेको अनुपस्थिति र रोबर्टो फर्मिनो बेञ्चमा रहदा आफूलाई साबित गर्नुपर्ने दवाबलाई सलाहले उत्कृष्ट ढँगले जवाफ दिएका थिए ।

फर्मिनो बेञ्चबाट आउदै जोर्जिनियो वाइनाल्डमका लागि तेश्रो गोललाई असिस्ट गरेका थिए । क्रेग डसनले वेष्ट ह्यामका लागि सान्त्वना गोल गरेका थिए । ३५ अंक रहेको वेष्ट ह्याम लेस्टर सिटीभन्दा चार अंकले पछि परेको छ । लेस्टर शनिबार राति नै भएको खेलमा लिड्स युनाइटेडसँग ३–१ ले पराजित हुँदा लिभरपुललाई तेश्रो स्थानमा पुग्ने मौका मिलेको थियो ।

घरेलु मैदानमा हार्भि बार्नेसको गोलमार्फत अग्रता लिदै लेस्टरले उत्कृष्ट शुरुवात गरेको थियो । तर दुई मिनेटपछि नै स्टुवर्ट डालासले लिड्सलाई खेलमा फर्काएका थिए । प्याट्रिक बामफोर्ड र ज्याक ह्यारिसनले दोश्रो हाफमा गोल गरेपछि लिड्सले निकै प्रतिस्पर्धात्मक रहेको प्रिमियर लिग सिजनमा महत्वपूर्ण जित हात पारेको थियो । लिड्स २० खेलबाट २९ अंक रहेको छ ।

अर्को खेलमा चेल्सी बर्नलीलाई २–० ले पराजित गर्दै तीन स्थानमाथि सातौंमा उक्लिएको छ । ३३ अंक रहेको चेल्सीले जित हात पार्दै एभर्टन (३३) एस्टन भिल्ला (३२) र आर्सनल (३१) लाई पछि पारेको थियो । भिल्ला र एभर्टनले दुई खेल कम खेलेका छन् । चेल्सीको जितमा सेजार अज्पिलिकेटा र मार्कस अलोन्सोले गोल गरेका थिए ।

समान ३३ अंक रहेपछि गोल अन्तरले छैटौं स्थानमा रहेको होजे माउरिन्होको टोटेन्ह्याम हट्स्पर भने ब्राइटनसँग १–० ले स्तब्ध बन्यो । टोटेन्ह्यामले २० खेल खेलेको छ । ब्राइटनको जितमा लियान्ड्रो ट्रोसार्डले गोल गरेका थिए ।

Click to comment

Trending